Comments Add Comment

यूएईविरुद्ध पारस खड्का नै ओपनर ?

२ माघ, काठमाडौं । युएईसँग खेल्ने तीन एकदिवसीय र तीन टी–२० खेलका लागि नेपाली खेलाडीहरु त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा प्रशिक्षणरत छन् । पुरानासँगै केही युवा खेलाडीले जोडबल लगाइरहँदा प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्कालाई ‘ओपनिङ जोडी’को चिन्ताले सताउन थालेको छ ।

नेपालको ओपनिङ जोडीको समस्या नयाँ होइन तर, एकपछि अर्को परीक्षण असफल भएको छ । तुलनात्मक रुपमा मध्यक्रम बलियो भएपनि प्रारम्भिक जोडीको लगातार असफलता हुँदा सिंगो टिमको समग्र ब्याटिङ कमजोर बन्दै गएको छ । सुरुवातमै ब्याटिङ नचल्दा मध्यक्रमले दबावमा खेल्नु परिरहेको छ ।

त्यसैले ओपनिङमा भरपर्दो जोडीको खोजी जारी छ । एसिया कप छनोटमा ओपनिङमा प्रयोग गरिएका सुवास खकुरेल, अनिल साह अहिले प्रारम्भिक टोलीमै छैनन् । नरेश बुढाऐर, अनिलकुमार मण्डलहरुमाथि पनि प्रयोग भइसकेको छ ।

पछिल्लो समय ओपनिङमा एउटा एण्ड उपकप्तान ज्ञानेन्द्र मल्लले सम्हाल्दै आएका छन् ।

एसिया कप छनोटमा ओमनविरुद्ध ओपनिङ गरेका उनले ६० बलमा ४५ रन बनाएका थिए भने यूएईविरुद्ध चार बलमा चार रन बनाए । झण्डै पाँच महिनाअघि नेदरल्याण्ड्सविरुद्ध पहिलो खेलमा ६१ बलमा ५१ रन र दोस्रोमा २४ बलमा १३ रन बनाएका ज्ञानेन्द्र युएई भ्रमणमा पनि ओपनिङमै आउन पक्का जस्तै छ ।

तर, उनको जोडी कसलाई बनाउने भन्ने चाहिँ अन्योल छ ।

टी–ट्वान्टी विश्वकपको एसियाली छनोटमा अनिल साहसँगै विनोद भण्डारी, प्रदिप ऐरीलाई ओपनिङमा प्रयोग गरिएको थियो । तर, प्रशिक्षक उनीहरुबाट सन्तुष्ट हुन सकेनन् ।

त्यसैले विकल्प खोजिरहेका छन् । ‘ओपनिङका लागि हामीसँग केही अप्सनहरु छन् । अभ्यासमा पनि विभिन्न प्रयोग गरिरहेका छौँ । को राम्रो हुन्छ भनेर खोजिरहेका छौँ,’ प्रशिक्षक टमाटा भन्छन्, ‘एकदिवसीयमा त अझै सोच्नुपर्ने छ ।’

अहिले २० सदस्यीय टोलीमा प्रदिप ऐरी त छन् तर, उनी टी–२० मा मात्र खेल्ने सम्भावना छ । भीम सार्की, सन्दिप जोरा, पवन सर्राफ जस्ता नयाँ ब्याट्सम्यानले आफूलाई प्रमाणित गर्न बाँकी नै छ । त्यसो भए को हो त ओपनिङ जोडी ?

ओपनिङमा पारस !

हालै सम्पन्न भएको एभरेस्ट प्रिमियर लिगको एक म्याचमा एकाएक पारस खड्का ओपनिङमा आए । मध्यक्रममा आवश्यकता अनुसार ३/४/५ नम्बरमा ब्याटिङ गर्न आउने बिराटनगरको टिमबाट ओपनिङमा आउनुको खास कारण थियो । सम्भवतः उनले आफूलाई यो स्थानमा जाँच्न चाहेका थिए ।

अहिले राष्ट्रिय टिमको बन्द प्रशिक्षणका क्रममा पनि उनले केही खेलमा ओपनिङ गरेका छन् । एक खेलमा शतक बनाएका उनले अर्को खेलमा पनि राम्रै स्कोर बनाएका थिए ।

अब नेपालले यूएईविरुद्ध एकदिवसीय म्याच खेल्दा पारस र ज्ञानेन्द्र ओपनिङ जोडी बन्ने सम्भावना छ ।

बुधबार त्रिवि क्रिकेट मैदानमा टोलीलाई अभ्यास गराइरहेका प्रशिक्षक टमाटाले कप्तान पारस खड्कालाई पनि ओपनिङमा ल्याउन प्रयास गरेको स्वीकार गरे । ‘हो, अभ्यासमा पारसले ओपनिङ गरेको छ । अरुलाई जाँचिरहेका छौ, हेरौं को फिट हुन्छ’ उनले भने ।

तर, पारसलाई माथिल्लो क्रममा उकाल्दा मध्यक्रममा उत्पन्न हुनसक्ने रिक्तताले अर्को संकट निम्त्याउन सक्छ । पछिल्ला घरेलु प्रतियोगिताहरुलाई हेर्ने हो भने मध्यक्रममा युवा ब्याट्सम्यानहरु दिपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आरिफ शेखले निकै आशा जगाएका छन् । तर, उनीहरुसँग अझै अनुभवको कमी छ ।

उसो त टी–२० मा जस्तै प्रदीप ऐरी र विनोद भण्डारीले ओपनिङ गर्ने सम्भावनाको पनि अन्त्य भएको छैन । तर, उनीहरुको दुवैको ब्याटिङ आक्रामक शैलीको भएकाले त्यसमा प्रशस्त जोखिम छ । उनीहरुको जोडी टी–२० लाई फिट भएपनि एकदिवसीय म्याचमा धैर्यतापूर्ण इनिङ खेल्ने ब्याट्सम्यान अगाडि चाहिन्छ ।

नयाँ खेलाडीलाई अवसर

प्रशिक्षक टमाटा यूएई टुरमा केही नयाँ खेलाडीलाई अवसर दिने सोच बनाएका छन् र । पहिलोपटक छनोट क्याम्पमा रहेका पवन सर्राफ, सन्दीप जोरा, भीम सार्की, अविनाश बोहरा चार जनामध्ये कम्तिमा दुईले अवसर पाउने सम्भावना छ । ब्याटिङमा पवन, सन्दीप र भीमले योगदान दिन सक्छन् । ब्याटिङ प्रशिक्षणमा आएका उमेश पटुवालले पनि उनीहरुको खुबी हेरिरहेका छन् ।

बलिङमा पनि नेपाल ढुक्क भएर बस्ने अवस्था छैन । खासगरी फास्ट बलिङ पछिल्लो समय कमजोर देखिएको छ भने फिल्डिङ खस्किएको छ । युवा खेलाडीको जोशिलो फिल्डिङले पुराना खेलाडीमा पनि उर्जा थपेको प्रशिक्षक टमाटा बताउँछन् । ‘पहिले हामी फिल्डिङमा अब्बल भनेर चिनिन्थ्यौँ तर, केही समय यता त्यसमा अलिकति गिरावट आयो । त्यसैले अहिले फिल्डिङ सुधार्न पनि काम भइरहेको छ । सिनियरले पनि आफूलाई पुस गरिरहेका छन्,’ उनले भने ।

माघ ८ गते युएई जाने नेपालले ११, १२ र १४ गते एकदिवसीय तथा १७, १८ र २० मा टी–२० म्याच खेल्नेछ । तीन महिनाअघि भएको टी–२० विश्वकपको एसियाली छनोट नै नेपालले खेलेको पछिल्लो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । एकदिवसीयतर्फ चार महिना अघिको एसिया कप छनोट खेलेको थियो ।

के भन्छन् खेलाडी ?

कीर्तिपुर मैदानमा तयारीमा रहेको नेपाली नेपाली टोलीका प्रशिक्षक जगत टमाटासँगै हामीले केही खेलाडीसँग पनि कुराकानी गरेका छौँ । अभ्यासमा ध्यान लगाइरहेको र राम्रो नतिजा दिन सक्नेमा विश्वस्त रहेको बताउने उनीहरु सबै काम योजनाबद्ध ढंगले बढिरहेको सुनाउँछन् ।

बसन्त रेग्मी

अभ्यास राम्रो भइरहेको छ । प्रशिक्षकहरुले एउटा प्लानिङ सेट गरेर अभ्यास गराइरहनु भएको छ । हामी त्यहीअनुसार गरिरहेका छौँ । टिमको लागि जे आवश्यक पर्छ त्यसमा सहयोग गर्नुपर्छ भनेर म आफ्नो ब्याटिङमा पनि ध्यान दिइरहेको छु । सामान्यतः अलिअलि ब्याटिङ म जहिले पनि गरिरहेको हुन्छु नै । टिमलाई आफू जुन बेला आवश्यक हुन्छ त्यसमा योगदान गर्न सकौँ भन्ने नै हो ।

कप्तानदेखि प्रशिक्षकसम्म सबैले हौसला बढाइरहनु भएको छ । त्यहीअनुसार हामी सबै जोशमा नै छौँ । नयाँ खेलाडीहरु पनि राम्ररी भिजेका छन् । टिमको लागि के गर्न सक्छु भनेर सोचेका पनि छन् । यसले नतिजा राम्रो आउँछ भन्ने विश्वास छ ।

ललितनारायण राजबंशी

सबैले पूरा मेहनत लगाएर अभ्यास गरिरहेका छौँ । मैले बलिङ र फिल्डिङमा मुख्य ध्यान लगाइरहेको छु । टे«नर, ब्याटिङ कन्स्लटेन्टबाट पनि धेरै कुरा बुझिरहेका छौँ ।

बलिङ गर्ने बेला आफ्नो शतप्रतिशत प्रयास लगाएको हुन्छु । खेलको अवस्था बुझेर बल फाल्ने हो । राम्रो पनि भइरहेको छ । टी–ट्वान्टीमा विकेट फोकस मात्रै होइन, डट बल फाल्न सकौँ भनेर पनि सोच्नुपर्ने हुन्छ । हुन त दुवैमा अवस्थाअनुसार नै गर्ने हो ।

दीपेन्द्र सिंह ऐरी

ब्याटिङ कन्सल्टेन्टसँग सिकिरहेकाले अभ्यास राम्रो भइरहेको छ । लोड बढी नै लिएर ध्यान लगाइरहेका छौँ । युएईमा पनि लगातार नै म्याच भएकाले सबै कुरामा फोकस छ । फिटनेसमा पनि ध्यान दिइरहेका छौँ ।

एकदिवसीयमा खेलेपछि टी–ट्वान्टी खेल्न केही सहज हुन्छ जस्तो लागेको छ । कति कुरा त मैदानमा गएपछि नै थाहा हुन्छ । यद्यपि पहिलेभन्दा आत्मविश्वास बढेको छ ।

घरेलु प्रतियोगिताहरुमा पनि मेरो प्रदर्शन राम्रो नै भयो । डीपीएल, ईपीएलमा रन लागिरहेको थियो । त्यसले पनि राम्रो गर्छु भन्ने विश्वास छ । युएई टिमको बारेमा पनि हामीलाई थाहा छ । खेलमा फोकस गरेर राम्रो क्रिकेट खेल्ने हो ।

यस्तो छ प्रारम्भिक टोली

पारस खड्का, बसन्त रेग्मी, बिक्रम सोब, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित भण्डारी, ललित नारायण राजवंशी, आरिफ शेख, प्रदीप ऐरी, रोहित कुमार पौडेल, सन्दीप लामिछाने, शरद भेषावकर, सोमपाल कामी, पवन सर्राफ, अविनाश बोहरा, सन्दीप जोरा, सुशन भारी र भीम सार्की ।

युएईविरुद्ध नेपालको तयारी हेर्नुहोस् भिडियो

तस्वीर/भिडियो : चन्द्र आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment