Comments Add Comment

नयाँ मर्यादाक्रमबाट संवैधानिक निकायको अपमानः लोक सेवा

३ माघ, काठमाडौं । सरकारले जारी गरेको नयाँ मर्यादाक्रमले संवैधानिक निकायहरुको अपमान गरेको लोक सेवा आयोगले ठहर गरेको छ । संवैधानिक पदाधिकारीहरुको मर्यादाक्रम निकै तल राखिएको भन्दै आयोगले साविकको जस्तै कायम राख्न सरकारलाई आग्रह गरेको छ ।

आयोगले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा लेखिएको छ, ‘नेपाल सरकारले हालै जारी गरेको राष्ट्रिय जीवनका बिभिन्न क्षेत्रका महानुभावहरुको नयाँ मर्यादाक्रमप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ । खासगरी संवैधानिक निकायका पदाधिकारीहरुको मर्यादाक्रम निकै तल्लो क्रममा राख्नुले संवैधानिक पदाधिकारीहरुको मात्र अपमान नभई समग्रमा संवैधानिक निकायहरुकै संस्थागत मर्यादामा ह्रास भएको छ ।’

यो पनि पढ्नुहोस नयाँ मर्यादाक्रम सार्वजनिक, कसको स्थान कहाँ ? (सूचीसहित)

मर्यादाक्रम निर्धारण गर्दा परम्परा, प्रचलित कानुन, पदको भूमिका र गरिमालाई आधार मान्नु पर्नेमा कुनै मापदण्ड विना कसैलाई माथिल्लो क्रममा राख्ने अभिष्टले निर्णय भएको लोक सेवा आयोगको निष्कर्ष छ । यसबाट निजामती सेवा ऐन, २०४९ र नेपाल स्वास्थ्य सेवा ऐन २०५३ मा व्यवस्था गरिएको बढुवा समितिको बैठकहरुमा आयोगका सदस्यहरुले भाग लिन समेत असहज स्थिति सिर्जना भएको आयोगले जनाएको छ ।

बढुवा समितिहरुमा लोक सेवा आयोगका सदस्यले अध्यक्षता गर्ने र मुख्य सचिव सदस्य रहने व्यवस्था छ । यो कानुनी प्रावधानको प्रतिकूल हुने गरी मर्यादाक्रम निर्धारण गरिएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

‘मर्यादाक्रमप्रति अन्य निकायका पदाधिकारीहरुको समेत असन्तुष्टि बाहिर आइरहेकाले पनि यो निर्णयको अपरिपक्वता स्वतः सिद्ध भएको छ,’ आयोगले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘यसर्थ यसलाई संशोधन गरी संवैधानिक निकायका सदस्यहरुको मर्यादाक्रम साविकको जस्तै संवैधानिक निकायका प्रमुखहरुको लगत्तैपछि कायम गर्न नेपाल सरकारलाई आयोग विशेष आग्रह गर्दछ ।’

हेर्नुहोस् लोक सेवा आयोगको विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment