Comments Add Comment

चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी

७ माघ, काठमाडौं । सरकारले आज बस्ने प्रतिनिधिसभा बैठकबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पास गर्ने तयारी गरेको छ । प्रतिपक्ष दल नेपाली कांग्रेसको विरोधकै बीच विधेयक पेस गर्न लागिएको हो ।

सभामुख कृष्णबहादुर महराका प्रेस सल्लाहकार डिल्ली मल्लले प्रतिनिधिसभा बैठकको आजको सम्भावित कार्यसूचीमा चिकित्सा शिक्षा विधेयक राखिएको बताए ।

‘प्रतिनिधिसभाको आजको सम्भावित कार्यसूचीमा राष्ट्रिय चिकित्सा विधेयक छ’, मल्लले अनलाइनखबरसँग भने, ‘यसलाई पेस गर्ने या नगर्ने भन्ने अन्तिम निर्णय भने कार्य व्यवस्थाले लिनेछ ।’

अनसनरत डा. गोविन्द केसीले उठाएका माग सम्बोधन गरेर मात्रै विधेयक संसदमा प्रस्तुत गर्नुपर्ने तर्क प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको छ । विगतमा आफूसँग भएका सहमतिविपरित विधेयक ल्याइएको विरोधमा डा. केसीले अनसन जारी राखेका छन् ।

गत साउनमा उपत्यकाबाहिरका विभिन्न स्थानमा सरकारी मेडिकल खोल्नेलगायत बुँदामा सरकार-केसीबीच सम्झौता भएको थियो । तर, प्रमुख प्रतिपक्ष कांग्रेस र केसी दुवैले विगतमा भएका सम्झौताबाट पछि हट्दै सरकारले विधेयक तयार पारेको आरोप लगाएका छन् ।

अनसन र प्रतिपक्षको मागकै बीच सरकारले विधेयक पास गर्ने रणनीति बनाएपछि प्रमुख प्रतिपक्ष दल भने त्यसलाई अघि बढ्न नदिने तयारीमा छ ।

जबरजस्त विधेयक अघि बढाए संसद् बैठक अवरुद्ध पार्ने चेतावनी कांग्रेसले दिँदै आएको छ । कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले अनलाइनखबरसँग भने, ‘सरकारले संसदमा जस्तो क्रिया गर्छ, हामीले त्यस्तै प्रतिक्रिया जनाउँछौं । तर मलाई विश्वास छ, सरकारले द्वन्द्व निम्ताउँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment