Comments Add Comment

वीरगञ्जका छात्राहरु ‘सेल्फ डिफेन्स टेकनिक’ सिक्दै

६ माघ, वीरगञ्ज । वीरगञ्जमा उच्च शिक्षा अध्ययन गर्दै गरेका छात्राहरुलाई लक्षित गरेर ‘सेल्फ डिफेन्स’को तालिम शुरु भएको छ ।

‘मिसन सहासी’ अभियान अन्र्तगत प्राज्ञिक विद्यार्थी परिषद नेपालले प्रशिक्षक प्रशिक्षण तालिम शुरु गरेको हो ।

छात्राहरुलाई भयमुक्त बनाउँदै आफ्नो सुरक्षा आफैं गर्न सक्ने वैचारिक एवं शारीरिक क्षमता अभिवृद्धि गर्न एक सहासिक प्रशिक्षण अभियानलाई नै ‘मिसन सहासी’ अभियान भनिएको छ ।

चितवन र नवलपरासीमा अभियान यसअघि नै सञ्चालन भइसकेको छ । त्रिजुद्ध माध्यमिक विद्यालयमा औपचारिक उद्घाटनपछि आजैबाट विद्यालयको प्रांगणमा प्रशिक्षक प्रशिक्षण सुरु गरिएको थियो ।

कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले आत्मविश्वास बढाउन बलियो शरीर, तेजिलो दिमाग, राम्रो सामाजिक सम्बन्ध र संवेगात्मक कुराहरुमा नियन्त्रण जरुरी रहेको बताए ।

सेल्फ डिफेन्सको बारेमा जानकारी भएपछि ढुक्कले हिँडडुल गर्न सकिने उनको भनाइ छ ।

प्रदेश नं २ को ट्राफिक प्रहरी प्रमुख ट्राफिक प्रहरी उपरीक्षक किरण बज्राचार्यले महिलाहरुले गर्ने सानो सानो लापरबाहीले ठूला दुर्घटना भएकोले तालिम लाभदायक हुने विश्वास व्यक्त गरिन् ।

प्रहरी उपरीक्षक रेवती ढकाल, प्राध्यापक डा दिपक शाक्यलगायतले आत्म विश्वास नै सबैभन्दा बलियो हतियार भएकोले कहिल्यैपनि आफूलाई कमजोर छु भनेर नसोच्न आग्रह गरे ।

तालिममा सहभागी ५० जना छात्राहरुले प्रशिक्षणपछि वीरगञ्जका विभिन्न विद्यालयमा कक्षा ७ देखि ९ सम्म अध्ययनरत अन्य छात्राहरुलाई सेल्फ डिफेन्स टेकनीकहरु सिकाउनेछन् ।

महिला आत्मरक्षा र आत्म विश्वास बढाउनका लागि मिशन सहासी अभियान सुरु गरिएको कार्यक्रम संयोजक डा सुस्मा तिवारीले जानकारी दिइन् ।

‘हामी महिला हिंसा र दुर्व्यबहार मुक्त समाजको कल्पना गरिरहेका छौं, त्यसका लागि प्रयासहरु पनि भइरहेका छन् । तरपनि दिनहुँ हिंसा र दुर्व्यबहारका घटना भइनै रहेका छन् । पर्सा जिल्ला पनि त्यसबाट अछुतो छैन,’ उनले भनिन्, ‘महिला हिंसा र दुर्व्यबहारको घटना न्युनिकरणका लागि फरक तरिकाले सोच्ने र प्रत्येक नारीलाई आफ्नो रक्षा आफैं गर्न सक्षम बनाउने उद्देश्यले मिसन सहासी अभियान सञ्चालन गरेका हौं ।’

समाजमा विद्यमान महिला हिंसा न्युनिकरण गर्न, लागु औषध दुर्व्यसनबाट अलग राख्न आत्म विश्वास बढाउन प्रशिक्षण सहयोगी हुने उनको दावी छ ।
प्रशिक्षणमा सहभागी छात्राहरुलाई विभिन्न सेल्फ डिफेन्स टेकनिकहरु सिकाउनुको साथै आत्म विश्वासी बन्न प्रेरित गरिने थर्ड डन ब्ल्याक बेल्ट इन्टरनेशनल रेफ्री राजेश्वर कुमारले बताए ।

प्रशिक्षणमा सिकाईने वैचारिक एवं शारीरिक सीपहरुको पछि प्रदर्शनसमेत गरिने अभियान संयोजन समिति सदस्य लक्ष्मी कर्णले जानकारी दिइन् । प्रशिक्षक प्रशिक्षण तालिम माघ १२ गतेसम्म चल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment