Comments Add Comment

कहाँ कहाँ चल्दैछन् भाडाका मोटरसाइकल ?

२ माघ, काठमाडौं । निजी सवारीका रुपमा दर्ता भएको मोटरसाइकलले भाडा लिएर यात्रुलाई बोक्न पाउँछ कि पाउँदैन ?

नेपालमा अहिले मोनोरेलको साटो मोटरसाइकको बहस सुरु भएको छ । प्रहरी प्रशासन र सरकारी अधिकारीहरु मोटरसाइकलमा यात्रु बोक्न नपाइने अडानमा छन् भने निजी क्षेत्र चाहिँ मोटरसाइकललाई भाडाका रुपमा प्रयोग गर्न र यात्रु बोक्न पाउनुपर्ने पक्षमा छन् ।

मोटरसाइकल चालकहरुले भाडा लिएर यात्रुहरु ओसार्न पाउँछन् कि पाउँदैनन् भन्ने बहस चलिरहँदा हामीले विश्वमा यस्तो प्रचलन छ कि छैन भनेर खोज्यो । यसक्रममा के पाइयो भने पूर्वी एशिसाका देशहरुमा ‘मोटरसाइकल ट्याक्सी’ अर्थात भाडाका मोटरसाइकललाई पब्लिक ट्रान्सपोर्टका रुपमा सामान्यरुपमा लिइन्छ ।

पूर्वी एशियाका देशहरुमा मात्रै होइन चीन, भारत र अमेरिकाका साथै युरोपेली देशहरुमा पनि यस्तो प्रचलन रहेछ । अफ्रिकी देशहरुमा पनि सस्तो भाडा तिरेर मोटरसाइकल चढ्न पाइँदोरहेछ । लण्डनमा पनि यस्तो सिस्टम रहेछ ।

अधिकांश देशहरुले भाडामा मोटरसाइकल चलाउनका लागि लाइसेन्स अनिवार्य गरेका छन् । कतिपय देशले हेलमेट अनिवार्य गरेका छन् । इण्डोनेसियामा भने मोटरसाइकलका लागि लाइसेन्स अनिवार्य छैन ।

केही देशहरुले भाडामा मोटरसाइकल चलाउनेहरुका लागि युनिफर्म अनिवार्य गरेका छन् । केही देहमा मोटरसाइकलको रंग हेरेर भाडाको हो कि निजी हो भन्ने छुटिन्छ । कतिपय देशले संसदबाटै पारित गरेर भाडाका मोटरसाइकलका लागि निश्चित मापदण्ड तोकिदिएका छन् भने कतिपय देशमा पुरानो प्रचलनका रुपमा यो व्यवसाय चल्ने गरेको छ ।

विश्वका विभिन्न देशहरुमा भाडामा मोटरसाइकलको प्रयोगलाई सजिलो र सस्तो सार्वजनिक यातायातको साधन मानिने गरेको छ । मोटरसाइकललाई भाडामा प्रयोग गर्न पाउँदा सामान्य आय स्तरका मानिसहरुले पनि रोजगारीको अवसर पाएका छन् भने यात्रुहरुलाई पनि कम भाडामा बजार वा कार्यालय जान–आउन सहज हुने गरेको छ ।

भाडाका मोटरसाइकललाई विश्वमा ‘मोटरसाइकल ट्याक्सी’ भन्ने गरिएको छ । कतिपय देशहरुमा यसलाई भिन्नाभिन्नै नामले पुकारिन्छ । एजेन्सीहरुको सहयोगमा तयार पारिएको विवरण पढौं–

कहाँ कहाँ चल्दैछन् भाडाका मोटरसाइकल ?

चीनमा मोटरसाइकल ट्याक्सी १९८० देखि १९९० को वीचमा प्रचलित थियो । बेइजिङ, सांघाइ र ग्वोङझाओमा अहिले पनि सो सेवा पाइन्छ । त्यहाँ यसलाई निकै सस्तो सार्जजनिक यातायातका रुपमा रहेको छ ।


भारतको गोआमा मोटरसाइकल ट्याक्सी सेवा पाइन्छ । यो अन्य ट्याक्सी भन्दा सस्तो छ । भाडाको ट्याक्सीको कलर पहेंलो र कालो हुनुपर्छ । पछिल्ला वर्षहरुमा भारतका अन्य शहरहरुमा पनि विभिन्न कम्पनीले यो सेवा उपलब्ध गराउन थालेका छन् । ८ वटा राज्यले दुईपांग्रे सवारीलाई व्यावसायिक प्रयोजनका लागि बैधता प्रदान गरिसकेका छन् ।

पूर्वी एशियामा भाडाको मोटरसाइकल सामान्य कुरा हो । क्याम्बोडियाका अधिकांश शहरहरुमा मोटरसाइकल ट्याक्सीलाई सस्तो सार्वजनिक यातायातका रुपमा लिइन्छ । पर्यटकीय एरिया, कार्यालय भवनहरु र सार्वजनिक बजारका साथै सावासीय घरहरु रहेका सडकमा यसको प्रयोग हुनछ । चालकहरुलाई युनिफर्म दिइएको छ । चालकलाई हेल्मेट अनिवार्य छ । यात्रुले पनि आफ्नो सुरक्षाका लागि हेल्मेट लगाउन सक्छन् ।

इण्डोनेसियामा लाइसेन्सविनाको यातायातका साधनका रुपमा मोटरसाइकल ट्याक्सी चर्चित छ । यसलाई ‘ओजेक’ नामले चिनिन्छ । चिनियाँ बाइकका साथै होण्डा, यमाहा, सुजुकी आदि मोटरसाइकललाई पनि इण्डोनेसियामा भाडाका रुपमा प्रयोग गरिँदै आएको छ ।

भियतनाममा भाडाको मोटरसाइकललाई सामान्य मानिन्छ । त्यसैगरी एसियाका थाइल्याण्ड, फिलिपिन्समात्रै होइन, युरोपको स्वीडेनमा समेत भाडाका मोटरसाइकलहरु चल्ने गरेका छन् ।

दक्षिण अमेरिकाको ब्राजिलमा सन् १९९४ देखि मोटरसाइकल ट्याक्सी सुरु भएको हो । बैंक अफ ब्राजिलले १० वटा मोटरसाइकल किनेर भाडामा लगाउन सुरु गरेको हो । बाउरु, साओ पाउलो आदि शहरमा सन् १९९६ बाट यो व्यवसाय सुरु भयो । अहिले प्राय सबै शहरमा मोटरसाइकल ट्याक्सी सेवा छ । सन् २००९ मा त्यहाँको संसदले मोटरसाइकल ट्याक्सी चालकका लागि मापदण्ड बनाएको छ ।

त्यसैगरी मेक्सिकोमा करिब १ हजार भाडाका मोटरसाइकल ट्याक्सी सञ्चालित छन् । नाइजेरिया र लाओसमा लाखौंको संख्यामा मोटरसाइकल ट्याक्सीहरु सञ्चालित छन् ।

अफ्रिकी देशहरुमा पनि भाडाका मोटरसाइकल प्रचलनमा छन् । नाइजेरियामा भाडाको मोटरसाइकललाई ‘ओकादा’ भनिन्छ । युगान्डा र केन्याको सीमाक्षेत्रमा भाडाको मोटरसाइकललाई बोडा–बोडा नामले चिनिन्छ ।


लण्डनमा पनि १९९० बाट भाठाका मोटरसाइकल प्रयोगमा आएका हुन् । अमेरिकाको क्यालिफोर्निया र न्युयोर्क सिटिमा पनि सान् २०११ बाट मोटरसाइकल हायर सर्भिस सुरु भएको हो ।

क्यामरुनमा पनि मोटरसाइकल ट्याक्सीलाई आम सार्वजनिक यातायात मानिन्छ । त्यहाँ एउटा मोटरसाइकलमा चारजना बच्चासम्म चढ्ने गरेका छन् ।

मोटरसाइकल वा रातो प्लेटका सवारी साधनलाई भाडामा प्रयोग गर्न÷गराउन पाइने वा नपाइने विषयमा नेपालमा दुईथरि प्रतिक्रियाहरु आएका छन् ।

यो पनि पढ्नुहोस बहसमा सःशुल्क लिफ्ट सेवा : प्रविधिको प्रयोग रोक्ने कि कानून सुधार्ने ?

टिप्पणी : समस्या समाधानका ३ विकल्प

नेपालमा व्यवसायिकरुपमै दुईपांग्रे मोटरसाइकलमा यात्रु ओसार्ने प्रचलन यसअघि खासै थिएन । गाउँघरमा मोटरसाइकल चालक भेटियो भने हात उठाएर लिफ्ट माग्ने र नजिकैको बजारसम्म निशुल्क चढ्ने÷चढाउने प्रचलन नेपालमा धेरै वर्षदेखि चलिरहेकै थियो ।

विशेषगरी ०७२ को भूकम्प र त्यसलगत्तै भारतीय नाकाबन्दीले तेल अभाव हुँदा शहरहरुमा पनि मोटरसाइकलमा लिफ्ट माग्ने र दिने चलन सुरु भयो । यसरी लिफ्ट दिँदा भाडाको लेनदेन भएन ।

तर, नेपालकोे कतिपय स्थानमा मोटरसाइकलले भाडा लिने चलनै नभएको चाहिँ होइन । जस्तो– मुस्ताङको जोमसोमदेखि मुक्तिनाथसम्म मोटरसाइकलले व्यवसायिक सेवा दिँदै आएको छ । सरकारले यसमा कुनै बञ्देज लगाएको छैन ।

पछिल्लो समय ‘टुटल’ र ‘पठाओ’ नामक एप्समार्फत निजी कम्पनीहरुले जब भाडाको मोटरसाइकल प्रयोग गर्न खोजे, त्यसमाथि सरकारले नियन्त्रण गर्न खोज्यो र यो बहस सतहमा आयो । सरकारी अधिकारीहरु यसलाई अबैध घोषणा गर्ने पक्षमा छन् भने चारपांग्रे ट्याक्सी व्यवसायीहरुले आफ्नो स्वार्थमा धक्का लागेको महसुस गर्दै विरोधमा उत्रिएका छन् ।

संविधानले नेपालीहरुलाई मौलिक हकका रुपमा ‘रोजगारीको हक’ प्रदान गरेको छ । यो अवस्थामा आफ्नो मोटर साइकलमा कसैलाई राखेर भाडा लिन पाउनुपर्ने कुनै नागरिकले माग गर्छ भने राज्यले त्यसमा रोक लगाउन मिल्छ कि मिल्दैन ? यो बहसको विषय हो । यद्यपि विदेशमा त्यसो गर्न पाइने उदाहरण हामीले माथि प्रस्तुत गरिसक्यौं ।

उदाहरणका लागि चितवनको भरतपुरबाट कोही व्यक्ति माडी जानुपर्ने भयो र कुनै मोटरसाइकल चालकले बसको भन्दा सस्तो भाडा लिएर राजीखुशीले कसैलाई माडीसम्म पुर्‍याउन तयार भयो भने त्यसमाथि गाडीवाल वा सरकारले रोक लगाउन मिल्छ ? यो बहसको विषय हो ।

के नेपालमा पनि इण्डोनेसियामा जस्तै मोटरसाइकल चालकहरुले दिनभरि रिक्सामा जस्तै यात्रु ओसारेर रोजीरोटी चलाउन पाइन्छ कि पाइँदैन ? यो पनि बहसकै विषय हो ।

यद्यपि स्मरणीय विषय के छ भने एप्समार्फत भाडाका सवारी उपलब्ध गराउने विषय भाडाको मोटरसाइकल चलाउने पाउने कि नपाउने भन्ने विषयसितमात्रै सम्बन्धित छैन । यो एउटा कम्पनी वा अनलाइन बिजनेश पनि हो, जसमा राज्यको नीति नियम र कर, राजस्व आदि आकर्षित हुन्छ । जस्तो भारतको ‘ओला’ ले यस्तो सेवा दिइरहेको छ र ऊ राज्यमा विधिवत दर्ता भएर चलेको कम्पनी हो ।

मोटरसाइकललाई भाडामा प्रयोग गर्नेबारे नेपालमा अहिले भइरहेका तर्क अनि विदेशमा देखिँदै आएको प्रचलनलाई मध्यनजर गर्दा यो बहसको निकास निम्न तीन किसिमले निकाल्न सकिन्छः

एक– सार्वजनिक यातायातको प्रयोजन बाहेक निजीरुपमा दर्ता भएका चारपांग्रे वा दुईपांग्रे सवारी साधनलाई भाडामा चलाउन पूर्ण प्रतिबन्ध लगाउने ।

दुई– सर्वसाधारण नागरिकले पेशा व्यवसाय गरीखान पाउनु उसको मौलिक अधिकार भएकाले आफ्नो गाडीमा मानिस वा सामान ओसारेर कमाइ खान राज्यले सबैलाई स्वतन्त्रता दिने । यसका लागि कम्पनी दर्ता गर्नुपर्ने जस्ता कुनै पनि सिण्डिकेट वा अवरोध राज्यले खडा नगर्ने ।

तीन– मोटरसाइकललाई भाडामा प्रयोग गर्न पूर्ण प्रतिबन्ध लगाउने वा खुल्ला छाडिदिने दुबै विकल्वको साटो तेस्रो बाटो अवलम्बन गर्ने । अर्थात भाडामा प्रयोग गरिने मोटरसाइकलको दर्ता, रंग, संकेत चिन्ह, चालकको युनिफर्म लगायतका मापदण्डहरु राज्यबाटै तोकिदिने र ‘मोटरसाइकल ट्याक्सी सर्भिस’लाई बैधानिकता प्रदान गर्ने र व्यवस्थित गर्ने ।

यी तीनमध्ये कुनचाहिँ विकल्पमा जानु राम्रो होला ? आउनुहोस्, सार्थक बहस गरौं र समस्याको सही समाधान खोजौं ।

यो पनि पढ्नुहोस ट्याक्सी व्यवसायीको आरोप-टुटल र पठाओ माफियाको व्यवसाय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment