Comments Add Comment

बच्चा हुर्काउने कलाः के हो बच्चाको रुची, खुवी र लक्ष्य ?

हामीले बर्षौंदेखि घोक्दै आयौं, ‘बालबालिका भनेका काँचो माटो हुन्, उनीहरुलाई जस्तो पनि स्वरुपमा ढाल्न सकिन्छ ।’

बालबालिका काँचो माटो हुन् । यो सही हो । तर गलत के भइरहेको छ भने, बालबालिकालाई हामी आफ्नो आवश्यक्ता र रुची अनुसार बदल्ने प्रयास गर्छौं । काँचो माटोलाई हामी आफ्नो रुची अनुसार आकृति दिने होइन, बरु त्यसको प्रकृति बुझ्नुपर्छ । किनभने हरेक बच्चाको जन्मजात प्रवृत्ति, स्वभाव हुन्छ । उनीहरुको रुची र चाहाना एकै हुँदैन । उनीहरुको खुवी र दक्षता एकै हुँदैन । हरेक बच्चा फरक हुन्छन् ।

तर, हामी अभिभावकहरु भन्छौं, ‘फलाना बच्चा यस्तो छ, फलनाको छोराछोरी यस्ता छन् ।’ अरुसँग तुलना गरेर हामी आफ्ना छोराछोरीलाई त्यस्तै बनाउने प्रयात्न गर्छौं । अझ गल्ती त के भइरहेको छ भने, बच्चामाथि हामी आफ्ना रुची र आकंक्षा लाद्ने गर्छौं ।

हामीलाई आफ्नो बच्चा डाक्टर भएको हेर्न मन पर्छ, हामीलाई आफ्नो बच्चा पाइलट भएको हेर्न मनपर्छ, हामीलाई आफ्नो बच्चा धनाड्य उद्योगपति भएको हेर्न मन पर्छ, हामीलाई आफ्नो बच्चा उच्च ओहोदाको कर्मचारी भएको हेर्न मन पर्छ ।

यो बच्चाको इच्छा होइन, हाम्रो इच्छा हो । बच्चा कस्तो होस् ? उसले भविष्यमा के गरोस् भन्ने कुराको निर्धाणर हामी गरिदिन्छौं ।

किनभने आफ्नो बच्चालाई जोडेर हामी समाजमा प्रतिष्ठा आर्जन गर्न चाहन्छौं । धन-दौलतको स्वमी बन्न चाहन्छौं । हामीले गर्ने यही चाहना बच्चाको लागि घातक हुन्छ ।

किनभने बच्चाको रुची, स्वभाव र क्षमता फरक हुन्छ । उसले आमाको गर्भबाट नै आफ्नै स्वभाव, प्रवृत्ति बोकेर आएका हुन्छन् । तर, हामी उसलाई जबरजस्ती बदल्ने यत्न गर्छौं । यस किसिमको बदलावले भलै हामीलाई खुसी तुल्याउला, तर उनीहरुको सही क्षमताको उपयोग हुँदैन ।

हामी आमाबुवाले गर्ने अपेक्षा बच्चाको लागि बोझ मात्र हुँदैन, उनीहरुको आकंक्षा र क्षमताको बाधक पनि बन्छ ।

त्यसैले बच्चामाथि आफ्नो रुची र इच्छा लाद्नु ठिक होइन । यसले बच्चाको प्राकृतिक गुण, क्षमता सबै कुराको हत्या गरिदिन्छ ।

अर्को कुरा हामी सधै चिन्तित हुन्छौं कि, बच्चालाई कस्तो बनाउने भनेर । यो सोंच पनि ठिक होइन । बच्चालाई कस्तो बनाउने होइन, बरु उनी कस्तो बन्न चाहन्छन् ? त्यसलाई हामीले बुझ्नुपर्छ । हरेक बच्चाले जन्मजात गुण लिएका हुन्छन् । त्यही गुण अनुरुप उनीहरुले आफ्नो प्रवृत्ति विकास गर्छन् । आफ्नो प्रवृत्ति अनुसार उनीहरुमा रुचीको विकास हुन्छ । त्यही रुचीले उनीहरुमा के बन्ने भन्ने उदेश्यको मार्गचित्र कोरिदिन्छ ।

यसर्थ बच्चालाई कस्तो बनाउने भन्ने चिन्ता छाड्नुहोस् । उनीहरु के बन्न चाहन्छन् ? त्यो कुरा बुझ्ने प्रयास गर्नुहोस् । बच्चाले सोझै भन्न सक्दैनन् कि, म भविष्यमा यस्तो बन्छु । उस्तो बन्छु । तर, बच्चाले देखाउने रुचीले उनीहरुको लक्ष्य निर्धारण हुन्छ । उनीहरु के कुरामा रुची राख्छन् ? के खेल्छन् ? के हेर्छन् ? के कुरामा रमाउँछन् ?

त्यही कुराबाट उनीहरुको लक्ष्य पहिल्याउन सकिन्छ । अतः बच्चाले जे बन्न चाहेको हो, जे कुरामा रुची राखेको हो, त्यसै अनुरुप हामीले उपयुक्त वातावरण मिलाइदिनुपर्छ । यस्तो वातावरण, जहाँ उनीहरुको रुचीले थप फल्ने फुल्ने अनुकुलता प्राप्त गरोस् ।

मैलें जापानमा अर्ली चाइल्डहुड एजुकेसनबारे तालिम लिएँ, पछि त्यसैले पेशाको रुपमा अपनाए । अहिले यो मेरो लगाव भएको छ । समर्पण भएको छ । मलाई बच्चाहरुसँग खेल्न र रमाउनमै बढी आनन्द लाग्छ । जुन कुराले मलाई आनन्द दिएको छ, त्यसैलाई मैलें आफ्नो पेशा बनाएकी छु । कर्म बनाएकी छु । यस हिसाबले मलाई बच्चाहरुसँग खेलिरहँदा, बच्चाहरुलाई कुनै कुरा सिकाइरहँदा दिक्क लाग्दैन । वा त्यसलाई म आफ्नो ड्युटीको रुपमा मात्र बुझ्दिन । त्यो मेरो रुचीको विषय हो ।

यसरी नै हरेक बच्चाका रुची हुन्छन् । उनीहरुलाई पनि रुची अनुरुपकै लक्ष्य निर्धारण गराउनुपर्छ । जब बच्चालाई उनको रुची र क्षमता अनुरुप लक्ष्य बनाउन सहयोग गरिन्छ, तब बच्चाले बाटो बिराउँदैनन् । उनीहरु आफ्नो लक्ष्य प्राप्तिका खातिर संघर्ष गर्छन् ।

बच्चाले आफ्नो लक्ष्य पहिल्याएपछि उनीहरुलाई हामीले कुनै कुरामा रोकटोक गरिरहनु पनि जरुरी हुन्न । जस्तो यो गर, त्यो नगर भन्नु आवश्यक छैन । मैले जापानी समाजमा यसरी बच्चाहरुलाई स्वतन्त्रपूर्वक हुर्काएकी देखें । त्यहाँ बच्चालाई कुनै कुरामा बन्देज गराइँदैन । उनीहरुलाई आफ्नै संसारमा स्वच्छन्द ढंगले रमाउन दिइन्छ ।

कुमुद भट्ट

‘त्यो उनीहरुको आफ्नै जीवन हो । त्यसमा हामीले हस्तक्षेप गर्नुहुन्न’ भन्ने धारणा छ जापानीहरुमा ।

यही कारण त्यहाँका बच्चाहरुलाई कुनै कुरा गर्न रोकटोक गरिदैन । एकदम स्वतन्त्रता दिइन्छ । हुन त स्वतन्त्रतालाई हामीकहाँ छाडा छाड्नु भनेर पनि बुझिन्छ । वा बच्चालाई जे पनि गर्न दिनु भनेर बुझिन्छ । तर, घर परिवार, अभिभावक, समाज र समग्र परिवेशले यस कुरालाई निर्धारण गर्छ ।

यदी बच्चालाई स्वतन्त्रतापूर्वक छाड्ने हो भने पनि उनीहरुले गलत बाटो समाउँदैनन् । तर, यसका लागि उनीहरुलाई लक्ष्य तय गरिदिनुपर्छ । त्यही लक्ष्यले उनीहरुलाई दायाँ वायाँ गर्न दिदैन । हामीले रोक्नै पर्दैन ।

जस्तो कुनै बच्चा भविष्यमा गएर एक बनस्पती विज्ञ बन्न चाहन्छन् । उनले सानैदेखि बनस्पतिबारे रुची राख्छन् । वनस्पतिको प्रकृति, प्रवृत्तिमा उसलाई चासो लाग्छ । त्यहाँ उसले अनगिन्ती प्रश्नहरु देख्छन् । यस्ता अभिरुचीले उनलाई त्यही विषयमा तान्दै लान्छ । र, जति जति ऊ हुर्कदै जान्छ, उसले आफुलाई वनस्पतिकै क्षेत्रमा केही गर्ने लक्ष्य बनाउँछ ।

यस्तो लक्ष्यले उनीहरुलाई कुनै निश्चित गन्तव्यमा डोहोर्‍याउँछ । जब उनीहरु लक्ष्यका लागि अग्रसर हुन्छन्, तब उनीहरुले कुनै नकारात्मक बाटो लिदैनन् ।

त्यसैले बच्चालाई तपाईं आफ्नो रुची नलाद्नुहोस् । बच्चामाथि कुनै अपेक्षा नगर्नुहोस् । बच्चा जस्तो बन्न चाहन्छ, त्यस्तै वातावरण तय गरिदिनुहोस् । बच्चाको रुची र खुवी के छ ? त्यही अनुसार उनीहरुलाई आवश्यक वातावरण मिलाइदिनुहोस्, जहाँ उनीहरुले आफ्नो रुचीको विषयमा काम गर्न सकोस् । आफ्नो खुवीलाई थप निखार्न सकोस् ।

(अनलाइनखबरसँग कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment