Comments Add Comment

मन्थली बस दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुग्यो

६ माघ, रामेछाप । रामेछापको सदरमुकाम मन्थली नजिकै मच्छेडाँडीमा आइतबार मध्यान्ह भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको छ । दुर्घटनामा १९ जना घाइते भएका छन् ।

ओखलढुंगाको घाराखोरीबाट काठमाडौंको लागि हिँडेको बा४ख ४२१० नं को यात्रुवहाक बस मध्यान्न मन्थली नगरपालिका- १ मच्छेडाँडीमा दुर्घटना हुँदा ओखलढुँगाको चंपादेवी गाउँपालिका- ६ का २५ वर्षीय ओम कार्कीको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका रामेछापको मन्थली नगरपालिका-५ सुनारपानीका निरोज भुजेलको भने धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक रविभूषण यादवले जानकारी दिए ।

घाइते हुनेहरुमा रामेछापका नारायण कार्की, सरोज कार्की, गौतम भुजेल, भक्तबहादुर भुजेल, इश्वरी महत, युनिषा भुजेल, अजय भुजेल रहेका छन् ।

त्यसैगरी ओखलढुङ्गाका खड्ग भुजेल, नवराज पाण्डे, मिलन गुभाजु, चिना माया माझी, अर्जुन तामाङ बर्दियाका भोलाराम थारु, बलदेव थारुलगायत घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा घाइते भएका ६ जनालाई काठमाडौं ल्याइएको छ भने अन्यको रामेछापमै उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment