Comments Add Comment

दुई करोड खर्चेर वीरगञ्जमा अश्वमेध गायत्री महायज्ञ हुँदै

३ माघ, वीरगञ्ज । नेपालमै पहिलो पटक वीरगञ्जमा अश्वमेध गायत्री महायज्ञ हुने भएको छ । २ करोड भन्दा बढीको लागतमा यज्ञको आयोजना गर्न लागिएको हो । त्यसका लागि आवश्यक तयारीहरु भइरहेको छ ।

महायज्ञका लागि वीरगञ्जको आदर्शनगर रंगशालमा २ सय ५१ वटा कुण्ड निर्माण गरिने छ । महायज्ञका लागि माघ ७ गते वीरगन्जको आर्दशनगरस्थित आर्दशनगर रगंशालामा भूमि पुजन हुँदैछ ।

सन् २०२६ सम्म १ सय ८ वटा अश्वमेध महायज्ञ गर्ने उद्देश्यले गायत्री परिवारले विभिन्न स्थानमा अश्वमेध महायज्ञ गर्दै आइरहेको छ । जसमध्ये ४६ औं महायज्ञको रुपमा वीरगञ्जमा गर्न लागिएको गायत्री परिवारले जनाएको छ ।

धार्मिक उद्देश्यले नभइ समग्र नेपालको कल्याणका लागि वैज्ञानिक र अध्यात्मिक हिसाबले महायज्ञ गर्न लागिएको अखिल विश्व गायत्री परिवार वेदमाता गायत्री शक्तिपीठका संयोजक एव वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले जानकारी दिए । राष्ट्रलाई सक्षम, सामर्थ्यवान एवं समृद्ध बनाउन पहिलो पटक अश्वमेध महायज्ञ गर्न लागिएको दावी उनको छ ।

यज्ञले प्रकृतिको चक्रलाई नियमित गर्ने, शारीरिक, मानसिक रोगव्याधिको उपचार गर्ने दावी उनको छ । ‘वैज्ञानिक विधिबाट यज्ञ सञ्चालन हुन्छ । जसले जल, स्थल, वायु, आकाश, महाभुतहरुको शुद्धिकरण गर्छ,’ उनले भने, ‘यज्ञबाट तयार हुने सात्विक वातावरणले मानिसको आध्यात्मिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।’

२४ थरी जडिबुटी र ध्यूवाट मिश्रति हवनमा उत्पन्न हुने वायुले गर्दा ४० किलोमिटरसम्म वातावरण प्रदुषण मुक्त हुने वैज्ञानिक मान्यता रहेको समेत उनले बताए ।
महायज्ञपछि वीरगञ्जको अवस्थामा के परिवर्तन आउँछ भनेर अध्ययन गर्न नाष्टसँग आग्रह गरिएको सरावगीले जानकारी दिए ।

यज्ञमा सहभागी हुने ४-५ लाख व्यक्तिलाई हवन गर्न २५१ कुण्डीय भव्य यज्ञशाला र देव सस्कृतिलाई दर्शाउने एउटा विशेष प्रदर्शनी निर्माण गरिने छ । शान्तिकुञ्ज हरिद्वारका पुरोहित तथा साधकहरुले तीन दिनसम्म हवन यज्ञ र १२ प्रकारका निःशुल्क संस्कार हुने छन् ।

महान आध्यात्मिक संत तथा देशभरीबाट मानिसहरुको समागम र यज्ञ सबैका लागि पूर्णतः निःशुल्क हुने भएपनि स्वैच्छिक दान भने स्वीकृत गर्ने शक्तिपीठका संयोजक सरावगीको भनाई छ ।

‘गायत्री महायज्ञ धार्मिक मात्र होइन, वैज्ञानिक अध्यात्मिक यज्ञ हो, यो समग्र देश समाजको सुख, शान्ति र समृद्धिको लागि आध्यात्मिक प्रयोग हो,’ संयोजक सरावगीले अगाडि भने, ‘यज्ञले सामुहिक रुपमा जागरण ल्याउँछ, सुसुप्त अवस्थामा बसेका प्रतिभालाई जगाउन र जागृत प्रतिभालाई सभ्यता संस्कृतिको उत्थानमा नियोजन गर्नका लागि मद्दत गर्छ ।’

फाल्गुन १९ गते शुरु भइ २२ गतेसम्म चल्ने यज्ञमा भारत र नेपालका गरी करिब ५ लाख भन्दा बढी भक्तजनहरुको सहभागिता हुने अनुमान गरिएको छ । यज्ञमा दैनिक ६० हजार व्यक्तिले एकपटक हवन गर्न सकिने व्यवस्था मिलाइएको छ ।

यज्ञमा सहभागी हुन आउने भारतीय एव अन्य देशबाट पाल्ने पर्यटकको लागि खाना, बस्ने सुविधा समेत शक्तिपीठले मिलाएको छ । आध्यात्मिक ज्ञान दिन यज्ञ अवधि भर २० वटा भन्दा बढी कार्यशाला गोष्ठीको आयोजना गरिने र ख्यातिप्राप्त प्रशिक्षकहरुले प्रशिक्षणसमेत दिनेछन् ।

यज्ञ सफल बनाउन ३ हजार कार्यकर्ता स्वयसेवक, २ हजार सुरक्षाकर्मी परिचालन गरिनेछ । विभिन्न ठाउँमा २५ चाइनिज घुम्ती शौचालय र अन्य गरी २ सय वटा महिला, अपाङ्गमैत्री शौचालय स्थापना हुनेछन् । यज्ञमा सहभागी हुने पर्यटकका लागि बसोबास गर्न १२ हजार जना अट्ने अवासको व्यवस्था मिलाइएको गायत्री परिवारले जनाएको छ ।

कहाँ बाट आउँछ महायज्ञ गर्ने खर्च ?

यज्ञ सफल बनाउन नेपाल सरकारसँग १ करोड रुपैयाँ अनुदान माग गरिएको छ । अनुदान भने स्वीकृत भइसकेको छैन ।  महानगरपालिकाले पनि ३० लाख रुपैयाँ वजेट छुट्याएको छ ।

महानगरपालिकाले छुट्ट्याएको रकम नगरपालिका भित्रकै पूर्वाधार निर्माण र खानेपानीको व्यवस्था गर्न खर्च गरिने जनाइएको छ । कतिपयले विभिन्न सामाग्रीहरु जस्तै आँटा, दाल दान गर्न शुरु गरिसकेका छन् । त्यति मात्रै नभएर साढे ७ सय जना जजमानले स्वेच्छाले रकम दान गरिरहेका छन् ।

उनीहरुको  प्रि-रजिष्टेशन हुने हुँदा केहिले १० लाख, ५ लाख, २ लाख, १ लाख दान गरिरहेको सरावगीले बताए । ‘ खर्च हामीले २ करोड भन्दा बढी लाग्ने अनुमान गरेका छौं । नेपालमा पहिलो पटक अश्वमेध महायज्ञ गर्न लागेकोले सरकारसँग १ करोड रुपैयाँ मागेका छौं,’ उनले भने, ‘अन्य सबै सहयोग स्वेच्छिक छ, महायज्ञ भएकोले स्वेच्छिक दानहरु आइरहेको छ । कसैले नगद त कसैले जिन्सी सहयोग गरिरहनुभएको छ ।’

महायज्ञ सञ्चालनपछि रकम बचत भएको खण्डमा निःशुल्क आवासको व्यवस्था गर्ने गरी गायत्री परिवारले वीरगञ्जमा धर्मशाला निर्माण गर्ने लक्ष्य राखेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment