Comments Add Comment

मोबाइल एप र गेममा वार्षिक ७१ अर्ब डलर खर्च, एप्पल र गुगलले कति कमाए ?

वर्षौँ देखिएको एउटा ट्रेण्ड के छ भने एन्ड्रोइड प्रयोगकर्ताले गुगल प्ले स्टोरमा गर्ने खर्च भन्दा एप्पल आइओएस प्रयोगकर्ताले एप स्टोरमा बढि खर्च गर्दै आएका छन् ।

गत वर्ष सन् २०१८ मा पनि एप्पलको त्यो अग्रता कायमै रह्यो । हालै सार्वजनिक भएको एक रिपोर्ट अनुसार एप स्टोरबाट एप्पलले आम्दानी गरेको रकम गुगल प्ले स्टोरबाट गुगलले आम्दानी गरेको भन्दा बढि छ ।

तर गुगलका लागि सुखद कुरा के छ भने एपहरुबाट गुगल प्ले स्टोरले गर्ने आम्दानीको वृद्धि दर एप्पलको एप स्टोरको वृद्धिदर भन्दा बढि छ ।

सन् २०१८ मा गुगल प्ले स्टोरले २४ अर्ब ८० करोड आम्दानी गरेको छ । जबकी एप्पलको एप स्टोरले त्यसको झण्डै दोब्बर अर्थात् ४६ अर्ब ६० करोड आम्दानी गर्न सफल भएको छ ।

अर्कोतर्फ एन्ड्रोइड एप मार्केटमा सन् २०१७ मा भन्दा २७.३ प्रतिशतले वृद्धि भएको छ । प्ले स्टोरले सन् २०१७ मा साढे १९ अर्ब डलर मात्र कमाई गरेको थियो । उता एप स्टोरको आम्दानीको वार्षिक वृद्धिदर भने गुगलको भन्दा केही कम अर्थात् २०।४ प्रतिशत रहेको छ ।

यद्यपि सन् २०१८ मा गुगल प्ले स्टोर र एप्पल एप स्टोर दुबैको आम्दानीको वृद्धिदर सन् २०१७ को भन्दा कम भएको हो । सन् २०१७ मा यस्तो वृद्धिदर दुबै कम्पनीको समान अर्थात् ३४ प्रतिशत थियो ।

एउटा महत्वपूर्ण तथ्य के भने गुगल प्ले स्टोरको उक्त आम्दानीको विवरणमा विश्वको सबैभन्दा ठूलो एप मार्केट चीन भने समावेश छैन । किनकी चीनमा गुगलका सेवाहरु प्रतिबन्धित छन् । अर्कोतर्फ एप्पलको एपस्टोर तथा अन्य सेवाहरु चाहीँ चीनमा खुल्ला छन् ।

रिपोर्ट अनुसार गुगल प्ले स्टोरमा सबैभन्दा धेरै कमाई गर्ने एप टिन्डर बनेको छ । त्यस्तै प्यान्डोरा, गुगल ड्राइभ तथा गुगल वन पनि धेरै कमाई गर्ने एपमा परेका छन् । लिनेज एम, पोकेमोन गो, क्लास रोयल, क्लास वा क्लान्स, क्यान्डी क्रस सागा जस्ता गेमहरु पनि गुगलका लागि धेरै आम्दानी गरिदिने एप बनेका छन् ।

तथ्यांक अनुसार सन् २०१८ मा मोबाइल प्रयोगकर्ताहरुले एप र गेममै ७१ अर्ब ३० करोड डलर खर्च गरेका छन् । जबकी सन् २०१७ मा एप तथा गेमहरुमा मोबाइल प्रयोगकर्ताले ५८ अर्ब १० करोड खर्च गरेका थिए । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment