Comments Add Comment

सरकारविरुद्ध आन्दोलन गर्ने देउवाको चेतावनी

५ माघ, पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कर्मचारीतन्त्रमा हस्तक्षेप गरे सरकारबिरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

ओली सरकारले सबै क्षेत्र आफ्नो नियन्त्रणमा लिन खोजेको उनको आरोप छ । नेपाल निजामती कर्मचारी युनियन, गण्डकीको कार्यक्रममा देउवाले भने, ‘शिक्षा विधेयक होस् वा कर्मचारी समायोजन सम्बन्धमा ओली सरकारले हस्तक्षेप गर्न खोजेको देखिन्छ । उसले सबै क्षेत्रमा हस्तक्षेप गर्दै कन्ट्रोल गर्न खोजेको छ, यस्तै रहे सरकारबिरुद्ध सदनदेखि सडकसम्म आन्दोलनमा उत्रिन्छौं ।’

कांग्रेस स्वतन्त्र कर्मचारीतन्त्रको पक्षमा रहेको भन्दै उनले यसमा हुने हस्तक्षेप स्वीकार्य नहुने बताए । भने, ‘हामी इनडिपेन्डेन्ट ब्यूरोक्रेसीको पक्षमा छौं, यसमा हस्तक्षेप भएको हामी सहन्नौं, हामी जस्तोसुकै आन्दोलन गर्न पनि तयार छौं ।’

पूर्वप्रधानमन्त्री देउवाले ओली सरकारलाई कांग्रेस नेताहरुको नामप्रति एलर्जी भएको टिप्पणी गरे । गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खुलेका अस्पताल बन्द गर्न खोजेको आरोप लगाउँदै उनले भने, ‘आज कांग्रेसका महान नेताहरुको नामप्रति ओली सरकारलाई एलर्जी भएको छ । अनि आज नाम हटाउँछन् र भोलि प्रजातन्त्र समेत हटाउन चाहन्छन् ।’

कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले कर्मचारीको वृत्ति विकासमा असर पारे चुप लागेर नबस्ने चेतावनी दिए । वर्तमान सरकारले लोकतान्त्रिक प्रणाली, संविधान, कर्मचारीमाथि हस्तक्षेप गरेर सर्वसत्तावाद लाद्ने प्रयासमा रहेको उनको आरोप छ ।

उनले सरकार पूर्णतः असफल भएको दाबी समेत गरे । ओली सरकारले दुई तिहाईको सदूपयोग गर्न नसकेको भन्दै उनले भने, ‘स्थिरता र शान्ति हुँदाहुँदै सरकारले अवसरको सदूपयोग गर्न सकेन, ओली सरकार पूर्णतः असफल भएको छ ।’

वाइडबडी, बुढी गण्डकीलगायतमा चरम भ्रष्टाचार भएको भन्दै उनले सरकारको आलोचना गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment