Comments Add Comment

छापामा आजः पशुपतिनाथको १ सय बिघा जग्गा गायब

७ माघ, काठमाडौं । संसदमा आज पेस हुन लागेको चिकित्सा शिक्षा विधेयक आजका अधिकांश पत्रिकाहरुको पहिलो प्राथमिकतामा परेको छ । अनसनरत डा. गोविन्द केसीको माग बेवास्ता गर्दै विधेयक प्रस्तुत गर्न लागिएको भन्दै पत्रिकाहरुले त्यसको आलोचना गरेका छन् ।

पाँच संवैधानिक आयोगमा अध्यक्ष सिफारिस भएकोलाई पनि पत्रिकाले नछुटाइकन लेखेका छन् ।  यसका अतिरिक्त अन्य सामग्रीमा भने विविधता छ । पशुपतिको १ सय बिघा जग्गा गायब भएकोदेखि मेचीका अस्पतालको सोधीखोजी पत्रिकाले गरेका छन् ।

अन्नपूर्णले पशपतिनाथको १ सय बिघा जग्गा गायब भएको दाबी गर्दै मुख्य समाचार लेखेको छ । अन्नपूर्णका अनुसार पशुपतिनाथको नाममा रहेको रौतहट, सर्लाही, सिरहा र पर्साका ११ सय बिघा जग्गा गायबसरह भएको हो । अन्नपूर्ण लेख्छ– मन्दिर संरक्षक पशुपति क्षेत्र विकास कोषले लामो अनुसन्धानपछि यो पत्ता लगाए पनि फर्काउन सकेको छैन ।’

राजा त्रिभुवनले आफूलाई दूध खुवाएवापत बुबुबडामहारानीलाई तराईका ४ जिल्लामा ११ सय बिघा जग्गा बिर्ता दिएका थिए । निःसन्तान बुबुबडामहारानीले जीवनको आखिरीमा त्यो जग्गा पशुपतिनाथका नाममा दान गरेकी थिइन् । तर अहिले यो जग्गा गायब छ ।

सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संशोधनबिनै पारित गर्ने तयारी गरेकोलाई पनि अन्नपूर्णले पहिलो पृष्ठमा छापेको छ । अनशनरत डा. गोविन्द केसीको मागविपरीत संसद्को सोमबार बस्ने बैठकमा विधेयक लैजान लागिएको समाचारमा उल्लेख छ ।

जनकपुरकी एक महिलाले दाइजो नदिएको भन्दै परिवारले दिएको यातनाका कारण छोरीलाई विष खुवाएर आफूले समेत आत्महत्या गरेको दुःखद् खबरलाई पनि अन्नपूर्णले पहिलो पृष्ठमा कभरेज गरेको छ । जनकपुर उपमहानगरपालिका–४, सरहन्चिया शान्तिनगरकी २५ वर्षे सीमा शर्माले दुई वर्षीया शिशुलाई समेत विषय खुवाएर आत्महत्या गरेकी हुन् ।

कान्तिपुरले संसद्मा पेस हुन लागेको चिकित्सा शिक्षा विधेयकबारे चर्चा गरेको छ । सत्तापक्ष विधेयक हुबहु पारित गर्ने मुडमा देखिँदा प्रतिपक्ष भने संसद् अवरुद्ध गर्ने तयारी गर्ने सोचमा पुगेको समाचारको सार छ ।

त्यस्तै, कर्मचारी समायोजनसम्बन्धी समाचार कान्तिपुरमा छ । समाचार अनुसार, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले फागुन ३ भित्रै कर्मचारी समायोजन सक्नेगरी गृहकार्य थालेको छ ।

नयाँ पत्रिकाले ‘अनसनलाई बेवास्ता गर्दै विधेयक पारित गर्ने तयारी’ शीर्षक दिएर मुख्य समाचार लेखेको छ । सरकारले विगतमा गरेको सम्झौता र विधेयकबीचको अन्तर केलाएको नयाँ पत्रिकाले अनसनबारे सत्तापक्ष र प्रतिपक्ष दुवै दलका नेताको प्रतिक्रिया पनि छापेको छ । योगेश भट्टराईले केसीको अनसनलाई ‘लुकिङ लन्डन, टेकिङ टोकियो जस्तै भएको’ टिप्पणी गरेका छन् । कांग्रेस नेता गगन थापाको तर्क भने फरक छ । उनले कांग्रेस सरकारले पूरा गरेको माग वर्तमान सरकारले उल्ट्याएको आरोप लगाएका छन् ।

यसका अतिरिक्त पाँच संवैधानिक आयोगमा अध्यक्ष सिफारिस भएको, तातोपानी नाका खुल्न लागेकोलगायत खबर पनि नयाँ पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् ।

नागरिकले मेचीका सरकारी अवस्थाबारे सोधीखोजी गरेको छ । समाचार अनुसार, मेचीका सरकारी अस्पतालहरुमा समस्या नै समस्या छन् । कतै जनशक्ति अभाव छ भने कतै उपकरण छैन । निःशुल्क औषधिको अभाव पनि उत्तिकै छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायपालिकाले राजनीतिक दबाव स्वीकार नगर्ने भनेर व्यक्त गरेको भनाइलाई पनि नागरिकले महत्त्वका साथ कभरेज गरेको छ । पूर्वाधार विकास बैंकका अध्यक्ष डा. विमल कोइराला बर्खास्त भएकोलगायतका खबर नागरिकको मुख पृष्ठमा छन् ।

प्रधानमन्त्री डाभोस प्रस्थान गरेको तस्वीर छापेको गोरखापत्रले पाँच सैवैधानिक आायेगमा अध्यक्ष सिफारिस भएकोलाई मुख्य समाचार बनाएको छ । गोरखापत्रकै पहिलो पृष्ठमा राजनीति छाडेर गाईपालन व्यवसायमा लागेका एक व्यक्तिबारेको सामग्री छापेको छ ।

हेर्नुहोस् आजका पत्रपत्रिकाका पहिलो पृष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment