Comments Add Comment

अष्ट्रेलियामा अत्यधिक गर्मी, घर बाहिर ननिस्कन सरकारको अपिल

३ माघ, काठमाडौं । अष्ट्रेलियामा गर्मी अत्यधिक बढेको छ । गर्मी बढेपछि सरकारले अति आवश्यक कामबाहेक अन्य अवस्थामा घर बाहिर ननिस्कन सूचना जारी गरेको छ ।

सरकारी अधिकारीहरुका अनुसार, गर्मीका कारण ओजोन तह थप पातलिन सक्ने जोखिम छ । जसले मानव स्वास्थ्यमा असर गर्दछ ।

न्यूसाउथ वेल्सको वातावरणीय स्वास्थ्यका डाइरेक्टर रिचार्ड ब्रुमले घर बाहिर एकदम थोरै समय मात्र बिताउन आह्वान गरेका छन् ।

उनले भनेका छन्, ‘घरभित्रको तुलनामा बाहिर ओजनको स्तर बढी छ । खासगरी मध्याह्न र साँझ झन् बढ्छ । त्यसैले एकदमै कम समय मात्र सडकमा निस्किनुस् । यसो गर्दा स्वास्थ्यमा पर्ने नकारात्मक असर कम हुन्छ ।’

पछिल्लो २४ घण्टामा विश्वका अत्यधिक गर्मी हुने स्थानहरुको सूचीमा अष्ट्रेलियाका मात्रै १५ स्थान परेका छन्

गर्मी र प्रदूषणका कारण बिरामी परेका मानिसहरुको उपचार गर्न सहज होस् भनेर सन् २०११ को तुलनामा यस वर्ष अस्पतालहरुमा १४ प्रतिशतले आकस्मिक कक्षहरु थप गरिएको छ ।

ओजोनको प्रभावका कारण औषधि लिइरहेका स्वासप्रश्वासका पुराना बिरामीहरु बढी जोखिममा परेका छन् । किनभने यसले फोक्सोमा छिटो असर गर्छ ।

अन्य दिनको तुलनामा बुधबार न्यूसाउथ वेल्समा अत्यधिक गर्मी छ । न्यूसाउथ वेल्समा अधिकतम तापक्रम ४८ दशमलव २ डिग्री मापन गरिएको छ ।

शुक्रबार सिड्नीको शहरी क्षेत्रमा तापक्रम बढेर ३४ डिग्री पुग्ने पूर्वानुमान गरिएको छ । पश्चिम सिड्नीमा भने ४५ डिग्री तापक्रम रहने अनुमान छ ।

पछिल्लो २४ घण्टामा विश्वका अत्यधिक गर्मी हुने स्थानहरुको सूचीमा अष्ट्रेलियाका मात्रै १५ स्थान परेका छन् । दक्षिण अष्ट्रेलियाको तारकोला आइल्याण्डमा सबैभन्दा बढी ४९.१ डिग्री तापक्रम मापन भएको छ ।

वेदर जोनका एक वरिष्ठ मौसम वैज्ञानिक ज्याकब क्रोनजेले भनेका छन्, ‘अहिलेको स्थिति हेर्दा तापक्रम ५० डिग्री पुगेमा पनि आश्चर्य मान्नु पर्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment