Comments Add Comment

नेविसंघको म्याद थपको विरोधमा देउवा निवासमा धर्ना

३ माघ, काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को म्याद थपिएको विरोधमा नेविसंघकै नेता–कार्यकर्ताहरुले पार्टी सभापति शेरबहादुर देउवाको निवासमा धर्ना दिएका छन् । मोटरसाइकल र्‍यालीसहित देउवा निवास बुढानीलकण्ठ पुगेर दर्जनौं नेता–कार्यकर्ताहरुले धर्ना दिएका हुन् ।

नेविसंघको झण्डा बोकेका उनीहरुले ‘नेबिसंघ जिन्दावाद’को नारा लगाएका थिए । माइक्रो बससमेत रिजर्भ गरेर बुढानिलकण्ठ पुगेका उनीहरुले देउवा निवास अगाडि धर्ना दिएका छन् ।


दर्जनौं संख्यामा नेविसंघ कार्यकर्ताहरु भेला भएपछि देउवा निवास वसरपर सुरक्षा तैनाथी बढाइएको छ ।

विधानअनुसार बुधबार राति १२ बजेपछि नेविसंघको म्याद थियो, तर कांग्रेसले तत्काललाई हालकै कार्यसमितिलाई निरन्तरता दिएको छ । पटक पटक म्याद थपिँदा पनि महाधिवेशन गर्न नसक्ने कार्यसमितिलाई निरन्तरता दिन नहुने भन्दै नेविसंघका केही नेता–कार्यकर्ताहरु विरोधमा छन् ।

नेविसंघका उपाध्यक्षत्रय सञ्जय कुमार यादव, पुष्प शाही र विकास केसी, महामन्त्री सरोज थापा, सहमहामन्त्रीहरु प्रकाश घिमिरे, अच्युत केसी र प्रेम जोशीले गत पुस २७ गते नै पदबाट राजनीनामासमेत दिइसकेका छन् ।

यसअघि पटक–पटक म्याद थप भए पनि वर्तमान नेतृत्वले महाधिवेशन गराउन नसकेको भन्दै नेविसंघभित्र विवाद छ । ७७ जिल्लामध्ये १४ जिल्लामा भने नेविसंघको अधिवेशन सम्पन्न भइसकेको जनाइएको छ ।

नेविसंघको महाधिवेशन भदौमा हुने भनिएको थियो तर आन्तरिक विवादका कारण महाधिवेशन हुन नसकेपछि पार्टीले तीन महिनाको समय अवधि थपिदिएको थियो । थपिएको समयमा पनि महाधिवेशन हुन नसकेपछि पुनः दुई महिनाको म्याद थपिएको थियो । महाधिवेशन गर्ने सर्तमा पछिल्लो पटक थपिएको दुई महिनाको म्याद यही माघ २ गते सकिएको छ ।

पाँच महिनाको म्याद थपिएपछि नेविसंघ अध्यक्ष नैनसिंह महरले यही पुस २८ गते अर्थात् शनिबार महाधिवेशन उदघाटन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेका थिए । तर, पुस २८ गते पनि महाधिवेशन सुरु हुन सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment