Comments Add Comment

अरुण तेस्रोको निर्माण तीव्र, ९ महिनामा १५ प्रतिशत काम

७ माघ, विराटनगर । राष्ट्रिय गौरवको अरुण तेस्रो जलविद्युत् आयोजनाको कामले तीव्र गति लिएको छ । गत वैशाख २९ गते प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त शिलान्यास गरेदेखि काम तीव्र रुपमा अघि बढेको छ ।

संखुवासभाको मकालु गाउँपालिका ५ दोभानमा बाँधस्थल र चिचिला गाउँपालिका ३ स्थित दिदिङमा विद्युगगृह निर्माण एक साथ भइरहेको छ । एक खर्ब चार अर्ब रूपैयाँ लागत रहेको आयोजना भारतीय सरकारी आयोजना सतलज हाइड्रोले लिएको छ ।

९ महिनामा १५ प्रतिशत काम

सम्झौताअनुसार अरुण तेस्रो आयोजनाको काम सन् २०२२ सम्म निर्माण सम्पन्न गर्नुपर्छ । सतलजले निर्माण शुरु गरेकोे ९ महिनामा करिब १५ प्रतिशत काम भएको जनाएको छ । सतलज हाइड्रोका कार्यकारी निर्देशक सतिशकुमार शर्माले धेरै काम सँगसँगै थालिएकाले निर्माणले तिब्रता लिएको बताए ।

‘हामी लक्ष्य भेट्टाउने उद्देश्यका साथ काम गरिरहेका छौं’, शर्माले भने ‘ड्याम निर्माणदेखि पावर हाउस र त्यसका लागि आवश्यक सडक संरचना निर्माण भइरहेको छ, बीचमा कुनै अवरोध नभए तोकिएकै समयमा पुरा हुनेमा समस्या छैन ।’

मुख्य सुरुङसम्म पुग्न दोभानमा निर्माण भइरहेको प्रवेश सुरुङ मार्गको ५ सय ९ मिटर लम्बाइमध्ये ३ सय ४७ मिटरको काम सकिएको शर्माले बताए । ४ वटा प्रवेश सुरुङको काम सकिएपछि एकैपटक आठ ठाउँबाट मुख्य सुरुङ निर्माण अगाडि बढाउने तयारी छ ।

दोभानमा रहने बाँधस्थलदेखि दिदिङमा बस्ने विद्युतगृह ११ दशमलब ७ किलोमिटर दूरीमा पर्छ । दोभानमा नदी डाइभर्सन गर्न निर्माण गर्नुपर्ने ३ सय ९३ मिटर लामो सुरुङमध्ये ६५ मिटरको काम सकिएको छ । दैनिक रात र दिनमा गरी दुई पटक ब्लाष्ट गरी अहिले सुरुङ निर्माणको काम जारी छ । दिनमा पाँच मिटरको दरले सुरुङ बनिरहेको आयोजनाले बताएको छ ।

ठेकेदार कम्पनीका अनुसार बाँध निर्माणमा १३ सय र पावर हाउस निर्माणमा ११ सय गरी जम्मा २४ सय मजदुर खटिएका छन् ।
बाँध निर्माणमा भारतीय जयप्रकाश एसोसिएट्स र पावर हाउस निर्माणमा भारतकै पटेल इन्जिनियरिङ कन्सल्टेन्टले काम गरिरहेको छ ।

९ सय मेगावाटको यस आयोजना बनेपछि नेपालले २१ दशमलब ९ प्रतिशत विजुली पाउनेछ भने बाँकी भारतले लैजानेछ । २५ बर्षसम्म भारतले विद्युत उपभोग गरेपछि पुनः सो आयोजना नेपाल सरकारको स्वामित्व ग्रहण गर्नेछ ।

सडकको समस्या

दोभानस्थित बाँध निर्माणस्थलमा व्यवस्थित सडक नहुँदा काममा समस्या भएको छ । खाँदबारी किमाथाङ्का सडक बर्खाको समयमा नचल्ने भएकाले बाँध निर्माणको काम प्रभावित हुने ठेकेदार कम्पनीले जनाएको छ ।

सतलज हाइड्रोका कार्यकारी निर्देशक शर्माले भन्छन् ‘बर्खाको समयमा सडक सञ्चालन हुन सक्ने स्थिति रहेन, निर्माणको काम अवरुद्ध हुन्छ, त्यसैले १२ महिना काम गर्न सक्ने स्थिति निर्माणका लागि सडकलाई ग्राभेल गरेर भए पनि सञ्चालन गर्न आवश्यक छ ।’

खाँदबारीदेखि किमाथाङ्का जोडने सडक मकालु गाँउपालिकाको नुमबजारसम्म कच्ची छ । नुमदेखि बरुणसम्मको सडक त भर्खरै ट्रयाक खोलिएको छ । भर्खरै ट्रयाक खोलिएको सडकमा १८ किलोमिटर यात्रापछि बाँधस्थल दोभान पुगिन्छ । यो सडक बर्खाको समयमा बन्द हुँदा काममा समस्या भएको आयोजनाको भनाइ छ ।

खाँदबारी किमाथाङ्का सडककै च्याङ्कुटीबाट विद्युत् गृहसम्मको २८ दशमलव ६ किलोमिटर सडक ठेकेदार कम्पनी सतलज हाइड्रोले निर्माण गरिसकेको छ ।

प्रशारण लाइनको काम पनि शुरु

आयोजनामा विद्युत प्रशारण लाइनको निर्माणको काम पनि सुरु भएको छ ।

संखुवासभा, भोजपुर, खोटाङलगायत जिल्ला हुँदै प्रशारण लाइन महोत्तरीको ढल्केवरस्थित ४ सय केभीको राष्ट्रिय प्रशारण लाइनमा जोडिने छ ।

नेपालले पाउने २१ दशमलव ९ प्रतिशत विद्युत ढलकेवरस्थित ४ सय केभी प्रशारण लाइनमार्फत वितरण हुनेछ । भारततर्फ लाने विद्युत पनि मुजफ्फरपुर प्रशारण लाइनमा जोडिने छ ।

४९ हेक्टर जग्गाको मुआब्जा वितरण

अयोजनाको बाँधस्थल र विद्युतगृह निर्माण गर्दा व्यक्तिगत ४८ दशमलव ८७ हेक्टर जग्गाको मुआब्जा दिएर स्थानीयलाई स्थानान्तरण गरिएको छ । मकालु गाउँपालिका र चिचिला गाउँपालिका नुम, पावाखोला, दिदिङ, पाथीभरा, मकालु, क्षेत्र आयोजनाका कारण प्रभावित हुनेछन् । आयोजनाले १२४ हेक्टर सरकारी वन जग्गाको प्रयोग गर्नुपर्ने हुन्छ ।

आयोजनाले स्थानीय प्रभावितलाई एक अर्ब १० करोड ८८ लाख रुपैयाँ मुआब्जा वितरण गरिसकेको छ । आयोजनाका अनुसार मुआब्जा वितरण प्रक्रिया ९४ प्रतिशत पूरा भएको छ ।

आयोजनाको अनुमानित लागत एक खर्ब १६ अर्ब रुपैयाँ छ । यसमध्ये सतलजले स्वपुँजीको रुपमा २५ अर्ब लगानी गर्ने र बाँकी ९१ अर्ब भारतको पावर फाइनान्स कर्पोरेसन र अन्य बैंकबाट ऋण लिने भएको छ । विद्युत उत्पादन गर्न एक खर्ब चार अर्ब र प्रसारण लाइन निर्माणमा १२ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment