Comments Add Comment

कविताःउनीहरुले डा गोविन्द केसीलाई मार्नेछन्

ज्यानमाराहरु हुन् उनीहरु

उनीहरुले सके भने

डा. गोविन्द केसीलाई मारेरै छाड्नेछन्

ज्यानमाराहरुले दिनदिनै उनलाई मार्नेछन्

उनीसंगै दिनदिनै हामीलाई मार्नेछन्

दिनदिनै उनलाई मार्नेछन्

र एक दिन

उनलाई सधैंका लागि मार्नेछन्

एउटा आस्थालाई मार्नेछन्

उज्यालोलाई मार्नेछन्

शिकार ढुकेर बसीरहेछन् गिद्धहरु

मौका पाउनसाथ मार्नेछन्

 

डा. गोविन्द केसीलाई मारेर उनीहरु

शहरको नामी भट्टीमा छिर्नेछन्

डा. केसीलाई सम्झँदै उनीहरु

कुखुरका फिला मगाउनेछन्

बुंगुरका साँप्रा मगाउनेछन्

कलेजो, जिब्रो र गिदी मगाउनेछन्

सके सम्म रातो रक्सी मगाउनेछन्

अनी उनीहरु-

डा गोविन्द केसीको मासु खानेछन्

फिला उधार्नेछन्

साँप्रा चपाउनेछन्

भुटेर खानेछन्

पोलेर खानेछन्

साँधेर खानेछन्

कलेजो, गिदी, जिब्रो सब निल्नेछन्

र डा गोविन्द के सी को रगत पिउनेछन्

 

भोलिपल्ट शोकसभामा

उनीहरुको रुवाइ सबैभन्दा चर्को हुनेछ

उनीहरुले ल्याएको माला सबैभन्दा गह्रौं हुनेछ

उनीहरुको शोक मन्तब्य सबैभन्दा लामो हुनेछ

उनीहरुले छपाएको समवेदना सबैभन्दा ठूलो हुनेछ

 

उनीहरुले

डा गोविन्द केसीको भव्य शालिक बनाउनेछन्

सडक, चोक र गल्लीलाई उनको नाम दिनेछन्

उनको नाममा पुरष्कार दिनेछन्

उनको नाममा छात्रवृत्ति बाँड्नेछन्

उनको नाममा विदेश घुम्नेछन्

उनको नाममा पाँचतारे अस्पताल खोल्नेछन्

र त्यसमा ‘गरीबलाई प्रवेश निषेध!’ टाँस्नेछन्

ज्यानमाराहरुले सके भने

डा गोविन्द केसीलाई मारेरै छाड्नेछन्

ज्यानमाराहरुले दिनदिनै उनलाई मार्नेछन्

उनी संगै दिनदिनै हामीलाई मार्नेछन्

दिन-दिनै उनलाई मार्नेछन्

र एक दिन

उनलाई सधैंका लागि मार्नेछन्

हामीलाई सधैंका लागि मार्नेछन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment