Comments Add Comment

हुवावे काण्डमा के हुँदैछ ?

पछिल्लो समयमा चिनिया स्मार्टफोन तथा टेलिकम उपकरण कम्पनी हुवावे तीव्र अन्तर्राष्ट्रिय विवादको केन्द्र बनेको छ ।

यसका प्रडक्टहरुबाट उत्पन्न सुरक्षा चुनौतिको बारेमा विभिन्न देशहरुले चासो देखाएका छन् । यहीँ हप्ता जर्मनीले आगामी पुस्ताको मोबाइल नेटवर्कमा हुवावेलाई प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।

हुवावेमाथि अमेरिकामा विभिन्न खाले व्यापारिक गोपनियता चोरी गरेको आरोप लागेसँगै यसका प्रमुख वित्तिय अधिकारी मेंग वान्झोउ क्यानडामा पक्राउ परिन् ।

कतिपय देशहरुले हुवावेलाई चीनले प्रोक्सीको रुपमा प्रयोग गरी आफ्ना प्रतिद्वन्दी मुलुकहरुको जासूसी गर्ने तथा विभिन्न महत्वपूर्ण सूचनाहरु हात पार्ने गरेको आशंका गर्ने गरेका छन् । तर हुवावेले भने आफु स्वतन्त्र कम्पनी रहेको हुँदा चिनिया सरकारलाई कर बाहेक अरु कुनै कुरा नदिने प्रष्ट पार्दै आएको छ ।

तर विश्लेषकहरु भने यो कुरा मान्न तयार छैनन् । मिडियामा खासै आउन नरुचाउने हुवावेका संस्थापक रेन झेंगफेइ चिनिया सेनाको पूर्व इन्जिनियर हुनुका साथै सन् १९७८ मा चिनिया कम्युनिष्ट पार्टी प्रवेश गरेका व्यक्ति हुन् ।

हुवावे काण्डका केही तथ्यहरुः

· सन् २०१२ अक्टोबर : अमेरिकी कंग्रेसको एउटा समितिले गहन अनुसन्धान पश्चात् हुवावे र जेडटिइ कम्पनी अमेरिकाको सुरक्षाको लागि खतरा भएको ठहर गरेको ।

· सन् २०१३ को जुलाई : अमेरिकी जासुसी संस्था सिआइएका पूर्वप्रमुखले हुवावेमाथि चीन सरकारको जासुसी गरेको आरोप लगाएपछि हुवावेले त्यस्तेा आरोप अस्विकार गरेको ।

· सन् २०१४ को अक्टोबरः अमेरिकी सरकारको एउटा ठेक्का बोलपत्रमा हुवावेमाथि लागेको प्रतिबन्ध खासै महत्वपूर्ण कुरा नभएको हुवावेको प्रतिक्रिया ।

· सन् २०१८ जुलाई : बेलायतको सरकारी रिपोर्टले हुवावेको ब्रोडब्याण्ड तथा मोबाइल पूर्वाधार उपकरणले देशको सुरक्षामा खतरा उत्पन्न गराउने आशंका व्यक्त गरेको ।

· सन् २०१८ जुलाई : एप्पललाई पछि पार्दै हुवावे विश्वको दोश्रो ठूलो कम्पनी बन्न सफल ।

· सन् २०१८ अगष्ट : सुरक्षाको कारण देखाउँदै अष्ट्रेलियाद्वारा हुवावे र जेडटिईमाथि फाइभ जी नेटवर्कमा प्रतिबन्ध लगाउने घोषणा ।

· सन् २०१८ नोभेम्बर : न्युजिल्याण्डले फाइभ जी नेटवर्कबाट हुवावेलाई प्रतिबन्ध ।

· सन् २०१८ डिसेम्बर १ : हुवावेका प्रमुख वित्तिय अधिकृत मेंग वांगझोउ क्यानडामा पक्राउ ।

· सन् २०१८ डिसेम्बर २४ : बेलायतको आकस्मिक सेवाको सूचना प्रणालीबाट हुवावेका उपकरण हटाइएको ।

· सन् २०१९ जनवरी ४ : कम्पनीको टि्वटर अकाउन्टबाट टि्वट गर्नका लागि आइफोन प्रयोग गरेको अभियोगमा हुवावेका दुईजना कर्मचारीमाथि कारवाही ।

· सन् २०१९ जनवरी १२ : जासूसीको आरोपमा पोल्याण्डमा पक्राउ परेका एक कर्मचारीलाई हुवावेद्वारा बर्खास्त ।

· सन् २०१९ जनवरी १५ : एउटा दुर्लभ अन्तर्वार्ताका क्रममा हुवावेका संस्थापक रेन झेंगफेइद्वारा चीन सरकारले आफुहरुसँग कहिल्यैपनि जासूसी गर्न नअह्राएको स्पष्टोक्ति ।

· सन् २०१९ को जनवरी १६ : अमेरिकी व्यवसायिक साझेदारसँगबाट व्यापारिक गोपनियता चोरी गरेकेा विषयमा अमेरिकाले हुवावेमाथि अनुसन्धान गरिरहेको वालस्टि्रट जर्नलको खुलासा ।

· सन् २०१९ जनवरी १७ : अक्सफोर्ड विश्वविद्यालयद्वारा हुवावेबाट प्राप्त हुने दान तथा प्रायोजन बहिष्कार गरेको घोषणा ।

हुवावे कति स्वतन्त्र छ ?

हुवावे अनुसन्धान र विकासमा सबैभन्दा धेरै लगानी गर्ने मध्येको एक कम्पनी हो । सन् २०१७ मा हुवावेले अनुसन्धान र विकासका लागि १३ अर्ब २० करोड खर्च गरेको थियो । सन् २०१८ मा कम्पनीले त्यो भन्दा धेरै खर्च गरेको छ ।

तर चीन सरकारले विभिन्न प्रयोगकर्ताको संवेदनशील नेटवर्क ह्याकिंगका लागि आफ्ना डिभाइसहरु मोडिभाई गर्न निर्देशन दिनसक्ने आशंका कतिपयले गर्ने गरेका छन् ।

प्रतिद्वन्दी मुलुकहरुको पूर्वाधारणमा गहिरो उपस्थिति जनाएको आफ्नो देशको कम्पनीलाई चीन सरकारले कसरी स्वतन्त्र रहन देला ? भन्ने संसय समेत प्रकट गरिएको छ ।

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment