Comments Add Comment

आजका पत्रपत्रिकाः सुशासनको नारा दिएको सरकारको बेरुजु साढे ५३ अर्ब

४ माघ, काठमाडौं । डा. गोविन्द केसीलाई काठमाडौं ल्याइएकोदेखि पाँच न्यायाधीश कारबाहीमा परेकोसम्मका खबरले आजका दैनिक पत्रिकाहरु रंगिएका छन् । त्यस्तै, आठ वर्षमा दोब्बर कलेजलाई सम्बन्धन दिइएको, संघीय सरकारको बेरुजु साढे ५३ अर्ब पुगेकोलगायतका खबरले पनि आजका पत्रपत्रिकाहरुमा स्थान पाएका छन् । सरकारले रेल इन्जिन किन्ने निर्णय गरेकोसम्बन्धी खबर पनि आजका पत्रपत्रिकाहरुमा पढ्न सकिन्छ । पर्वतमा भएको बस दुर्घटनाको खबरलाई पनि आजका दैनिक पत्रिकाहरुले नछुटाइकन छापेका छन् ।

नागरिक दैनिकले संघीय सरकारको हिसाब प्रस्तुत गरेको छ । सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासन पहिलो प्राथमिकतामा रहेको बताए पनि गत आर्थिक वर्षमा संघीय सरकारको बेरुजु साढे ५३ अर्ब रुपैयाँ देखिएको नागरिकको समाचारमा उल्लेख छ । प्रदेश र स्थानीय सरकारको बेरुजु अझै योभन्दा धेरै छ ।

सरकारको आन्तरिक लेखा परीक्षण गर्ने निकाय महालेखा नियन्त्रक कार्यालयका अनुसार, गत आ.वमा संघीय सरकारले १० खर्ब ८४ अर्ब ६८ करोड रुपैयाँ खर्च गर्दा ५३ अर्ब ५८ करोड रुपैयाँ बेरुजु देखिएको छ । यो रकम कूल खर्चको करिब ५ प्रतिशत हो ।

सीजी टेलिकमलाई मोबाइल सेवा सञ्चालन गर्न दिन यसअघि सर्वोच्च अदालतको एकल इजलासलबाट भउको अन्तरिम आदेशलाई संयुक्त इजलासले बदर गरेकोलाई पनि नागरिकले प्राथमिकतापूर्वक पहिलो पृष्ठमा छापेको छ ।

नेपालीले स्वीस बैंकमा गरेको बचत र विदेशमा गरेको शंकास्पद लगानीको विषय प्रधानमन्त्री कार्यालयकै कार्यक्षेत्रमा पर्ने अर्थ मन्त्रालयको भनाइलाई कान्तिपुरले मुख्य समाचार बनाएको छ । त्यस्तै, पाँच न्यायाधीश कारबाहीमा गरेको खबर पनि कान्तिपुरको पहिलो पृष्ठमा छ ।

पर्वत बस दुर्घटनाको तस्वीर छापेको अन्नपूर्णले सुनकाण्डका पाँच न्यायाधीश जिम्मेवारीमुक्त भएको लेखेको छ । डा. गोविन्द केसीलाई काठमाडौं ल्याइएकोदेखि मर्यादाक्रममा लोकसेवा आयोगले असन्तुष्टि जनाएकोसम्मका खबर अन्नपूर्णको पहिलो पृष्ठमा समेटिएका छन् ।

नयाँ पत्रिकाले अन्य पत्रिकाहरुको भन्दा भिन्न विषय कलेजलाई दिइएको सम्बन्धनबारे खोजीनीति गरेको छ । समाचार अनुसार, आठ वर्षमा दोब्बर कलेजलाई सम्बन्धन दिइएको छ । सम्बन्धन वृद्धिदर खतरनाक रहेको समाचारको सार छ ।

चोभारमा प्रधानमन्त्रीले गरेको सुख्खा बन्दरगाहको शिलान्यासलाई गोरखापत्रले मुख्य समाचार बनाएको छ । त्यस्तै, पानीजहाज सञ्चालनको औपचारिक प्रक्रिया सुरु भएको, बस दुर्घटनामा ७ जनाले ज्यान गुमाएकोलाई पनि गोरखापत्रले पहिलो पृष्ठमा छापेको छ ।

राजधानीले नर्सिङ पढाइप्रति पुरुष आकर्षित नभएको लेखेको छ भने कारोबारमा सवारी दर्ता अञ्चलककै नाममा हुने खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment