Comments Add Comment

हेलो मुख्यमन्त्री : खोज्दा चर्पी पाइँदैन, के हो स्मार्ट सिटी ?

५ माघ, पोखरा । लेकसाइड क्षेत्रमा पुस्तकालय त टाढाको कुरा खोजेका बेला चर्पी पाइँदैन । साँझ पर्न पाएको हुँदैन प्रहरी र ट्राफिक प्रहरीले ओई रोक्, तँ कहाँ जान लागेको भन्दै हप्काउँछन् । व्यापारी कतिबेला ग्राहक आउँछन् भनेर जाल थापेर बस्छन् । मुख्यमन्त्रीज्यू, यो कस्तो संस्कार भएको पर्यटकीय नगरी हो ?

लेकसाइडबाट एक व्यक्तिले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई सोमबार गरेको प्रश्न हो, यो । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा स्थापित ‘हेलो मुख्यमन्त्री’ कार्यक्रममा मुख्यमन्त्री आफैं सेवाग्राहीका गुनासा सुन्न उपस्थित थिए ।

गण्डकी प्रदेश सरकारले ४ भदौदेखि प्रदेशवासीको गुनासो सुन्न थालेको हो । सोमबार ‘हेलो मुख्यमन्त्री’मा सहभागी उनले गुनासोे राखे, ‘लेकसाइड क्षेत्रमा स्वदेशी पर्यटकप्रति राम्रो व्यवहार हुँदैन । विदेशीको लागि टयाक्सीदेखि होटलसम्म जाल थापेर बसेका हुन्छन् । प्रहरीले अपमानजनक व्यवहार गर्छन् । यस्तो अवस्था बदल्न के सोच्दै हुनुहुन्छ ?’

लेकसाइड मात्र होइन पोखराका अधिकांश ठाउँमा शौचालयको अभाव छ । घरदेखि होटलले फेवाताल फोहोर पार्छन् । यो गुनासो मेयरदेखि मुख्यमन्त्रीसम्मले सुन्दै आएका छन् ।

मुख्यमन्त्री गुरुङले यस विषयमा पोखरा महानगरपालिकासँग छलफल गर्ने जवाफ दिएका छन् । गण्डकी प्रदेश सरकारले पर्यटनलाई समृद्धिको पहिलो आधार मानेको बताउँदै गुरुयोजना बनाएर ‘एक्सन’मा जाने आश्वासन दिए ।

पर्यटकको स्वागत र सम्मान गर्न आफैं चेतनशील भएर संस्कार विकास हुनुपर्नेमा मुख्यमन्त्री गुरुङले जोड दिए ।

भुस्याहा कुकुर बढेकोदेखि स्मार्ट सिटी भनेको के हो भन्नेसम्मका प्रश्न हेलो मुख्यमन्त्रीमा आएका छन् । सोमबार रामबजारकी एक महिलाले टेलिफोनमा मुख्यमन्त्रीलाई भनिन्, ‘लमजुङ समाज घर’मा हुने हल्लाले सुत्न पाइएन, हजुरले केही गरिदिनुपर्‍यो । अनि पोखरामा जताततै कुकुर नै कुकुर भरिए, हटाउने उपाय के होला ?’

मुख्यमन्त्री गुरुङले यसबारे लमजुङ समाजलाई भन्ने र पोखराबाट भुस्याहा कुकुर हटाउने आश्वासन दिए ।

निर्मलपोखरीबाट नारायण थापाले मुख्यमन्त्रीलाई सोधे, ‘प्रदेश सरकार बनेको छ । अब गण्डकीका ११ जिल्लाका बेरोजगार युवाले काम पाउँछन् त ?’

मुख्यमन्त्री गुरुङको उत्तर थियो, ‘बेरोजगार युवालाई प्राविधिक तालिम दिन्छौं । शैक्षिक प्रमाणपत्र छ तर सीप छैन भने तालिम पछि स्वरोजगारमा जान्छन्, विदेश जानेलाई पनि राम्रो हुन्छ ।’

अर्का एक व्यक्तिले ‘स्मार्ट सिटी भनेर प्रचार गरिएको पोखरा किन त्यस्तो भएन ?’ भनेर सोध्दा मुख्यमन्त्री गुरुङले ‘स्मार्ट सिटीको बुझाइ नै गलत हुने गरेको’ बताए । ‘यत्तिकै स्मार्ट सिटी बन्दैन’, उनले भने, ‘स्मार्ट सिटीमा धेरै कुरा स्मार्ट हुनुपर्छ ।’

हेलो मुख्यमन्त्रीमा अहिलेसम्म आएका ३०६ गुनासामध्ये १३२ वटाको हल भएको छैन । ती गुनासाहरु केन्द्र सरकारसँग सम्बन्धित रहेको मन्त्रिपरिषदको कार्यालयका अधिकृत प्रेम श्रेष्ठले बताए ।

टेलिफोन र इमेलबाट गुनासाहरु टिप्ने व्यवस्था गरिएको छ । हरेक १५ दिनमा मुख्यमन्त्रीले नै टेलिफोनबाट गुनासाहरु सुन्ने गरेका छन् ।

‘हेलो मुख्यमन्त्री’ विहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुन्छ । गण्डकी प्रदेशका जनताले टेलिफोन नम्बर १०९४ डायल गरेर गुनासा वा सुझाव टिपाउन सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment