Comments Add Comment

लुम्बिनी क्षेत्रमा लगानी गर्न अन्तर्राष्ट्रिय उद्यमीलाई आग्रह

७ माघ, बुटवल । बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रमा लगानी गर्न बुटवल उद्योग वाणिज्य संघले अन्तर्राष्ट्रिय क्षेत्रका उद्योग वाणिज्य संघ र वरिष्ठ उद्योगपतिहरुलाई आग्रह गरेको छ ।

भारतको गुजरातमा तीन दिनसम्म चलेको गुजरात ग्लोवल समिटका अवसरमा आयोजित गोष्ठीमा सहभागी एक सय बढी उद्योग वाणिज्य संघ र वरिष्ठ उद्योगपतिहरुलाई संघका अध्यक्ष खिमबहादुर हमालले बुद्धजन्मस्थल लुम्बिनीको अवलोकन गर्न र यस क्षेत्रमा लगानी गर्न उनीहरुसँग आग्रह गरेका हुन् । समिट समापन अघि भएको लगानी तथा व्यापार गोष्ठीमा अध्यक्ष हमालले नयाँ संविधान निर्माण र स्थिर सरकार गठनपछि नेपालमा लगानीको वातावरण बनेको बताए । उनले प्रदेश सरकारले आगामी वर्षलाई लुम्बिनी भ्रमण वर्ष र नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको घोषणा गरेकाले सो अवसरमा नेपाल आउन पनि आग्रह गरे ।

संघका पूर्वअध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुरेन्द्रप्रसाद श्रेष्ठले नेपाल र भारतबीचको बढ्दो ब्यापार घाटालाई सन्तुलन कायम गर्न भारतका उद्योगीहरुले नेपालका उद्योगमा लगानी बढाउन आवश्यक भएको सुझाए । नेपालमा कृषि, पर्यटन र जलविद्युतमा पर्याप्त सम्भावना भएको तर नेपाली पुँजीले मात्रै नपुग्ने भएकाले अन्तर्राष्ट्रिय लगानीकर्तालाई राम्रो अवसर भएको उल्लेख गरे ।

गुजरात उद्योग वाणिज्य संघका अध्यक्ष डा. जयमिन भाषाले आफूहरु नेपालमा लगानी गर्न र लुम्बिनी भ्रमण गर्न इच्छुक रहेको धारणा राखेको संघका कार्यकारी सचिव सञ्जय ज्ञवालीले अनलाइनखबरलाई बताए । गुजरात उद्योग वाणिज्य संघका पदाधिकारीलाई बुटवल उद्योग सहित संघले नेपाली ढाका टोपी र बुद्धमुर्ति प्रदान गरेको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेको समिटमा नेपाल उद्योग वाणिज्य महासंघसहित २६ देशका उद्योग वाणिज्य संघले कार्यपत्र तथा आफ्नो देशको उद्योग व्यापारको अवस्था बारेमा जानकारी गराएका थिए ।

समिट तथा प्रदर्शनीमा बुटवल उद्योग वाणिज्य संघका तर्फबाट अध्यक्ष हमालसहित निवर्तमान अध्यक्ष महेशमान सिंह, पूर्वअध्यक्षहरु सुरेन्द्रप्रसाद श्रेष्ठ, जीवनप्रसाद ओझा, अर्जुनमान सैजू र नवराज श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष उज्ज्वल कसजू, वाणिज्य उपाध्यक्ष हरि अर्याल, महासचिव दिनेशप्रसाद श्रेष्ठ, कोषाध्यक्ष विमलराज भट्टराई, सचिव कमल पौडेललगायत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment