Comments Add Comment

दुनियाँ लठ्याउने टिकटक के हो ?

इन्टरनेट प्रयोग गर्ने हरेक उमेरका मानिसहरु अहिले एउटा चिनियाँ एपमा झुम्मिएका छन् । टिकटक एपमा पृष्ठभूमिको आवाजमा ओठ चलाएर १५ सेकेण्ड सम्मको आफ्नो भिडियो बनाएर अपलोड गर्नेहरुको संख्या करोडौं पुगेको छ ।

के हो टिक टक ?

टिक टिक एक सोसल मिडिया एप्लिकेसन हो । जसका माध्यमबाट स्मार्टफोन प्रयोगकर्ताले छोटा छोटा भिडियो (१५ सेकेण्ड सम्मका) बनाएर शेयर गर्न सक्दछन् ।

बाइट डान्स नामक कम्पनीले यो एप बनाएको हो । टिक टक सन् २०१६ को सेप्टेम्बरमा लञ्च भएको हो । सन् २०१८ मा टिक टक लोकप्रियताको चुलीमा पुग्यो । गत अक्टोबरमा टिकटक अमेरिकामा सबैभन्दा धेरै डाउनलोड हुने एप बन्न पुग्यो ।

गुगल प्लेमा टिक–टकको परिचय short videos for you  भनेर दिइएको छ । प्ले स्टोरमा टिकटकको बारेमा लेखिएको छ: टिकटक मोबाइलबाट छोटा छोटा भिडियो बनाउने कुनै साधारण तरिका होइन । यसमा कुनै बनाबटीपना छैन र यसको कुनै सीमा छैन । चाहे तपाईं बिहान पौने ८ बजे ब्रस गरिरहेको हुनुस् वा नास्ता बनाइरहेको हुनुस् । चाहे तपाईं जेसुकै गरिरहेको र जहाँ सुकै हुनुहोस् टिकटकमा आउनुहोस् र १५ सेकेण्डमा दुनियाँलाई आफ्नो कहानी बताउनुहोस् ।

टिकटकको साथमा तपाईंको जीवन अझै रोमाञ्चक हुन्छ । तपाईं जिन्दगीका हरेक पल जिउनुहुन्छ र हरेक समय केही नयाँ खोजी गरिरहनु भएको हुन्छ । आफ्नो भिडियोमा स्पेशल इफेक्ट फिल्टर, ब्युटी इफेक्ट, इमोजी स्टिकर तथा म्युजिक हालेर नयाँ रङ्ग दिन सक्नुहुन्छ ।

टिक टकका केही खास तथ्य

· टिक टकबाट भिडियो बनाउँदा तपाईंले आफ्नो आवाजको प्रयोग गर्न सक्नुहुन्न । केवल आवाज अनुसार ओठ चलाए (लिप सिङ्क गर्नु) पुग्छ ।

· जसरी फेसबुक तथा ट्वीटरमा आफ्नो अकाउन्ट भेरिफाइड गराउन अर्थात् ब्लू टिक पाउनका लागि प्रयोगकर्ताले निकै मेहेनत गर्नुपर्दछ । त्यस्तै टिकटकमा भेरिफाइड अकाउन्टवाला प्रयोगकर्ताको संख्या निकै धेरै छ । तर टिकटकमा ब्लू टिक होइन सुन्तला रङको रेजा अर्थात् अरेन्ज टिक पाइन्छ ।

· जसलाई अरेन्ज टिक प्राप्त हुन्छ त्यसको अकाउन्टमा पपुलर क्रिएटर लेखेको देखिन्छ । साथै उक्त अकाउन्टवालाको भिडियो कतिले मन पराए अर्थात् कति मुटु आकारको संकेत प्राप्त गर्यो भन्ने पनि थाहा पाइन्छ ।

टिकटकबाट आम्दानी

टिकटकका केही फाइदा पनि छन् । खासगरी गाउँ तथा स साना सहरका लागि यो मानिसहरुको प्रतिभा देखाउने तथा मनोरञ्जन गर्ने निकै राम्रो माध्यम बनिरहेको छ ।

कतिपय मानिस यसको माध्यमबाट आफ्नो अभिनय इच्छा पूरा गरिरहेका छन् । कतिले राम्रो कमेडी गर्छन् त कतिले राम्रो नाच ।

यतिमात्र होइन, धेरै मानिसहरुले टिकटकबाट पैसा पनि कमाइरहेका छन् ।

विज्ञका अनुसार, कुनै पनि देशमा एप लञ्च गरेसँगै कम्पनीहरुले विभिन्न देशमा मान्छे खटाउँदछन् । आम रुपमा यस्ता मानिसहरुलाई भर्ती गरिन्छ जो देख्दा सुन्दर होउन्, कमेडी गर्न आओस् अनि गाउने तथा नाच्ने कला पनि होस् । उनीहरुले दैनिक रुपमा कुनै भिडियो तयार गरी टिकटकमा हाल्नुपर्दछ र यसका लागि उनीहरुलाई केही पैसा प्राप्त हुन्छ ।

साथै संघर्षको सुरुवाती चरणमा रहेका सेलिब्रेटीहरुलाई पनि यसमा सामेल गरिन्छ । त्यसबाट कलाकारलाई पैसा मात्र होइन, आफ्नो क्षमता देखाउने प्लाटफर्म पनि प्राप्त हुन्छ । अर्कोतर्फ कम्पनी तथा एपको प्रचारप्रसार पनि हुन्छ ।

यसबाहेक कम्पनी तथा साधारण प्रयोगकर्ताका लागि आम्दानीको छुट्टै मोडेल पनि हुन्छ । यदि कसैले आफ्नो भिडियोमा कोकाकोलाको बोतल देखाउँदछ वा कुनै स्याम्पुको बोतल देखाउँदछ भने भिडियोको लोकप्रियताको आधारमा ब्राण्ड प्रवद्र्धनको माध्यमबाट सम्बन्धित कम्पनीमार्फत एप निर्माता र भिडियो अपलोड गर्ने दुवैलाई आम्दानी हुन्छ । भिडियोको भ्यूज, लाइक, कमेन्ट र शेयरको अनुपातमा टिकटक प्रयोगकर्ताको कमाई तय हुन्छ ।

विज्ञहरुका अनुसार अहिले धेरै सोसल मिडिया एप्सले भ्यूजको साटो इन्गेजमेन्ट तथा अन्तरक्रियामा धेरै ध्यान दिने गरेका छन् । अर्थात् तपाईंको भिडियो कति मानिसले हेरे भन्दा पनि कति धेरै मानिसले प्रतिक्रिया जनाए त्यस आधारमा प्रयोगकर्ताको कमाइ बढ्दछ ।

फाइदा मात्र होइन, खतरा पनि

टिकटकमा सबै राम्रो कुरा मात्र छ भन्ने पनि होइन । यसको नकारात्मक पाटो पनि छ ।

· गुगल प्ले स्टोरमा भनिएको छ कि यो एप केवल १३ वर्षमाथिकाले मात्र चलाउन पाउँदछन् । यद्यपि, यो नियम पालना भएको देखिँदैन । बच्चाहरुलाई पनि टिकटकमा भिडियो बनाएर राख्ने गरिएको छ ।

· गोपनीयताको कुरा गर्ने हो भने टिककट निकै असुरक्षित र खतरनाक छ । किनकि यसमा केवल दुईवटा प्राइभेसी सेटिंग्स गर्न सकिन्छः पब्लिक र वन्ली । अर्थात् भिडियो देख्नेहरुमा कुनै छनौट गर्न सकिँदैन । या त तपाईंले आफ्नो भिडियो आफैंले मात्र हेर्ने, या त दुनियाँ सबैलाई देखाउने ।

· यदि कोही प्रयोगकर्ता आफ्नो टिकटक अकाउन्ट डिलिट गर्न चाह्यो भने पनि आफ्नो मनलाग्दी गर्न सक्दैन । यसका लागि उसले टिकटकसँग अनुरोध गर्नुपर्दछ ।

· टिकटक पूर्ण रुपमा सार्वजनिक भएको हुँदा कसैले पनि टिकटकमा रहेको जो कसैलाई फलो गर्न सक्दछ, मेसेज गर्न सक्दछ । यस्तोमा कुनै आपराधिक प्रवृत्तिका मानिसले टिकटकमा सानो उमेरका बच्चा बच्ची तथा किशोर किशोरीहरुलाई गुमराहमा राख्ने खतरा हुन्छ ।

· टिकटक अकाउन्ट विभिन्न खाले अश्लील सामाग्रीहरुले भरिएको छ । यसमा कुनै फिल्टर छैन । हरेक टिकटक प्रयोगकर्ताले त्यो देख्न सक्दछ ।

विज्ञहरुका अनुसार टिकटकमा कुनै पनि सामाग्रीको बारेमा उजुरी गर्ने माध्यम नभएको हुँदा यो सुरक्षा र गोपनीयताको दृष्टिकोणले निकै खतरनाक हुनसक्छ ।

यस्तोमा टिकटक इन्टरनेटमा अरुको खिल्ली उडाउने वा दुर्व्यवहार गर्ने अर्थात् साइबर बुलिङ्गको अस्त्र बन्न सक्दछ । यसमा अरुलाई सहजै ट्रोल गर्न सकिन्छ ।

विज्ञहरुका अनुसार टिकटक जस्ता सोसल मिडियाले हाम्रो पूर्वाग्रह तथा मानसिकताको पर्दाफास गरिरहेका छन् । यसमा मान्छेको मजाक उडाउने चलन निकै बढेर गएको छ ।

टिकटकलाई काबूमा राख्न आवश्यक भएको विज्ञहरुको भनाई छ । सन् २०१८ को जुलाईमा इण्डोनेसियामा टिकटकमाथि प्रतिबन्ध लगाइएको थियो । किशोर किशोरीहरुले अश्लील सामाग्री अपलोड तथा शेयर गर्नका लागि टिकटकको अत्यधिक प्रयोग गर्न थालेपछि सरकारले यस्तो कदम चालेको थियो । पछि केही परिवर्तन तथा शर्तनामासँगै टिकटकमाथिको प्रतिबन्ध हटाइएको थियो ।

कुनैपनि एप डाउनलोड गर्दा हामी निकै गम्भीर हुनुपर्ने हुन्छ । तर हामीले एप डाउनलोड गर्दा त्यसका गोपनियताका शर्तहरुमा खासै ध्यान दिँदैनौँ । केवल Yes तथा Allow मा टिक गर्दै अघि बढ्दछौँ । आफ्नो स्मार्टफोनको फोटो ग्यालरी, लोकेसन तथा फोन नम्बरहरु सबैमा एपलाई एक्सेस दिन्छौँ । त्यसपछि हाम्रो डाटा कहाँ गैरहेको छ ? कसले केमा प्रयोग गरिरहेको छ ? हामीलाई केही थाहा हुँदैन ।

आजकल धेरैजसो एपहरुले आर्टिफिसियल इन्टेलिजेन्सको सहयोगमा काम गर्दछन् । यस्तोमा यदि तपाइँले त्यस्ता एपलाई एकपटक मात्र प्रयोग गर्नुभयो भनेपनि ती एपले तपाइँसँग सम्बन्धित विभिन्न जानकारीहरु सधैका लागि जुटाइसक्दछ । त्यसैले टिकटक जस्ता एपहरुको प्रयोग गर्दा निकै होसियार हुनुपर्दछ ।

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment