Comments Add Comment

६१ करोड कर छलीमा अख्तियार मौन

२ माघ, काठमाडौं । आजको पत्रिकाका पहिलो पृष्ठमा डा. गोविन्द केसीको अनसन, उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन र कर्मचारी समायोजनका लागि आवेदन फारम भर्नेहरुको संख्या सम्बन्धी समाचार प्राथमिकताका साथ छापिएका छन् ।

समायोजन रोज्ने कर्मचारीहरुको संख्या भने पत्रिकाहरुमा फरक फरक छ । कान्तिपुर दैनिकले ७३ हजारले समायोजन रोजेको लेखेको छ भने गोरखापत्र र नेपाल समाचार पत्रमा ७५ हजारले समायोजन रोजेको उल्लेख छ ।

नयाँ पत्रिका दैनिकका अनुसार सरकारी अधिकारीले डा. गोविन्द केसीका खास माग पूरा भइसकेकाले अनशन बस्नुपर्ने कारण नभएको दाबी गरेका छन् । तर चिकित्सक संघका प्रतिनिधिले भने माग पूरा गर्न नसक्ने भए सरकारले लिखित सम्झौता किन गरेको भनेर प्रश्न गरेका छन् । यो अडानका कारण केसीको अनशन तत्काल अन्त्य हुने संकेत छैन । त्यसैले स्वास्थ्य जटिल बनेमा उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले विशेषज्ञसहितको टोली तयारी अवस्थामा राखेको छ ।

पुल निर्माणको माग राख्दै अनशन

अरु पत्रिकामा चिकित्सा शिक्षा सुधारको माग राखेर अनसन बसेका डा. गोविन्द केसीको समाचार पढ्न पाइन्छ तर आजको कारोबार दैनिकमा पुल निर्माणको माग राख्दै जनकपुरमा स्थानीयबासी अनसन बसेको समाचार प्रकाशित छ ।

समाचारमा लेखिएअनुसार सिरहा जिल्लाको सीमाक्षेत्र पूर्वपश्चिम हुलाकी राजमार्गमा पर्ने कमल नदीमा पुल निर्माणका लागि दबाव दिने उद्देश्यले मंगलबारदेखि जनकपुरमा रिले अनसन सुरु गरिएको हो ।

‘पुनर्जन्मपछि कखरा चिन्दै सोनिस’

गोरखापत्र दैनिकमा भूकम्प सुरक्षा दिवसको सन्दर्भमा भक्तपुर महांकालस्थान व्यासीका सोनिस अवालले कखरा सिक्न थालेको समाचार छ ।

२०७२ वैशाख १२ को विनाशकारी भूकम्पमा परेका सोनिसलाई २४ घण्टापछि घरको भग्नावशेषबाट उद्धार गरिएको थियो । त्यतिबेला उनी १८ दिनको दिनको शिशु थिए । नेपाली सेनाले धुलैधुलोमा पुरिएका सोनिसलाई उद्धार गरेको फोटोले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा चर्चा पाएको थियो । कतिपयले सोनिसलाई पुनर्जन्म पाएको बालक पनि भन्ने गर्दछन् । त्यसैले गोरखापत्रले पनि ‘पुनर्जन्मपछि कखरा चिन्दै सोनिस’ शीर्षकमा समाचार छापेको छ ।

गोरखापत्रमा ‘सामुदायिक विद्यालयको गुणस्तर निजीसरह पुर्‍याइने’ शीर्षकको मुख्य समाचार छापिएको छ । समाचारमा लेखिएको छ, ‘उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले आगामी १० वर्षमा सामुदायीक विद्यालयको गुणस्तरलाई निजी विद्यालयसरह पुर्‍याउने लगायतका सिफारिससहित मंगलबार सरकारसमक्ष प्रतिवेदन बुझाएको छ ।’

कारोबार दैनिकमा पनि उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदनमा उल्लेखित विषयमा मुख्य समाचार प्रकाशित छ । ‘निजी विद्यालय अब गैरनाफामुलुक हुनुपर्ने’ शीर्षकको समाचारमा कारोबारले लेखेको छ, ‘सरकारले निजी विद्यालयहरु निश्चित समयपछि गैरनाफामुलक सामाजिक संस्थाको रुपमा रुपान्तरण हुनैपर्ने व्यवस्था गर्ने भएको छ ।’

६१ करोड कर छलीमा अख्तियार मौन

नागरिक दैनिकमा नेपाल आयल निगमको इन्धन भण्डारणका लागि जग्गा खरिदमा भएको अनियमितता र सवा ६१ करोड रुपैयाँ आयकर छलीका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग मौन बसेको मुख्य समाचार छ । नागरिक दैनिकले ट्याक्सी व्यवसायीको दबावमा टुटल र पठाओलाई बन्द गराइएको समाचार प्राथमिकताका साथ छापेको छ ।

अपराधमा संलग्न सयौं विदेशी नागरिक फरार

अन्नपूर्ण पोष्ट दैनिकमा अपराधमा संलग्न सयौं विदेशी नागरिक फरार हुँदा चार अर्ब जरिवाना असुल्ने काम संकटमा परेको समाचार छ । उनीहरुलाई गरेको कारबाही अदालतको ढड्डामा मात्र सीमित छ ।यसैगरी अन्नपूर्णले काठमाडौंको त्रिपुरेश्वरस्थित कम्पनी रजिस्ट्रारको कार्यालय भ्रष्टाचारको थलो भएको समाचार छापेको छ । यसलाई अन्नपूर्णले अर्को मालपोतको संज्ञा दिएको छ । कम्पनी रजिस्ट्रारको कार्यालयकी सहरजिष्ट्रार गीता पन्थी मंगलबार एक लाख रुपैयाँ घुससहित पक्राउ परेको सन्दर्भमा यो समाचार छापिएको हो ।

बसाइँ सर्ने क्रम बढेपछि गाउँ नै रित्तिन थाले

नेपाल समाचारपत्र दैनिकमा पर्वतका ग्रामीण क्षेत्रबाट बसाइँ सर्ने क्रम बढेपछि गाउँ नै रित्तिन थालेको प्रमुख समाचार छ । डेढ दशकको अवधिमा पर्वतको आर्थर डाँडाखर्क, चित्रे, भुकदेउराली, दुर्लुङ, पूर्णगाउँ, भोक्सिङ, क्याङ, सालिजा, लेस्पार लगायतका बस्तीबाट दुई तिहाइभन्दा बढी स्थानीय सुगम क्षेत्र खोज्दै बसाइँ सरेको समाचारमा उल्लेख छ ।

कान्तिपुर दैनिकले ७३ हजार कर्मचारीले समायोजन रोजेको प्रमुख समाचार छापेको छ । यसैगरी लगातार तीन वर्षसम्म जग्गा बाँझो राखेमा सरकारले जग्गाधनीलाई ३ लाख रुपैयाँ जरिवाना गर्ने व्यवस्थासहितको कानुन बनाउन लागेको समाचार पनि कान्तिपुरमा छ । साथै काठमाडौंमा मोटरसाइकलमा यात्रु ओसार्ने सेवाका लागि मध्यस्थता गर्ने टुटल र पठाओ सेवामा ट्राफिक प्रहरीले रोक लगाएको समाचार पनि कान्तिपुरले प्राथमिकताका साथ छापेको छ ।

राजधानी दैनिकका अनुसार नेपाली सेनाले विस्फोटक पदार्थको उत्पादन क्षमता तेब्बर बनाउन लागेको छ ।

हेर्नुहोस् पत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment