Comments Add Comment

सरकारले विश्वास गुमायो, अब मुलुक चलाउन सक्दैन

७ माघ, काठमाडौं । आठ दिनदेखि अनशनरत डा. गोविन्द केसीको बिरोधलाई बेवास्ता गर्दै सरकारले संसद बैठकबाट चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी गरेको छ । सरकारको दाबी छ कि डा. केसीका अधिकांश माग पूरा भइसकेका छन्, त्यसैले अनशनको औचित्य छैन ।

तर, केसीले भने विगतमा सरकारले आफूसँग गरेको सहमति र सम्झौताविपरित विधेयक ल्याइएको बताउँदै आएका छन् । अनशनरत डा. केसीलाई अहिले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि समर्थन गरेको छ र विधेयकको विरोध गरेको छ ।  विधेयक  पारित गर्न लागिएको सन्दर्भमा हामीले कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणसँग छोटो कुराकानी गरेका छौं ।

कुराकानीको क्रममा खाँणले भने, ‘सरकारको विश्वसनीयता कमजोर हुँदै गएको छ । विश्वसनीयता कमजोर हुँदै गएको सरकारले मुलुक चलाउन सक्दैन ।’

प्रस्तुत छ कांग्रेस नेता खाँणसँग अनलाइनखबरले गरेको छोटो कुराकानी-

सरकारले चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी गरेको छ, यसमा कांग्रेसको प्रतिक्रिया के छ ?

केही समय अगाडि मात्रै डा. गोविन्द केसीसँग सरकारले सहमति र सम्झौता गरेको थियो । त्यसविपरित ल्याइएको चिकित्सा शिक्षा विधेयकमा कांग्रेसका माननीयहरुले समितिहरुमा असहमति जनाइसक्नु भएको छ । सम्झौताको पालना नगर्ने सरकारको विश्वसनीयता कमजोर हुँदै गएको छ । विश्वसनीयता कमजोर हुँदै गएको सरकारले मुलुक चलाउन सक्दैन ।

अब यो सरकारको औचित्य सकियो, अर्को सरकार चाहियो भन्न खोज्नु भएको हो ?

यो सरकारको औचित्य सकिएको भनेर अब पनि भनिरहनु पर्छ र ? यसका कामकारबाही कस्ता छन् तपाईं, हामीले देखिरहेका छौं त । हत्या, बलात्कार, भ्रष्टाचार बढेको बढ्यै छ । महंगी नियन्त्रण र सुशासन कायम गर्न पनि सरकारले सकिरहेको छैन ।

यो पनि पढ्नुहोस कांग्रेसले संसदीय प्रक्रिया गोविन्द केसीलाई जिम्मा लगाएर भाग्न खोजेको हो ?

सरकारलाई सहि दिशामा हिँडाउन त प्रमुख प्रतिपक्षको पनि भूमिका हुन्छ, तर कांग्रेसको भूमिका कमजोर देखियो होइन र ?

यो सरकारलाई त हामीले सुधारका लागि आग्रह गरिरहेकै छौं, सुझाव दिइरहेका छौं । दुई तिहाइको दम्भ नदेखाऊ, सहमति सम्झौता पालना गरेर अगाडि बढ भनेर सुझाव दिएकै छौं त । योभन्दा बढी केही गर्न सक्दैनौं ।

तपाईंहरुको आग्रह अनुसार डा. केसीसँग भएका सहमति सरकारले कार्यान्वयन गर्छ भन्नेमा विश्वस्त हुनुहुन्छ ?

अझै पनि सरकारले सहमति गरेर अगाडि बढ्छ भन्ने नै हामीलाई लागेको छ । र, भएका विमतीहरुलाई पनि सहमतिमा ल्याएर अगाडि बढ्नुपर्छ । हामीलाई विश्वास छ, सरकारले आफ्नो विश्वसनीयता कायम गर्नका लागि डा. गोविन्द केसीसँगको सम्झौतालाई कार्यान्वयन गर्छ ।

तर, विधेयक त पारित हुन लागिसक्यो । अब कांग्रेस के गर्छ ?

सहमति गरेन भने सरकारले द्वन्द्व निम्ताउँछ । द्वन्द्व निम्तायो भने उहाँहरुले क्रिया गर्नुहुन्छ, कांग्रेसले प्रतिक्रिया जनाउँछ ।

प्रतिक्रिया भनेको कस्तो ? संसद अवरुद्धसमेत हुनसक्छ भन्ने संकेत हो ?

सरकार आफैले अवरुद्ध गराउन चाहेको छ भने अवरुद्ध हुन्छ । तर, हामी हाउस स्मुथ्ली चलोस्, सरकारलाई रचनात्मक सहयोग गर्न पाइयोस् भन्ने चाहान्छौं । तर, सरकार आफैंले निहुँ खोजेर हाउसमा अवरोध सिर्जना हुने वातावरण बनाउने, द्वन्द्व निम्ताउने काम गर्छ भने त हामीले के नै भन्न सक्छौं र ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment