Comments Add Comment

बाल हठमा ‘विवेकशीलहरु’

म हिजो जनयुद्वकालको कुनै समय सोलुको सल्लेरीमा पढाउँथे । हप्तामा एक पटक घर जाँदा ‘पार्टीका मान्छे’को फेला पारिन्थ्यो आक्कल झुक्कल । उनीहरूले बोलेको कुरालाई हो, हजुर, हस् हजुर भन्दै हिंड्नु पर्थ्यो । ‘त्यस्तो होइन, यस्तो हो कि’ भन्यो भने हामी जस्तो गौरवशाली इतिहास बोकेका क्रान्तिकारीहरूलाई सिकाउने तँ सामन्ती होस्, प्रतिगामी होस्, प्रतिक्रियावादी होस् भन्दै भाटे कारबाही गरिएका उदाहरण यत्रतत्र थिए ।

उनीहरुसँग हुल थियो, हतियार पनि । उनीहरूमा आक्रोशको ज्वाला र जंगली राजको उन्माद थियो । दोष तिनको थिएन, तिनीहरूमा त्यस्तो स्वभाव भरिदिनेहरूको थियो । उनीहरूलाई जे गर्न भनिन्थ्यो त्यै गर्थे, जे रटाइयो त्यै भाषा बोल्थे । बडो गर्वका साथ फ्रान्सदेखि चीनसम्मका क्रान्तिका कुरा गर्थे ।

उनीहरुमा एक प्रकारको आत्मविश्वाश पनि थियो । हामीले नै हो देश बनाउने भन्थे । अहिले आँखै अगाडि सब सपना चकनाचुर भैसकेको छ । बरु अहिले पासपोर्ट बनाएर खाडी तिर काम गर्दैछन्, ती मध्ये धेरै । कति प्रायश्चितको जिन्दगी बाँच्दैछन् । त्यो विषयमा धेरै वहश र विश्लेषण भैसकेको छ । समय धेरै घर्किसकेको छ, तितो विगत भुलेर अघि बढ्न नेपाली समाजले निगाह गरेको छ ।

झण्डै त्यहीँ प्रवृति सम्झाउने उग्रता, अभिव्यक्ति र भूइँफुट्टा नेतागिरी देखियो राजनीतिको नयाँ तर सुसंस्कृत भनिने समूहमा पनि । कसरी अट्यो होला त्यो उग्रता र भूइँफुट्टा नेतागिरी आफूलाई विवेकशील, इमान्दार, उत्कृष्ठ, शालीन जस्ता शब्दले शृंगार गर्ने त्यो कथित वैकल्पिक राजनीतिक समूहमा ?

देशका कैयौँ समस्या समाधानका लागि राजनीति नै सुधार्न जरुरी छ भन्ने कुरा गर्दा उहाँहरुलाई पार्टी गलत दिशा तिर गएको जस्तो लाग्यो । विडम्वना, यहाँ त त्यै अभियानका नाममा सिटी फुक्ने र ढ्यांग्रो बजाउने पो वैकल्पिक राजनीतिका पर्दामा छाउन थाले ।

माइतीघरको अष्ठमण्डमा कागजको टोपी लगाएर राजधानी केन्द्रित राजनीति गरेर, बेला बेलामा पर्यटक बनेर नेपाल घुमेर अनि केही थान मुद्दामा चिच्याएर नेपाल बन्दैन, संगठन विस्तार गर्ने बेलामा हिलो छ्यापाछ्याप गरेर हाम्रो संकल्प पूरा हुँदैन ।

माफ गर्नुहोला, हामी जस्ता परदेशिएका नेपालीको सदीक्षाले यहाँसम्म पुगेको हो विवेकशील साझा पार्टी । तपाईंहरूको निर्दोष केटाकेटी अवस्थालाई हुने विरूवाको चिल्लो पात संझेर राजनीतिक दलको आकार लिंदै जाँदा सुसंस्कृत परिपक्वताको अपेक्षा राखिएको हो । तर, तपाईंहरू त त्यसैमा हौसिन थाल्नु भो । यहाँहरू त युवा हैन छिप्पट कटाकेटी पो बन्नु भो । रूखको आकार बढाएर छहारी देला भनेर पानी हालेको पोथ्रो बनेर घोच्न पो थाल्नु भो ।

तपाईंहरू भाइरल सेलिब्रेटी बन्नु भो र त्यसैलाई वैकल्पिक राजनीति भन्ठान्नु भो । अब त यहाँहरूले एउटा कलेजको इकाई समितिले देखाउने सामान्य राजनीतिक संस्कार पनि नदेखाई तल्लोस्तरको शैली पो देखाउनु भो । आफ्नै पार्टीका गर्व गर्नुपर्ने जीउँदा नेताको नामा ‘रिप’ भन्ने तपाईहरुको ‘चीप’ काइदा त आलोचनायोग्य पनि रहेन ।

कुवाको भ्यागुतो नजिकैको समुन्द्रमा पनि त्यहीँ पानी त छ नि भनेर रमाउँछ रे । भ्यागुता कुवालाई नै संसार ठान्छ, त्यसैमा रमाउँछ । त्यहाँको ठेकदार पनि उही जानिफकार पनि ऊ मात्रै । तपाईँहरुले पनि भ्यागुतो जस्तै गर्नु भो । एउटै गर्जनबाट सयौं संभावनाहरू शंखघोष गर्न सक्ने, नैतिकताका उच्चतम अभ्यास गरिरहेका र सत्य बोल्न सक्ने व्यक्तित्वहरूलाई भाइबहिनीहरूले मूल्य-मान्यता संझाउनु पुरै बेठिक त हैन, तर कसैको ‘रेडिमेड’ शब्द टिपेर सुगा रटान गर्नु कुन बैकल्पिक राजनीति हो ?

सभ्य आग्रह-प्रत्याग्रह गर्दा उल्टै हनुमानको पदवी भिडाइयो अनि सामान्य बाँदर भन्दा हनुमान बन्नु उत्तम भन्ने प्रत्युत्तर पुर्‍याइयाे । पाँडे गालीलाई वाक स्वतन्त्रताको कन्दनी लगाएर कतिन्जेल लाज बच्ला र ?

फुट भन्दा अगाडिका गतिविधिहरु नियाल्दा लाग्थ्यो, संस्कारपुर्ण राजनीति र विवेकशील भन्ने शब्दमाथि नै अन्याय हुँदै थियो । यी शब्द नै बिउँझिएर मेरो अर्थ यो हो भन्छन् कि भन्ने डर लाग्थ्यो ।

छुट्टएिर गएकाहरुका कुरा सुन्दा साह्रै निर्दोष लाग्छ साथै नादान पनि । भन्नुहुन्छ- पार्टी बढाएर काम छैन, नागरिक अभियानमार्फत नै हो विवेकशीलको उद्देश्य हासिल गर्ने । तर, नेपाल त्यति सहज पनि छैन जो तपाईंका अभियानमा सर्लक्कै समेटियोस् ।

पर्यटक शैलीमा दुई-चार दिन घुमेर नेपाल बुझिंदैन । नेपालमा जति अनकन्टार गाउँबस्तीहरू छन्, तिनलाई झट्ट नियाल्न त नाङ्गा आँखा काफी छ, तर त्यहाँका भीमकाय दुख्खकष्ट बुझेर समाधान औंल्याउन त्यहीं केन्द्रित विभिन्न संगठनहरूलाई पनि सहज छैन भने तपाईंहरूको नमूना सर्वेक्षणले के मार्ग चित्र दियो होला र ? त्यसैका लागि त चाहिने हो ज्ञानमा गहिराई, विषय विज्ञता र समस्या समाधानमा रचनात्मकता ।

हेर्नुस्, यति सजिलो भएको भए नेपाल उहिलै बनिसक्थ्यो । मान्छेका व्यक्तिगत स्वार्थका दायरा आज भन्दा २० वर्ष पहिले धेरै साँघुरा थिए । हाम्रा अग्रजहरू धेरै इमान्दार थिए । मूल्य-मान्यताका के कुरा गर्नुहुन्छ, कसैको झुक्किएर पनि केही खान नपरोस् नत्र अर्को जुनीमा सजाय भोग्नु पर्छ भन्ने थियो । पाप लाग्छ भनेर मान्छेहरू अपराध गर्न डराउँथे । अझै पनि कैयौं छन् यस्ता महात्माहरू । मूल्य-मान्यता त सबैमा केही न केही होलान् नै, तर राजनीतिको मन्चमा सही विचार र दिशानिर्देश पनि चाहिन्छ ।४५-५० कटेका मान्छे देख्यो कि तपाईंहरू ‘नार’ थाप्न लागिहाल्नु हुन्छ । युवाका नाममा गोलमटोल कुरा गरेर अग्रजहरूलाई समय काट्न आएका सुड्डाहरु भन्नुहुन्छ । समय कटाउनैका लागि त तपाईंहरूका यथानाम युवा नेतासँग कामरेड गर्न के मज्जा होला र ? बरू तपाईंहरूका २०-२२ वर्षका नवयुवा नेताहरूले पो कलेज पढ्छन् कि, रोजगारी गरून् कि तपाईंका मूल्य-मान्यता अनुसार केन्द्रमा बसेर विवेकशील राजनीति गरून् ?

हुन त मूल्य-मान्यता भन्न पनि मजा सुन्न पनि मजा आउने तर विदेशी संघ-संस्था त के भूपू नेपाली नागरिकबाट समेत चन्दा नलिने भनेर रवीन्द्र मिश्रले आव्हान गर्दैगर्दा मूल्य-मान्यताका कुरा गर्नेहरूले भने विदेश भ्रमणलाई नै प्राथमिकता दिनुभो । किन ? त्यो उहाँ नै जान्नु होला ?

पार्टीको एउटा पंक्ति संगठन विस्तारमा अहोरात्र खट्दै गर्दा अर्को तप्काका नेता उज्वल थापा अमेरिका घुमी भ्याएर हस्यांग फस्यांग गर्दै १८ पेज लामो समीक्षा तयार पार्नु यो अनि केन्द्रीय समितिको बैठक हापेर छापाहरूमा हुर्‍याउनु भो, अकस्मात । यो कस्तो मूल्य- मान्यता हो ? के आपसी सद्भाव र सहकार्य मूल्य-मान्यताका दुश्मन हुन् ? जे निर्णय गर्दा पनि रमिते बनेर बस्ने अनि प्रतिक्रिया आउन थाले पछि त्यसैमा टेकेर अर्को पक्षलाई प्रहार गर्न मिल्छ ?

राधेश्याम अधिकारीमा लागेका एकाध आरोपलाई अति उछाल्नु भो, तर उनैका कैयौं राम्रा पक्ष सुन्नै चाहनु भएन, यो कस्तो मानसिकता हो ? प्रतिपक्षी रहीत राष्ट्रिय सभा नहोस् भनेर आफूसँग भएको झिनो मतभार कांग्रेस उम्मेदवारका पक्षमा जाहेर गर्नुलाई सात जुनीमा पनि नकट्टने पाप सम्झनु भो । विषयको गहिराइमा पुग्न आफ्नो झुण्ड बाहिर निस्कन आवश्यक ठानिएन । उही धारका केही पाका नेताहरु पनि समस्यामै रूमल्लिए । अस्तव्यस्त बजार जस्तो भो वार्ता, बैठकका मञ्च ।

अर्को पक्ष पनि जंगियो- हामी राजीनामा दिन्छौं तर यो निर्णय फिर्ता गर्दैनौं । त्यसैले मानिदिनुस् ।

विवेकशीलका केही युवा नै लागे तिललाई पहाड बनाउन जो आफ्नै कमजोरीबाट सिर्जना भएको थियो । कागले कानले लग्यो भन्दै आफ्नो कान नछामी काग खेद्न थालियो, केन्द्रीयस्तरबाटै । अब मुनिकाले विश्वास गर्नै पर्‍यो अनि हिट भयो, बनाइयो राधेश्याम प्रकरण ।

घाटा पार्टीलाई नै भयो, घाटा पुर्‍र्याइयो पार्टी भित्रै बसेर । अझै पनि त्यो समूहमा रुझेका-रमेकाहरुको पहिलो तर्क नै भएको छ- राधेश्यामको समर्थन किन ? राधेश्याम जस्ता भ्रष्टाचारबिरुद्वको अभियन्तलाई कांग्रेस भएकै कारण भ्रष्टाचारी भन्नसमेत चुक्नु भएन ।

कमी-कमजोरी एउटा पक्षको मात्र भन्न खोजेको हैन, तर मेरो नजरमा विवेकशील साझा टुक्रनुको प्रमुख कारण विवेकशीलहरुको बाल हठ र अपरिपक्वता नै हो

बानेश्वरमा जे भयो, त्यसमा दुवै पक्षकाले बताए अनुसार पूर्व विवेकशीलका पूर्व कार्यकर्ताहरु, त्यो पनि पहिले निष्कासनमा परेकाहरुको त्यो स्तरको प्रस्तुति बडो अचम्मको थियो । तर, साथीहरुले त्यो गतिबिधिलाई पनि वैध बनाउन खोज्नु भो ।

तिनको प्रस्तुति अराजकता थियो, तिनले तथानाम गरे आम शुभेच्छुकको मनै चिसो बनाउने गरी । ‘युवा अघि सर्दा देश अघि बढ्छ’ भन्ने नारा लाग्यो । ‘पेन्सन खाँदै समय काट्न आएका बूढाहरू’ निशाना भए । दोषहरू त्यतै पन्छाइयो । आवाजहरु चर्किए, वातावरण उत्तेजित भयो । तर संयम अपनाउने भन्दा रमिते बन्ने र खुचिङ्ग गर्ने प्रवृति देखियो ।

फेरि भयो- हामीले रोक्न खोजेको, अर्को पक्ष मान्नु भएन । न स्थिति सम्हाल्न सहायता भो न त जिम्मेवारी लिइयो । दुःख व्यक्त गर्नसम्म भ्याइएन, बरु तिनकै काँधमा टेकेर ‘मिश्र एण्ड कम्पनी’ भन्दै प्रहार पो गर्न थालियो ।

अफसोस त तब भयो जव तिनले त्यहाँ त्यही भाषा बोलेका थिए जो पछिल्लो समय आफूलाई विवेकशीलका केन्द्रमा उभ्याउनेहरू नै आधिकारिक फेसबुक ग्रुपमा विना संकोच पोखिरहेका थिए । केन्द्रीय समितिमा समेत रहेका महानुभावबाट त्यति तल्लो स्तरको गाली गलौज पोखिएको थियो । त्यो हेर्दा म जस्ता धेरै शुभ चिन्तकको तपाईंहरू प्रतिको अपेक्षा क्षण भरमै धुलिसात भयो तर गाली गलौज भने झन् बढेर गयो । त्यही हो सुसंस्कृत र विवेकशीलहरूले प्रयोग गर्ने भाषाको स्तर ?

सभ्य आग्रह-प्रत्याग्रह गर्दा उल्टै हनुमानको पदवी भिडाइयो अनि सामान्य बाँदर भन्दा हनुमान बन्नु उत्तम भन्ने प्रत्युत्तर पुर्‍याइयाे । प्रष्ट थियो, तपाईंहरु फुट नै खोज्दै हुनुहुन्थ्यो । तर, सहानुभूति बटुल्न आरोप-प्रत्यारोपको खेल खेल्नु राजनीतिक बैमानी हो कि मूल्य-मान्यता ? पाँडे गालीलाई वाक स्वतन्त्रताको कन्दनी लगाएर कतिन्जेल लाज बच्ला र ?

कमी-कमजोरी एउटा पक्षको मात्र भन्न खोजेको हैन, तर मेरो नजरमा विवेकशील साझा टुक्रनुको प्रमुख कारण विवेकशीलहरुको बाल हठ र अपरिपक्वता नै हो । यो कारणले बैकल्पिक आन्दोलनमा केही असहजता देखिए पनि खासै असर नपुर्‍याउने अड्कल गर्न सकिन्छ । रवीन्द्र मिश्रले अहोरात्र काम गर्दा भएका मानवीय कमजोरीहरुलाई देश बिदेशका शुभचिन्तकहरुले क्षमादान गरे पनि पार्टी फोडेर सम्वृद्धिको स्वैरकल्पनामा हराउनेहरुलाई पक्कै जवाफ दिनेछन् भन्ने यो पङ्गिकारको ठहर हो ।

(डा. कार्की अमेरिकामा अध्यापन गर्छन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment