Comments Add Comment

‘नेपाली पुस्तक स्तरीय छैनन् भन्नेले पढेकै हुँदैनन्’

नेपालमा हजारौं डाक्टर, इन्जिनियर र अन्य पेशागत व्यक्तिहरु छन्  । उनीहरुमध्ये कतिले आफूले पाएको ज्ञान आम पाठकलाई बाँड्ने गरेका छन् त ?

कतिपय चिकित्सक आफूले पाएको ज्ञान बाँड्नु त परेको कुरा, नजिक आउने व्यक्तिहरुसँग राम्रो ब्यवहार गर्न पनि जान्दैनन् । अरु पेसाकर्मी-व्यवशायीको प्रायः यही ताल हुन्छ ।

केही व्यवसायिक व्यक्ति आफूले थाहा पाएका कुरा बाँड्ने प्रयास त गर्छन्, तर उनीहरुको ज्ञान आम पाठकसम्म राम्रोेसँग सम्प्रेषण हुन सक्दैन । आम मानिसलाई कुन बेला कुन ज्ञानको आवश्यक छ र आफूसँग भएको त्यो ज्ञान कसरी प्रस्तुत गर्ने भन्ने अनुभवको कमी हुँदा उनीहरुसँग भएको ज्ञान राम्रोसँग बिस्तार हुन पाउँदैन ।

डा. अरुणा उप्रेती महिला स्वास्थ एवं पोषणविज्ञ हुन् । उनी उपचार त गर्छिन् नै सँगसँगै आफूले पाएको ज्ञान लेखेर, बोलेर बाँडिरहेकी हुन्छिन् । उनी जाडो लाग्दा जाडोसम्बन्धी र गर्मी हुँदा गर्मीसम्बन्धी खानपीनसम्बन्धी चर्चा गरिरहेकी हुन्छिन् । बजारमा पाइने तयारी खानाको विपक्ष र घरेलु खाद्यान्नको पक्षमा बोलिरहेकी हुन्छिन् । दशैंमा मासुसम्बन्धी, तिहारमा सेलसम्बन्धी र माघे संक्रान्तीमा तरुलसम्बन्धी लेख लेखिरहेकी हुन्छिन् ।

स्वास्थका विषयमा मात्र होइन, राजनीति र सामाजिक मुद्दामा पनि डा. उप्रेतीको सक्रिय सहभागिता रहने गरेको छ । २०४६ साल र २०६१-०६२ को जनआन्दोलनमा उनी अघिल्लो पंतिमा थिइन् । आफूमा साहित्यिक र राजनीतिक चेतना जगाउनमा पारिजातको भूमिका रहेको उनी बताउँछिन् । साहित्यकार पारिजात बिरामी हुन थालेपछि उनको उपचारमा अरुणा उप्रेती खटिएकी थिइन् । त्यसक्रममा बिरामी र चिकित्सकको सम्बन्ध साथीको रुपमा बिकास भयो । पारिजातको संगतमा परेपछि गम्भीर साहित्य र पत्रपत्रिकामा आफ्नो रुचि बसेको डा. उप्रेती बताउँछिन् ।

जुनसुकै विषयमा पनि प्रतिक्रिया जनाउने, गाली गलौजमा उत्रिने संस्कारको उनी बिरोधी हुन् । उनका अनुसार, अध्ययनको कमी र आफ्नो भूमिका नबुझ्दा यस्तो प्रवृत्तिको बिकास हुन्छ । पुस्तकले मानिसलाई आफ्नो कर्त्व्य महसुस गराउने उनी बताउँछिन् ।

काठमाडौंकी रैथाने अरुणाका पिताजी चन्द्रधर उप्रेती कानुन विज्ञ थिए । नेपालमा कानुन क्याम्पस खोल्न मुख्य भूमिका खेल्नेहरुमध्येका एक थिए, चन्द्रधर ।

डा. उप्रेतीका श्रीमान् विश्वबन्धु शर्मा प्रसिद्व मनोचिकित्सक हुन् । उनीहरुका दुई छोरीमध्ये एक जना मनोचिकित्सक र एकजना अधिवक्ता छन् । डा. अरुणा उप्रेतीसँग पठन संस्कृतिबारे गरिएको कुराकानीको सम्पादित अंश ।

धेरैजसो व्यवसासिक व्यक्तिहरु लेख्ने र सार्बजनिक रुपमा बोल्ने गर्दैनन् । तपाईंचाहिँ यस्ता कुरामा अगाडि हुनुहुन्छ, किन होला ?

आफूले पाएको ज्ञान बाँड्नु पर्छ भन्ने मेरो मान्यता छ । हरेक पेसामा जान्नु पर्ने धेरै कुरा छन्, ती कुरा बाहिर आउनु पर्छ । पत्रकार सुधिर शर्माले ‘प्रयोगशाला’ र हरिबहादुर थापाले ‘रजगज’ पुस्तक लेख्नु भयो । हामीले पत्रिकामा नआएका धेरै कुरा जान्न पायौं । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले ‘न्याय’ लेख्नुभयो । हामीले न्यायालयभित्रका धेरै कुरा थाहा पायौं । ब्यवसायी, पूर्व सेना प्रमुख, पूर्व प्रहरी प्रमुखहरु ज-जसले आफ्ना अनुभवहरु बाहिर ल्याउनु भयो, हामीले धेरै कुरा थाहा पायौं ।

पठन संस्कृति बढाउन सबै किसिमका पुस्तक आउनु पर्छ । आफूलाई ठूलो देखाउन होइन, पाठकलाई यथार्थ जानकारी दिन यस्ता पुस्तकहरु आउनु जरुरी छ । राष्ट्रिय सुरक्षामा आघात पर्ने, मृत्यु भैसकेका व्यक्तिहरुको मानमर्दन गर्ने बाहेक अरु सबै किसिमको पुस्तक लेखिनु पर्छ ।

विश्वप्रशिद्ध नेताहरुले पदबाट बाहिर आएपछि आफ्ना अनुभवहरु लेखेर सार्बजनिक गर्ने गरेका छन् । यो नेपालमा पनि सुरु भएको छ । देशलाई उभो लगाउन यस्ता पुस्तकहरु उपयोगी हुन्छन् ।

जुनसुकै पेसा-ब्यवसायमा रहेका मानिससँग खास किसिमको ज्ञान हुन्छ, तर नेपालमा त्यो ज्ञान बाँड्ने चलन छैन । यसको कारणमा के देख्नुहुन्छ ?

विकासको अर्थ भौतिक पूर्वाधार मात्र होइन, ज्ञानको विकास पनि हो । विदेशतिर विभिन्न पेशाका मानिसहरु आफ्नो अनुभव, ज्ञान र विचार अरुलाई बाँड्न चाहन्छन् । सबैले लेख्न सक्छन् भन्ने कुरा होइन किनभने लेख्नु भनेको गाह्रो कुरा हो । बानी नभएसम्म लेख्ने कुरा सहजै हुँदैन । लेखेपछि सम्पादन गर्ने मान्छेको सहयोगले पनि ठूलो भूमिका खलेको हुन्छ । विदेशतिर लेख्न जान्नेलाई शुल्क तिरेर लेखाउने र आफ्नो कुरा बाहिर ल्याउने चलन छ । त्यसैले त्यहाँ सबै किसिमका पुस्तक पढ्न पाइन्छ । नेपालमा पनि घोस्ट राइटिङ्को चलन सुरु हुँदैछ । कतिपयले त्यो चलनको पनि बिरोध गरेका छन् । यहि कारण हामी पछि छौं ।

बजारमा आएका ठूला ब्राण्डका तयारी खाद्य पदार्थ विरुद्व एक्लै लडिरहनु भएको छ । कतिपयले चिकित्सकले आफ्नो काम छाडेको भन्ने आरोप पनि लगाउँछन् । त्यत्रो ठूलो संयन्त्रसँग लड्न खतरा छैन ?

म चिकित्सकीय अनुभवका आधारमा लेख्ने गर्छु । बजारमा खाद्य बस्तुका रुपमा अखाद्य र कम पौष्टिक तत्व बजारमा ल्याउँदा दुःख लाग्छ र बिरोध गर्छु । भारतमा म्यागी चाउचाउमा अखाद्य वस्तु मिसिएको समाचार आउँदा मैले नेपालमा पनि त्यस्तै हुन सक्छ भनेर लेखेँ, बोले । कसैले कतै उजुरी गरेको वा मैले लेखेको विरुद्ध अदालत गएको छैन । कतैबाट ‘थ्रेट’ आएको पनि छैन । त्यसको डर पनि छैन । किनभने म आफूले नजानेको कुरा लेख्दिनँ ।

तपाईंका लेख, अन्तरवार्ता र पुस्तकले कति मानिस सचेत भए होलान् ?

थुप्रै मानिसले तपाईंको लेख पढेर हामीहरूले बाहिरका खाद्य सामग्रीहरु खान कम गरेका छौं भनेका छन् । कतिपय अभिभावकले आफ्ना बच्चालाई सकेसम्म स्वस्थ खाना दिन्छौं भन्न थालेका छन् । अहिले कर्णालीको कोदो, फापर, सिमी, गाउँको सिस्नो आदि काठमाडौं लगायतका ठूला शहरहरुमा मनग्गे बिक्री हुन थालेको छ । त्यसमा मेरो लेखनको पनि केही योगदान छ भन्ने लाग्छ ।

तपाईंले गलत भनेर लगातार लेखिरहेका ब्रान्डहरुले अझै नाफा कमाइरहेका छन् । यसको अर्थ लेखेर धेरै परिवर्तन हुँदैन भन्ने भएन र ?

नाफा त चुरोट, रक्सी व्यापारीले पनि गर्छन् । त्यसो भन्दैमा सचेत व्यक्तिहरुले ती वस्तु विरुद्ध लेख्न, बोल्न छाड्दैनन् । अर्को कुरा मैले आफ्नो कर्त्व्य गरिरहेकी छु । म गीता पढेर हुर्किएकी हुँ, आफ्नो कर्त्व्य गर्नुपर्छ भन्ने मान्यतामा अडिग छु । लेखेकै भरमा सबै परिवर्तन हुन्छ भन्नेमा म छैन । तर, अरुणाले लेेखेको कुरा गलत होइन भन्ने कुरा व्यवसायीहरुलाई पनि थाहा छ । पढ्ने मानिसमा परिवर्तन भएको पनि देखेकी छु ।

चिकित्सक पेसामा भए पनि पढ्ने संस्कारको विकास कसरी आयो ?

सानैदेखि बुवाले बालसाहित्य पढ्न हौसला दिनुहुन्थ्यो । बालकथा पढेर त्यसबारे लेख्न लगाउनुहुन्थ्यो । त्यसरी पढ्ने, लेख्ने बानी बस्दै गयो । रुसमा चिकित्साशास्त्र पढ्दादेखि ब्यागमा पुस्तक बोकेर हिँड्ने बानी बसाएँ । कुनै कार्यक्रममा जँादा कार्यक्रम सुरु हुनुअघि र यात्रामा पनि पुस्तक पढिरहेको हुन्छु ।

धेरैजसो ‘प्रोफेसनल’हरु प्ाढ्नु राम्रो बानी हो तर हामीसँग समय हुँदैन भन्छन् । नपढ्नुको कारण समय अभाव मात्र हो त ?

पुस्तकको महत्व नबुझेकाहरु त्यसो भन्छन् । अमेरिकी राष्ट्रपति जति व्यस्त को होला ? उनको एक-एक मिनेट बाँडिएको हुन्छ । त्यस्ता व्यक्तिले पनि दैनिक एक घन्टा पढ्न छुट्याएका हुन्छन् । विश्वका धनाढ्यहरुले पनि पढ्न समय छुट्याएका हुन्छन् । पुस्तक पढ्न छाड्नेको बाहिर प्रगति त देखिएला, तर भित्र उसको प्रगति रोकिन्छ । यो सत्य हो ।

नेपाली पुस्तक स्तरीय छैनन् भन्नेहरु पनि छन् । यसमा के भन्नुहुन्छ ?

कसैले नेपाली पुस्तक स्तरीय छैनन् भन्छ भने बुझ्नुस्, उसले पढेकै छैन । संसारमा सबै पुस्तक स्तरीय हुँदैनन् । कमसल भनिएका पुस्तकमा पनि लेखकले जीवनभरीको ज्ञान पस्केको हुन्छ ।

पठन संस्कृति बढाउन के गर्दै हुनुहुन्छ ?

बेला-बेलामा पुस्तकहरु संकलन गरेर पहाडका गाउँतिर पस्छु र विद्यालयहरुमा बाँड्छु । पोहोर २४ वटा विद्यालयमा बाँडे । काठमाडौंका विद्यालय वा कलेजहरुमा अथितिका रुपमा पढाउन बोलाइँदा त्यहाँ पनि म पुस्तक लिएर जान्छु । जसरी गाँस, बास र कपास जरुरी छ, मानिस बौद्धिक प्राणी भएकाले उसलाई पढ्न जरुरी छ भन्छु ।

तपाईंमा साहित्यकार पारिजातको प्रभावबाट जुझारु चेतको विकास भएको मान्नुहुन्छ ?

२०४३ सालमा डाक्टर भएर काम सुरु गर्दा पारिजात प्रसिद्ध लेखिका हुनुहुन्थ्यो । मदन पुरस्कार पाउने पहिलो महिला भनेपछि त्यसैपनि ठूलो मान्छे भन्ने लाग्थ्यो । उहाँलाई भेट्न जाँदा पनि ‘नर्भस’ थिएँ । उहाँकी बहिनी सुकन्याले पारीजातको कोठामा लैजाँदा उहाँले स्नेहपूर्वक हात समातेर, आफू नजिक राखेर कुरा गर्न थालेपछि यति सहज भयो कि आफैंलाई अचम्म लाग्यो । त्यसरी पहिलो दिनबाटै सुरु भएको त्यो मित्रताले मेरो जीवनमा धेरै सकारात्मक प्रभाव पार्‍यो । मेरो साहित्यिक झुकावमा त्यो सम्बन्धले प्रभाव पार्‍यो नै । त्यसरी म पारिजातबाट प्रभावित भएको कुरा सत्य हो । पारिजातले गम्भीर किसिमका पुस्तकहरु पढ्ने बानी बसाइदिनुभयो, लेख्न हौसला दिनुभयो ।

पारिजातसँगको सम्बन्धपछि आफूमा आएको परिवर्तन सम्झनु हुन्छ ?

उहाँसँग मेरो साहित्यिक र गैर-साहित्यिक दुवै किसिमको सम्बन्ध रहृयो । चिनजान र घनिष्ठ हुँदा उहाँ उमेरमा पनि मभन्दा धेरै परिपक्व र राष्ट्रिय व्यक्तित्व हुनुहुन्थ्यो । उहाँ शारीरिक कमजोरीको बाबजुद पनि समाजको हितमा लडिरहेको हुँदा मलाई धेरै प्रेरणा मिल्यो ।

२०४६ सालको आन्दोलनमा उहाँले लेखेर, बोलेर, विभिन्न कार्यक्रममा उपस्थित भएर दिएको हौसला अझै ताजा छ । त्यो बेला मैले लेखेको छापिएपछि उहाँले हौसला बढाइदिनुहुन्थ्यो । त्यसले मलाई लागेको कुरा नडराई लेख्न सक्ने बनायो ।

पारिजातले पढेका राम्रा किताबबारे मलाई भन्नु हुन्थ्यो । आफैसँग भए दिनुहुन्थ्यो । पढ्ने बानी त पहिल्यैदेखि थियो तर गम्भिर खालका किताब पढ्न थालेको उहाँकै कारणले हो ।

तपाईंले पनि सिर्जनात्मक सहयोग गरेको कुरा पारिजातले उल्लेख गर्नुभएको छ । उहाँलाई कसरी सहयोग गर्नुहुन्थ्यो ?

ठूला मानिसहरुको एउटा विशेषता के भने उनीहरु अरुका साना कुरालाई पनि महत्व दिन्छन् । पारिजातले साह्रै ठूलो हृदयले त्यसो भन्नुभयो । तर, व्यक्तिगत रुपले उहाँलाई त्यसरी सहयोग गर्ने योग्यता मसँग थियो जस्तो लाग्दैन ।

तपाईं दैनिक सरदर कति घन्टा पढ्नु हुन्छ, अरु पाठकलाई पढ्दा के कुरामा ध्यान दिनुपर्छ भन्ने सुझाउनुहुन्छ ?

म पत्रपत्रिका र कुनै न कुनै किताब पढि नै रहेको हुन्छु । विभिन्न विषयमा लेखि पनि रहन्छु । लेखनका विभिन्न स्रोत किताबहरु पढ्नु पर्ने हुन्छ । त्यस्ता किताबहरु किनिरहन्छु । पुस्तकालयबाट ल्याउँछु र कति जनासँग मागेर पनि पढ्र्छु ।

हरेकको पढ्ने रुचि फरक हुन्छ । कोही पढ्न भन्दा घुम्न रुचाउँछन् । त्यो पनि एक प्रकारको पढाइ नै हो । पाठकले के कुरामा ध्यान दिनु पर्छ भन्ने कुरा सिकाउने योग्यताचाँहि मसँग छैन । तर पढ्दा जीवनमा आइपरेका समस्या हल गर्न मद्दत गर्छ भन्न सक्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment