Comments Add Comment

मलेसिया रोजगारीः अन्यौलका बीच २० जनाले पाए श्रम स्वीकृति

७ माघ, काठमाडौं । सरकारले झण्डै ८ महिनापछि मलेसियामा कामदार पठाउन सुरु गरेको छ । भिसा लगाइएका २० जना कामदारलाई आइतबार श्रम स्वीकृति दिइएको छ ।

तर, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्देशनअनुसार वैदेशिक रोजगार विभागले भिसा लगाइसकेकाहरुलाई व्यक्तिगततर्फ मात्र श्रम स्वीकृति दिएको हो । भीएलएनबाटै प्रक्रिया पुरा गरेका कामदार व्यक्तिगतर्फबाट श्रम स्वीकति लिएर उड्न दिइएको हो । तर, संस्थागततर्फ दिइएको छैन ।

साथै नयाँ कामदार मलेसिया जाने बाटो भने खुलेको छैन ।

सरकारले भीएलएनमाथि कारबाही थाल्दै रोजगारीका लागि मलेसिया जाने रोक लगाएको थियो ।

नेपालले कामदार रोकेपछि मलेसिया सरकारले निःशुल्क कामदार लैजाने सहमति पनि गर्‍यो । यो सहमतिअनुसार नेपाली कामदार लैजान लाग्ने सबै खर्च सम्बन्धित रोजगारदाता कम्पनीले व्यहोर्नेछ । सम्झौता अघि नै भिसा लागेका कामदारलाई तत्काल मलेसिया पठाउने दुई देशको समझदारी थियो ।

तर, श्रममन्त्री गोकर्ण विष्टले आफूले कारबाही थालेको भिएलएनमार्फत भिसा लगाएका कामदार नपठाउने अडान लिए । उनले यसलाई प्रतिष्ठाको विषय नै बनाए, जसका कारण कलिङ भिसा आएका कामदार पनि जान पाएका थिएनन् ।

अचानक आइतबार ३० जनाले श्रम स्वीकृति पाएका छन् । स्रोतका अनुसार नेकपा निकट म्यानपावर व्यवसायीहरुले भेटेपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक साताभित्र यो विषय सल्ट्याउन निर्देशन दिएका थिए । मन्त्री विष्टले भिसा आइसकेकालाई श्रम स्वीकृति त दिन लगाएका छन् तर व्यक्तिगततर्फ मात्र ।

उनीहरु मलेसियन दूताबासमार्फत भिसा प्रक्रिया पुरा गरेर आएको मन्त्रालयको दाबी छ । तर, म्यानपावर व्यवसायीहरुले भने नेपालमा सीधै दूतावासमार्फत भिसा प्रक्रिया गर्न मलेसियाले कुनै संयन्त्र नबनाएको दाबी गरेका छन् ।

अझै संस्थागततर्फ श्रम स्वीकृति दिएको छैन ।

व्यवसायीहरुका अनुसार भिसा लगाएर मलेसिया जान बाँकी कामदार झण्डै १० हजार छन् ।

मन्त्रालयले माग्यो विवरण

यसैबीच सरकारले सोमबार म्यानपावर कम्पनीमार्फत भिसा लगाएका कामदारको विवरण माग गरेको छ ।

वैदेशिक रोजगार विभागले सोमबार म्यानपावर एजेन्सीलाई १५ दिनभित्रै सबै कलिङ भिसा लागेका कामदारको सबै खालका विवरण पेश गर्न निर्देशन दिएको छ । ‘हामीले भिसा आइसकेका कामदारको फोन नम्बर पनि मागेका छौं । यो प्रक्रियालाई परादर्शी गर्नुपर्ने दायित्व सरकारको हो,’ विभागका एक अधिकारी भने, ‘व्यवसायीले पेश गर्ने एक-एक कामदारको विवरण भेरिफाइड गर्छौं ।’

बैदेशिक रोजगारी व्यवसायी संघले आफ्ना सदस्यहरुलाई भिसा लगाएका कामदारहरुको विवरण पेश आग्रह गरेको छ । तर, व्यवसायीहरुले वैदेशिक रोजगार विभागले मागेको जस्तो जस्तो कामदारको पूर्ण विवरण बुझाउनेमा शंका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment