Comments Add Comment

माग राख्ने प्रचण्ड, पूरा गर्ने बचन दिने प्रधानमन्त्री ओली

५ माघ, चितवन । प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष हुन् । पार्टीका एकतादेखि सरकारको कामकारबाहीबारे दुई नेताबीच अनेकौं छलफल हुन्छ, जुन स्वभाविक पनि हो ।

तर, शुक्रबार ओली र प्रचण्ड प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेट्दा फरक दृश्य देखियो ।

यो भेटमा माडी नगरपालिका जनप्रतिनिधीसहित अगुवा नेताहरु पनि थिए, जसलाई प्रधानमन्त्री ओलीसँग भेटाउने चाँजोपाँजो चितवन क्षेत्र नम्बर ३ का सांसद प्रचण्डले मिलाएका थिए ।

भेटमा माडीका जनप्रतिनिधीले समस्याका पोकाहरु फुकाए । सदरमुकाम भरतपुरमा आफन्त भेट्न जाँदा मासु पकाएर लैजान समेत निकुञ्जले नदिने गुनासो स्थानीय नेताले गरे । निकुञ्जबाट पाएको अनावश्यक हैरानी र दुःख तथा बच्चालाई झोलुङ्गोसमेत लैजान नदिएको दुःखेसो गरे ।

माडी नगरपालिकाका मेयर ठाकुर ढकालले माडीको समस्या समाधानका लागि कुनै पहल नगरे अनसन बस्ने चेतावनी दिए । टोलीको नेतृत्व गरेका प्रचण्डले माडीका समस्या समाधान नभए जनतासँग मिलेर आन्दोलन गर्ने चेतावनी दिए ।

जवाफमा प्रधानमन्त्री ओलीले तत्काल अनसन नबस्न आग्रह गरे । आफू तत्काल स्वीजरल्याण्ड भ्रमणमा जानुपर्ने भन्दै उनले केही समय पर्खिन आग्रह गरे । मन्त्रिपरिषद्बाट हुने निर्णयहरु आगामी बैंठकबाट गर्ने र सम्बन्धित मन्त्रालय र विभागसँग छलफल गरी निकुञ्ज ऐन संशोधन प्रस्ताव लैजाने बचन दिए ।

केके छन् माडीका समस्या ?

माडीका वासिन्दाहरु कतिपय भरतपुरतर्फ सिफ्ट भएका छन् । कतिपय पढाई वा रोजगारीका लागि भरतपुरमै बस्छन् । माडीमा अझै पनि खेतबारी भएका र त्यहाँबाट उत्पादन भएका वस्तुहरु भरतपुरमा ल्याएर उपभोग गर्नेहरु पनि छन् ।

तर, माडीमा मासु भरतपुर ल्याउन निकुञ्ज ऐनले दिँदैन । काठका फर्निचर ल्याउन पनि रोक लगाउने गरिन्छ । बाँदरझुला वस्तीमा गाडी लैजान रोक लगाइएको छ । केही समयअघि निकुञ्ज विभागसँग वैकल्पिक व्यवस्था नभएसम्म जान दिने सहमति भएपनि कार्यान्वयनमा आएन । निकुञ्ज ऐनमा रहेका कतिपय प्रावधानका कारण माडीवासीलाई समस्या दिएको छ ।

यस्ता समस्याबारे पटकपटक नेतृत्वलाई ध्यानाकर्षण गराउँदा पनि समाधान नभएको भन्दै माडीका मेयर ठाकुर ढकालले माघ १६ बाट अनसन बस्ने बताएका थिए ।

तर, प्रधानमन्त्रीले समस्याको समाधान गर्ने आश्वासन दिएका कारण तत्काल अनसन स्थगीत गरेको जानकारी उनले दिएका छन् । ‘माडीको विकासका लागि मेरो यो अन्तिम लडाइँ हो । म मेरो लडाइँ जितेर छोड्छु भरतपुरमा पत्रकार सम्मेलन गरी उनले भने, ‘प्रधानमन्त्रीज्यूबाट माडीको समस्याहरु समाधान नभए माडीवासीकै नेतृत्व गर्दै आमरण अनसन बस्नेछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment