Comments Add Comment

निर्मात्रीलाई किन हेप्छन् पुरुष निर्देशक ?

चलचित्र ‘पलास’को रिलिजका लागि निर्मात्री कृषा चौलागाइलाई चटारो थियो । चलचित्रको छायांकन पश्चात निर्देशक सुवास कोइरालाले यो चलचित्रको काम छाडिदिएका थिए । चलचित्रलाई निर्देशकले नै छाडेपछि निर्मात्रीलाई तनाव हुने नै भयो । एकातिर, चलचित्रको प्रचारमा दौडनुपर्ने, अर्कोतिर, चलचित्रको प्राविधिक काम पनि गर्नुपर्ने । फेरि, निर्देशकले जुन सोचका साथ चलचित्र अगाडि बढाएका थिए, त्यसलाई एउटी निर्मात्रीले पुरा गर्न सहज थिएन । तर, कृषाले चलचित्र रिलिज गरेरै छाडिन् । भलै, चलचित्रले राम्रो व्यापार गरेन । तर, हलसम्म नै आउँदैनकी भनेको चलचित्र रिलिज भयो ।

सो समयमा चलचित्रकी नायिका रेखा थापाले भनेकी थिइन्–‘एउटा पुरुष निर्देशकले महिला निर्मात्रीलाई जे गरिदिए पनि हुन्छ भनेर सोचेका छन् । यो चलचित्रको निर्देशक नै कृषा हुन् । चलचित्रलाई विचमै छाडेर हिड्ने निर्देशकलाई म भएको भए के गर्थेँ, मलाई नै थाहा छ ।’ कृषा चौलागाई खासै आक्रोशित देखिइनन्, तर रेखा थापा सुवासँग आक्रोशित थिइन् । किनकी, कृषाको चलचित्र सुवासले विचमै छाडिदिएका थिए ।

अहिले अर्की एक निर्मात्रीलाई पनि यस्तै भएको छ । चलचित्रको करिब आधा प्रतिशत काम सकिएपछि निर्देशक जनक पाण्डे ‘प्रेमलीला’को कामबाट गायब भए । चलचित्रको बाँकी काम यसकी निर्मात्री तथा नायिका दीपशिखा खड्काले पुरा गरिन् । चलचित्र रिलिजका लागि तयार भएको छ । दीपशिखाले पत्रकार सम्मेलनमा भनिन्–‘मैले निर्देशकलाई लात्तो हानेर निकालिदिएको हुँ । चलचित्रमा म आफैले आफ्नो नाम निर्देशकको रुपमा राख्न सक्थेँ । तर, मैले त्यसो गरिनँ ।’

निर्देशक पाण्डे अहिले सम्पर्कमा नै छैनन् । फागूण १० गतेबाट रिलिज हुन लागेको चलचित्रप्रति जनकले देखाएको अव्यवसायिक शैलीको आलोचना जति गरेपनि सकिदैन । निर्देशकले विचमै चलचित्र छाडेर दुःख दिएको अर्को चलचित्र हो, ‘कही कतै’ । यो चलचित्रलाई उमा बेबीले निर्माण गरेकी हुन् भने सविर श्रेष्ठले निर्देशन गरेका हुन् । तर, चलचित्रको रिलिज अगावै निर्देशक श्रेष्ठले आफ्नै लगानीमा बनाएको चलचित्र ‘बाँध मायाले’का कारण यसलाई वास्ता गरेनन् । चलचित्रका हरेक पत्रकार सम्मेलनमा उमाले सविरलाई गाली गर्न र उनीप्रति आक्रोश पोख्न छाडिनन् ।

सविरले चलचित्रको प्रचारमा पनि कुनै साथ दिएनन् । उमाले आफ्नै बलमा चलचित्र रिलिज गरिन्, तर चलचित्र चलेन । चलचित्र क्षेत्रमा यस्ता खालका उदाहरण खुबै भेटिन्छन् । अझ, विशेषगरि महिला निर्मात्रीमाथि निर्देशकको मनलाग्दी धेरै देखिएको छ । महिला निर्मात्रीमाथि निर्देशकको हेपाहा शैली कहिले सम्म ? प्रश्न उठाउन सकिन्छ ।

एउटा निर्देशकको काम चलचित्रलाई हलमा नल्याइन्जेलसम्म पुरा हुँदैन । तर, निर्मात्रीको चलचित्रमा निर्देशकको बारम्बारको हेपाँहा प्रवृत्तीको बारेमा चलचित्र क्षेत्रले सोच्नै पर्ने बेला आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment