Comments Add Comment

विवेकशील साझा फुट्नुका ८ कारण

गएको स्थानीय चुनावमा काठमाण्डौमा लगभग ३५ दिन नव गठित साझा पार्टीबाट मेयरको उम्मेदवार बनेका किशोर थापाको लागि संचालन भएको चुनावी अभियानमा सरिक हुँदा हरेक दिन नयाँ उर्जा मिल्थ्यो। यो उर्जाको कारण उनको सरलता, सादगीपन र काठमाण्डौको बारेमा उम्मेदवारमा भएको गहिरो बुझाई थियो ।

झट्ट हेर्दा दशकौं सरकारी ओहदामा बसेर सेवा गरेका थापाले मेयरको पदमा दिएको उम्मेदवारी राजनीतिक थिएन । जितिहाले पनि मेयर र उपमेयरमा मात्र उम्मेदवारी दिएको तत्कालीन साझा पार्टीका उमेद्वार दाउ पेचको राजनीतिको शिकार हुने निश्चित थियो । ३२ वडाबाट निर्वाचित हुने विपक्षी पार्टीका प्रतिनिधिहरुको हठको अगाडि उनले घुँडा टेक्नु नपर्ने कारण केही थियो भने उनको फराकिलो ज्ञानको दायरा, लामो अनुभव, बोलीमा मधुरता, व्यवहारमा पारदर्शिता समग्रमा सरलता र सादगीपन नै थियो । उनको उम्मेदवारीले राजधानीमा अवस्थित महानगरले इतिहासमै पहिलोपटक योग्य उम्मेदवार पाएको अनुभुति हुन्थ्यो तर चर्चा उनको मात्र थिएन ।

तत्कालीन विवेकशील नेपाली दलको तर्फबाट मेयरको उम्मेदवार बनेकी रन्जु दर्शनाले दिन प्रतिदिन आफूलाई युवाको आवाजको रुपमा स्थापित गर्दै थिइन् । उनमा युवा शब्दको राप बाहेक उनको दावीलाई पुष्टि गर्ने हतियार केही थिएनन् । कलिलो उमेर, शून्य अनुभव, स्कुले शिक्षा महानगरको आवश्यकता भन्दा कैयौं फिका थिए तर उनै चम्किली लाग्थिन् भोटले पनि त्यहीँ प्रमाणित गर्यो ।

फर्केर हेर्दा लाग्छ हाम्रो समाजले निर्धारण गर्ने योग्यताको कडीले जिम्मेवारी र जवाफदेहिता भन्दा विकल्पमा बालहठलाई प्रश्रय दिन्छ । लाखौँ मतदाताको भाग्य विधाता बन्ने तराजुमा किशोर थापा हलुका र रन्जु दर्शना बोझिलो देखिनु कति असान्दर्भिक थियो त्यो विस्तारै महशुस हुदै जाने छ । अहिलेलाई विवेकशील साझा पार्टीको फुटलाई पहिलो धक्का मान्न सकिन्छ।

श्रोतहरुका अनुसार विवेकशील साझाको फूट झट्ट हेर्दा छिटो भए जस्तो भए पनि यसमा विलम्ब थियो । विलम्ब उनै रन्जुका कारणले भएको थियो । चार वर्ष लगाएर विवेकशील नेपाली दलले बनाएको भनिएकी रन्जु विवेकशील साझाका एक संयोजक उज्वल थापालाई केही समय भेट नै नदिई बसेकी थिइन् । तर उज्वल थापाको हठको अगाडि उनी गलिन् । जब रन्जुले उज्जवल थापाको लाईनलाई समातिन् तब पार्टी एक रहेन ।

त्यसो त पार्टी फूटेको अपजस रन्जुले मात्र लिनुपर्छ भन्ने हैन । तर हामीले खोजेका शाहसिला युवा दवाव समूहका दास बन्ने युवा होईनन् । त्यस्ता युवा त स्थापित राजनीतिक पार्टीमा छँदैछन् । हामीले खोजेको युवामा सिक्ने रुचि हुनुपर्छ । भोट देखाएर अहंकार उकाल्ने दर्शना प्रवृत्तिले आम नागरिकले भोगिरहेका दुःख,कष्ट अन्याय र अत्याचारलाई कम गर्न सक्दैनन् । हामीले खोजेका युवा राष्ट्रको वृहत्तर हितको लागि सतीसाल झै उभिन सक्ने युवा हो । स्वार्थ समूहको शिकार भएर युवा शब्दको परिभाषालाई समय सापेक्ष परिस्कृत गर्न नसक्ने, संकटमा संकटमोचन नपहिल्याउने, सहजतामा सृजना तिर लाग्नु भन्दा असहजतामा राम्रो भन्दा हाम्रोको विचार तिर लाग्ने युवा सचेत हैन अचेत हुन् ।

गएको चुनावले स्थापित गरेको अचेत युवा नेतृत्वको आडमा वैकल्पिक राजनीतिले फूट व्यहोर्न पुगेको छ । यो फूटमा तीनै युवा छन् जो एकाध बाहेक ४० कटेका छैनन् । यीनै ४० मुनिका युवाको निर्णय क्षमताका कारण विवेकशील साझा पार्टी दुई चिरामा विभाजन भएको हो ।

तत्कालीन प्रधान्यायाधीस गोपाल पराजुलीको बारेमा संसदमा भइरहेको बहसलाई सुनेर उनको बारेमा अनभिज्ञता प्रकट गर्ने केन्द्रीय तहका यीनै युवा नेताले राधेश्याम अधिकारीलाई अपराधीको शैलीमा मौखिक आक्रमण गर्ने सदस्यलाई कहिल्यै सही कुरा के हो बताउन सत्यतथ्य खोजेनन् । कानून शास्त्रको गहिराईमा गएर न्यायिक सिद्धान्तको बारेमा बहश गर्ने क्षमता कुनै युवामा देखिएन । बरु राष्ट्रिय सभामा विपक्षी बेन्चलाई बलियो बनाउन पार्टीले लिएको निर्णय विरुद्ध सदस्यलाई उचालेर केन्द्रीय समितिमा आफुलाई शक्तिशाली बनाउने घृणित खेलमा यी सबै रमाए।

आफ्नो योग्यता र क्षमतामा विश्वास नगर्ने उज्वल थापा समूहले शुरु देखि नै अंकगणित केन्द्रित राजनीति गरे । एकता महाधिबेशनको लागि व्यापक सहभागिता सुनिश्चित गर्न पार्टीले संचालन गरेको देशव्यापी संगठन विस्तार अभियानमा पश्चिमबाट जोडिन आएका प्रमुख नेताहरु मिश्र पक्षका भए भन्दै खल्लो विरोध मात्र गरे विकल्प दिन सकेनन् ।

प्रदेश संयोजकहरु गोपाल हमाल, गेहेन्द्र दाहाल र अनुपमान सैँजु जस्ता व्यक्तित्वले अनौपचारिक भेटघाटमा यस्तो निम्नस्तरको संकुचित बुझाइले पार्टीमा निर्णायक क्षमता ह्रास हुने र पार्टी बन्ने कुरामा विलम्ब हुने भन्दै चिन्ता जाहेर गरेका थिए। तर, रवीन्द्र मिश्रले सधै सकारात्मक प्रयास गरिरहे।

उज्वल थापा आफै कम बोल्छन्, बोले भने कुरा होईन काम गरौं भनेर चार शव्दमा छलफल सक्न खोज्छन् तर, थापाको हिसाव किताब खोज्ने हो भने पार्टी एकिकरणपछि न उनी काममा उर्तिए न पार्टीमा विचार प्रवाह गरेर पार्टीलाई मार्गदर्शन गरे ।

पछिल्लो स्थानीय चुनावमा तत्कालीन विवेकशील नेपाली दलका तर्फबाट मेयरको चुनाव लड्न नपाएर गोविन्द नाराएण समुह संग ठुस्सिएका उज्वल थापा काठमाण्डौं निर्वाचन क्षेत्र नम्बर पाँचबाट पटक पटक संघीय चुनाव लडिसकेका छन् । गएको संघीय चुनावमा अनुयायीहरु माझ यो पटक दश हजार भोट नकटाए पार्टीबाट विदा हुन्छु भन्ने सम्ममा कबुल गरेका थापाले आफ्नो साँघुरिदो राजनीतिक कदलाई फराकिलो बनाउन मेहेनत गर्नु भन्दा फुटमा भाग्य खोज्नु निरर्थक देखिन्छ।

संगठन विस्तारकै सिलसिलामा गएको भदौं अन्तिममा देश भरिबाट काठमाण्डौैमा जम्मा भएका उत्प्रेरक प्रशिक्षणमा उपस्थित हुन समेत हिच्किचाएका उज्वल थापा समूहमा रहेका अधिकांश नेता उक्त कार्यक्रमको शुरुवातमा अपवाद बाहेक कोही देखिएनन् । व्यक्तिगत खर्चमा संचालित प्रशिक्षणमा देखिएको व्यापक सहभागिताबाट त्रसिए भई भोलि पल्ट लगभग सवैजसो केन्द्रीय सदस्यहरु फोटो खिचाउन उपस्थित भए । यो प्रशिक्षण पश्चात उज्जवल थापा समूहका लगभग सवै केन्द्रीय सदस्यले पार्टी ठूलो हुँदै गएको सन्दर्भमा आफुहरु छायाँमा पर्ने खतरा देखेर पुन: संगठित हुन थालेको बुझिन्छ । आफ्नो भूमिका सुरक्षित गर्न परि आए पार्टी नै फुटाउने पंक्तिले विवेकशील शब्दको उपहास गर्नु कदापि   ऐतिहासिक उर्दी थिएन ।

केही महिना अगाडि गण्डकी प्रदेशमा भएको गण्डकी प्र्रदेश संयोजक घोषणा कार्यक्रममा पार्टीका संयोजकद्वय रवीन्द्र मिश्र, उज्जवल थापा, प्रवक्ता सूर्यराज आचार्य र युवा नेतृ रन्जु दर्शना लगाएतको उपस्थिति थियो । पोखरामा भएको उक्त कार्यक्रममा उपस्थित पार्टी सदस्य, युवा, पत्रकार, शुभेच्छुक, नागरिक समाज सबैको स्पटलाइटमा संयोजक रवीन्द्र मिश्र र प्रवक्ता डा. सूर्यराज आचार्य परे पछि अर्का संयोजकले समकक्षीमा कमजोरी देखे । आफ्नो स्थापित व्यक्तित्वलाई स्वीकार गर्न सकेनन् । उज्जवल थापाको पार्टी फुटाउने उत्प्रेरणामा झन् मलजल पुग्यो ।

थापाले केही समयपछि आफ्नो समुहका केन्द्रीय सदस्यहरु संग सल्लाह गरेर पार्टीको समीक्षा गर्ने दौड शुरु गरे । प्रदेश एकमा दुई प्रस्तावित संयोजक थिए । सन्तोष घिमिरेलाई भेटेर तपाईलाई संयोजक नबनाए पार्टी फुटाउँछु भन्ने किसिमको सन्देश दिए भने अर्का प्रस्तावित संयोजक अनिल भेटवाललाई पुर्वाग्रह सहित भेटे । दाङ्ग सम्मको यात्रामा आफ्ना अनुयायीहरुलाई वार कि पार गर्छु तपाईका कुरा सुनुवाई भएन भने बाँकीलाई सदावहार लवज कुरा होइन काम गर्नु पर्छ भन्ने मन्त्र सुनाएर विदा भए । काठमाण्डौ आएर पार्टी फुटाए।

हुन त मलाई यो कचकचमा रुचि छैन ।यद्यपि बैकल्पिक आन्दोलनको अभियन्ता भएकोले विवेकशील साझा पार्टी किन फुट्यो अझ प्रष्ट तस्वीरहरु तल राख्न चाहन्छु । अपवाद साथीहरूको हकमा क्षमादान चाहन्छु:

१) उज्वल थापाले बिधान मिचेर मेची महाकाली गरेर समीक्षा प्रतिवेदन तयार गर्दा उहाँ हिडेको बाटोमा कोहि सदस्य भेटिएनन् केही अनुयायी मात्र भेटिए । कोलाबोरेटिभ लिडरशिपको फुटानी लाउनेले एकल समीक्षा सार्वजनिक गरे, आफैले भन्ने गरेको सहभागितामूलक लोकतन्त्रको धज्जी उडाए पार्टी फुटाउने तयारी थियो पार्टी फुटाए।

२) दल परित्याग गरेको समूहको दलील छ शुक्रवार पार्टी नफुटाएको भए ३० गतेको बैठकमा अरु केन्द्रीय सदस्यहरु थपिने थिए । विभाजनकारीको पक्षमा ४० प्रतिशत भन्दा कम सदस्य हुन्थे । त्यसैले आसन्न बैठक पूर्व नै पार्टी फुटाएर दुई सांसदको पद जोगाउनु पर्थ्यो । पदीय लोलुपताले आन्तरिक विवादलाई सुल्झाउनु भन्दा पार्टी फुटाउने तरिका अब्बल मान्ने संस्कारलाई परिपाटी मान्ने समूहले राम्रै ढाडस दिएर पदको लागि र्याल काढ्ने वर्गको भरिया बन्न स्वीकार गरे अनि पार्टी फुट्यो।

३) विवेकशील साझा पार्टीको केन्द्रीय समितिमा फुर्सदको राजनीति गर्ने समूह हावी हुन नपाएको झोकमा पार्टी फुट्यो ।केही नेता कर्णालीबाट तीसौ हजार खर्च गरेर पार्टीका बैठकमा उपस्थित हुन आउँथे भने एक थरी काठमाडौंमा अफिस सकेर मात्र मिटिङ्ग गराउन उनीहरूलाई कुराउँथे । त्यसैले पार्टी फुट्यो।

४) पूर्व विवेकशील नेपाली दलमा एनजीओको शैलीमा राजनीतिक अभियानमा सहभागी हुँदा पैसा मिल्थ्यो । विदेशमा रहेका शुभचिन्तकले जे भन्दा पैसा दिन्थे त्यहि गर्थे । पैसाको धन्दा बन्द भएपछि पारदर्शिताको कुरा आयो तर आर्थिक अनियमितता बहाना मात्र थियो । पुष्टि हुने नदेखेपछि चोर बाटोबाट भाग्न बाध्य भए ।पारदर्शिताको कुरो ल्यायो भने हामीलाई सहानुभूति हुन्छ भन्ने बुझे अनि पार्टी फुटाए ।

५) पूर्व विवेकशील नेपाली दलमा कुनै भिजन थिएन । एक प्याराग्राफ लेख्नु परे सबैलाई गुहार्थे,शब्द मिलाउँथे,प्याराग्राफ बन्थ्यो । यता मिसिए पछि दिग्गजहरुले सिङ्गो किताब लेखेको देखे अनि सहभागितामूलक लोकतन्त्रको फुँई गर्दै पार्टी फुटाए।

६) पार्टीका कार्यक्रम हुन्थे । तर राजनीतिक संस्कार नसिकेकाले उनीहरुले व्यक्तित्वलाई समस्या देखे । छायाँमा परेको अनुभव गरे । व्यक्तित्व विकासमा रुचि देखाएनन । नमस्कार गर्ने र बस्ने अनि ठुस्सिने काम गरे । उत्कृष्टताको अपमान गर्नेले फेरि उत्कृष्टता भन्दै पार्टी फुटाए।

७) उनीहरु कमिटीका मिटिङ्गमा गएनन्,छलफलमा आफ्ना प्रस्ताव पास गराउने खालका लगेनन् । भाँडाकुटी भयो यो त भन्दा पद्धति मिच्यो भनेर कराए भागदौड चलाए । पार्टी ठूलो हुँदै गयो आफ्नो वशमा भएन अनि पार्टी फुटाए।

८) विवेकशील साझा पार्टीमा शुरुदेखि नै एउटा समूहले अनाहकमा रवीन्द्र मिश्रको कटु आलोचना गर्ने गरेको थियो । निराधार आरोपहरुमा सूर्यराज आचार्य र मुमाराम खनाल पनि मुछिन्थे । उज्वल थापाको बारेमा चुँ समेत नगर्ने यो समूह केही बिग्रिहाल्छ कि भनेर बढि नै सचेत भएको हो की भन्ने भ्रम सबैलाई परेछ सबैले यिनीहरुलाई सहे।जताबाट तल माथि भए पनि कान समात्ने र डण्डा लाउने समूह बन्न सक्ने आशंकाको सुविधा नेता सूर्यराजहरु राख्थे । तर विडम्बना: जसरी पार्टी फूट्ने सन्देश प्रवाह भएपछि यो समूह हतार हतार उज्वल थापाकोपछि लाग्यो । यसले शुरु देखि नै पार्टी फुटाउनका लागि झगडाका गरेको कुरा पुष्टि गर्यो।

हेक्का रहोस् वैकल्पिक राजनीति भनेको अनुयायीको मात्र नेता बन्ने कुरा होइन, तीन करोड नेपालीलाई त्यो कुरा पच्नुपर्छ। रवीन्द्र मिश्रको मात्र होइन केपी ओली र शेर बहादुरहरुले पनि नेता स्वीकार गर्नुपर्छ । विकल्पका लागि त्याग गर्न तम्सिएको जन लहरमा आघात पुर्याए पछि यसको क्षतिपूर्ति स्पष्टीकरण दिएर हुँदैन, आम नागरिकका दैनिक भोगाइमा फुट नदेखिने गरी विवेकशील साझा पार्टीले काम गरोस्। नेपालको जय होस् ।

(प्रदीप कुमार थापा विवेकशील साझा पार्टीका अभियन्ता हुन्।)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment