Comments Add Comment

सहिद परिवारलाई प्रदेश सरकारको उपहारः परिवारका एक सदस्यलाई जागिर

५ माघ, सप्तरी । मधेस आन्दोलनका क्रममा ज्यान गुमाएकाको परिवारलाई सरकारले रोजगारी दिएको छ । ‘बलिदान दिवस’को अवसर पारेर प्रदेश २ सरकारले ४६ सहिद परिवारलाई नियुक्तिको डेमो प्रदान गरेको छ ।

शनिबार सिरहाको लहानमा आयोजित कार्यक्रममा केन्द्र सरकारका उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव, प्रदेश २ का मुख्यमन्त्री लालबहादुर राउतसहित प्रदेशका मन्त्रीहरुले शहीद परिवारलाई नियुक्तिको डेमो बितरण गरे ।

डेमो पाएको एक साताभित्र प्रदेश मन्त्रालयमा सम्पर्क गर्नुपर्नेछ । त्यसपछि नियुक्ति पत्र प्रदान गरिने मुख्यमन्त्रीका प्रेस सल्लाहकार आतिश मिश्रले बताए । मिश्रका अनुसार प्रदेशभित्र ५८ जना शहीद परिवारको तथ्यांक संकलन गरिएको छ । जसमध्ये ३ जनाको घरमा रोजगारी लिन चाहने कोहि छैनन् ।

सप्तरीको राजविराज ७ का शहीद दिलिप कुमार साहको परिवारमा, सप्तरीकै हनुमाननगर कंकालनी नगरपालिका ३ पोर्ताहाका शहीद रामकृष्ण राउतको परिवारमा र महोत्तरीको बर्दिवास नपा ८ का शहीद रामशिला मण्डलको परिवारमा जागिर गर्ने कोहि नभएको प्रदेश सरकारले जनाएको छ ।

४६ जना शहीदका परिवारलाई करारमा नियुक्ति दिने तयारी प्रदेश सरकारको छ । बितरण गरिएको डेमो पत्रमा शहीद परिवारको नाम उल्लेख गरेर ‘प्रदेश सरकारको तर्फबाट शहीद परिवारलाई एक परिवार एक रोजगारी कार्यक्रम संचालन गर्न लागेको सन्दर्भमा मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा सम्पर्क गर्नहुन आदेशानुसार अनुरोध छ’ भनी उल्लेख गरिएको छ ।

जागिर पाउने शहीद परिवारमा सप्तरीका ९ जना, सर्लाहीका ७ जना, रौतहट, धनुषाका ६/६ जना, पर्साका ५ जना, महोत्तरीका ३ जना र वाराका ४ जना छन् ।

निर्वाचित हुनेलाई दिइएन

मधेस आन्दोलनपछि भएको चुनावमा निर्वाचित भएका शहीद परिवारलाई पनि प्रदेश सरकारले जागिर दिने छैन । सर्लाहीको बरहथवा नपा १७ का शहीद रामएकवाल राय यादवको पत्नी २०६४ सालमा सांसद बनेको, बीरगंज १६ का सोहन प्रसाद गुप्ताकी पत्नी वडा सदस्यमा निर्वाचित भएको, पर्साकै पकहा मैनपुरका शत्रुद्यन पटेलकी आमा उपमेयरमा निर्वाचित भएको, महोत्तरीको जलेश्वर ८ का गणेश प्रसाद चौधरीकी बुहारी तथा रोहन प्रसाद चौधरीकी आमा प्रदेश सभा सदस्यमा निर्वाचित भएको प्रदेश सरकारले जनाएको छ ।

९७ जनालाई राहत

मधेश आन्दोलनका क्रममा घाइते भएका प्रदेशभित्रका ९७ जनालाई राहत समेत प्रदान गरिएको छ ।

प्रदेश सरकारले ९७ जना घाइतेलाई राहत स्वरुप रकम प्रदान गरेको हो । अवस्था हेरेर रु ५० हजारदेखि रु ३ लाखसम्मको चेक कार्यक्रममा बितरण गरियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment