Comments Add Comment

महिला बेपत्ता पारेको भन्दै बमजनविरुद्ध प्रहरीमा अर्को उजुरी

२ माघ, काठमाडौं । तपश्वीको भेषमा अनुयायीको हत्या र बेपत्ता पारेको आरोप लागेका रामबहादुर बमजनविरुद्ध प्रहरीमा पाँचौं जाहेरी पनि परेको छ ।

सर्लाहीको बागमती–१२ की २९ वर्षीया रिता बोट (माझी) बेपत्ता भएको भन्दै परिवारले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको हो । त्यहाँका प्रहरी प्रमुख एसपी पोषराज पोखरेलले आश्रमबाट बेपत्ता भएको भन्दै आमा सुम्नीले जाहेरी दिएको पुष्टि गरे ।

उनका अनुसार ०६६ सालमा गढीमाइ मेलामा गएदेखि बेपत्ता भएको जाहेरीमा उल्लेख छ । ‘त्यसभन्दा अघि बाराको हलखोरियास्थित बमजन आश्रममा उनी बसेकी थिइन्’, परिवारले भनेको छ, ‘बली रोक्छु भनेर फरार भएका वेला रिता बमजनसँगै थिइन् ।’

एसपी पोखरेलले रिताको खोजतलास थालिएको अनलाइनखबरलाई बताए । उनले भने, ‘हामीले माथिल्लो निकायको समन्वयमा खोजतलास थालिसकेका छौं ।’

बमजनको आश्रमबाट वेपत्ता भएको भन्दै यसअघि दुई जना आनी र दुई अनुयायी बाराका सुरेस आलेमगर र मकवानपुरका सञ्चलाल वाइबा वेपत्ता भएको भन्दै उजुरी परेको थियो ।

अनुयायी सञ्चलाल बाइबाको हत्या भएको भन्दै प्रहरीले सिन्धुपाल्चोकस्थित बमजन आश्रममा छापा मारेको थियो । त्यहाँ केही शंकास्पद सबुदहरु फेला परेको प्रहरी दाबी छ ।

हाल प्रहरीले बमजन रहेको भनिएको सिन्धुलीस्थित आश्रमलाई केन्द्रीत गरेर अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment