Comments Add Comment

मेलम्चीमा सीएमसी नफर्किने निश्चित, ठेक्का तोड्दै सरकार

६ माघ, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाबारे छलफल गर्न इटालियन ठेकेदार कम्पनी सीएमसी नआएपछि सरकारले ठेक्का तोड्ने तयारी गरेको छ ।

खानेपानी मन्त्रालयको उच्च स्रोतका अनुसार आइतबार नै सीएमसीलाई ठेक्का तोडेको जानकारीसहित (टर्मिनेसन लेटर) लेख्ने तयारी भइरहेको छ ।

सीएमसी वित्तीय संकटमा फसेपछि उसका कर्मचारीहरु काम छोडेर हिँडेका थिए । तर, नेपाल सरकारले प्रहरीको सहयोगमा ८ जनालाई पक्राउ गर्‍यो । लगत्तै नयाँ वर्ष मनाएर फर्किने भन्दै सबै इटालियन दूतावासको जिम्मामा विदेश उडेका थिए ।

सीएमसीले आयोजना अघि बढाउनेबारे छलफल गर्न प्रमुख कार्यकारी अधिकृत (सीईओ) पाउओ पोर्सेली नेतृत्वको टोली पठाउने बचन पनि दिएको थियो । तर, अझै आएका छैनन् । पटक–पटक आग्रह गर्दा पनि सीएमसी  फर्किने नदेखिएपछि सरकारले एकतर्फी रुपमा ठेक्का रद्ध गरेर धरौटी जफत गर्न लागेको हो ।

हाल मेलम्ची आयोजनामा पूर्ण रुपमा काम ठप्प छ । अब सीएमसी नफर्किने लगभग निश्चित भएको खानेपानी मन्त्रालयका एक उच्च अधिकारीले बताए ।

यो बीचमा सीएमसीले काममा फर्कनुको साटो सरकारले भुक्तानी गर्न बाँकी रकम र भेरिएसनबापत थप दावी गरिएको रकम दिनुपर्ने शर्त अघि सारेको थियो । उसले शर्तहरु थप्दै आयोजनामा नफर्किने संकेत यसअघि नै गरेको थियो ।

सीएमसीका नेपाली ठेकेदारहरु पनि सबै रकम भुक्तानी नभएसम्म काममा नफर्किने अडानमा छन् । अब यो अवस्थामा ठेक्का तोडे नयाँ ठेक्का गर्नुपर्ने अवस्था आउनेछ ।

मलेम्चीको पानी काठमाडौंमा ल्याउने गरी सुरुङमार्गको काम अन्तिम चरणमा पुगेको अवस्थामा काम गर्न पैसा नभएको भन्दै ठेकेदार कम्पनीले साइट छाडेको थियो । सरकारले धरौटी रकम रोक्का गरेपछि सीएमसी अदालत पुगे पनि अदालतबाट सरकारलाई धारैटी जफत गर्न बाटो खुलिसकेको छ ।

सीएमसीले तनहुँ जलविद्युत आयोजनामा पनि ठेक्का पाएको छ । मेलम्चीकै ठेक्का अपुरो छोडेर कम्पनी हिँडे पनि तनहुँ हाइड्रोपावर कम्पनी पनि अन्योलमा फसेको छ । सोलु हाइड्रो भने सीएमसीसँग ठेक्का तोडिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment