Comments Add Comment

सुन तस्करी प्रकरण : पहुँचवाला छुटे, भरिया थुनामा

४ पुस, विराटनगर । न्यायको तराजुले पहुँचवाला र पहुुँच नभएकाहरुलाई कसरी विभेद गर्दोरहेछ भन्ने उदाहरण ३८ क्विन्टल सुन तस्करी प्रकरणमा देखिएको छ ।

यस प्रकरणमा मुछिएका अधिकांश हाईप्रोफाइल अभियुक्तहरु अदालतको आदेशमा छुटेका छन् भने भरियाहरु कारागारमा कैद छन् ।

जिल्ला अदालत मोरङको आदेशपछि थुनामा रहेकाहरुले आदेश बदर माग गर्दै उच्च अदालत विराटनगरमा पुनरावेदन दिएका थिए ।

निवेदन दिएकामध्ये ६ प्रहरी अधिकृत र चुडामणि उप्रेती गोरेको समूहलाई सहयोग गर्ने व्यापारीहरु छुटेका हुन् । भरियाहरुको हकमा भने जिल्लाकै आदेश सदर भएको थियो ।

जिल्लाको आदेशपछि थुनामा रहेका टेकराज मल्ल ठकुरी, कृष्ण भन्ने नरेन्द्र कार्की, मोहन काफ्ले, लाक्पा शेर्पाे, एलबी भनिने लालबहादुर मगर, सम्बिरप्रसाद तोलाङ्गे, तुलाराम थारु, पुण्यप्रसाद लामा, हेमन्त गौतम र राजन थापा, गोपालकुमार श्रेष्ठ डीएसपी सञ्जयबहादुर राउत, महावीर गोल्यान, अमरमान डंगोल र एसएसपी श्यामबहादुर खत्रीलाई थुनामै राख्ने आदेश भएको हो ।

उनीहरुमध्ये एसएसपी श्याम खत्री र डीएसपी सञ्जयबहादुर राउतबाहेक अन्य गोरेका भरिया र सहयोगी हुन् ।

उच्च अदालतबाट पूर्वडीआइजी गोविन्द निरौला, एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डीएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेल साधारण तारेखमा पूर्पक्ष गर्न पाउने गरी छुटिसकेका छन् । छुटेका प्रहरी अधिकृत जागिरमा फर्किसकेका छन् ।

गोरेका सहयोगी रामकुमार तिवारी, सञ्जय खेतान भनिने प्रभात अग्रवाल, मदन सिलवाल जनही पा“च लाख धरौटीमा छुटेका हुन् ।

राजकुमार दारुका, माधव भनिने मदनप्रसाद घिमिरे, आरके भन्ने राजेन्द्रकुमार शाक्य र विनोद पोद्दारलाई उच्च अदालतले जनही १० लाख धरौटीमा छाड्ने आदेश दिएको थियो ।

एसएपी खत्रीका ड्राइभर प्रहरी जवान बिष्णुबहादुर खड्का र तत्कालीन सहयोगी अमरबहादुर थापामगरको हकमा भने जिल्लाको धरौटी र साधारण तारेखमा छाड्ने आदेश बदर गरी थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको थियो ।

साधारण र धरौटीमा छुटेकाहरुको हकमा न्यायाधप्श नागेन्द्रलाल कर्ण, सारङ्गा सुवेदी, थीरबहादुर कार्की, उमेशकुमार सिंह र उमेशराज पौडेलको बेञ्चले आदेश दिएको थियो भने जिल्लाकै आदेश सदर भएको बेञ्चमा अन्य न्यायधिस थिए ।

उच्च अदालत विराटनगरबाट कारबाहीमा परेका पाँच न्यायाधीशसहित डा. कुलरत्न भुर्तेल, हरिप्रसाद भण्डारी, जनक पाण्डे र ऋषिराम दवाडीले हेरेका थिए ।

उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश डा. कुलरत्न भुर्तेलले सुन मुद्दा हेर्ने संयुक्त बेञ्च तोक्दै आएका थिए ।

७५ जनालाई अभियोग, ४२ जनाको पुनरावेदन

मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणको छानबिनका क्रममा सुन तस्करीको र्‍याकेट पत्ता लागेपछि गृह मन्त्रालयले सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो ।

समितिले दुई पुरक अभियोगसहित जम्मा ७५ जनालाई विपक्षी बनाएर जिल्ला अदालत मोरङमा ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तब्य ज्यान’ मुद्धा दायर गरेको थियो ।

उक्त मुद्दामा थुनामा रहेका ४३ जनामध्ये ४२ जनाले जिल्लाको आदेशविरुद्ध उच्च अदालत विराटनगरमा पुनरावेदन निवेदन गरेका थिए । मुख्य अभियुक्त भनिएका चुडामणि उप्रेती गोरेले पुनरावेदन गरेका छैनन् ।

निवेदन गरेकामध्ये १२ जनाको निवेदन सुनवाईकै क्रममा छ । प्रहरी र व्यवसायी गरी १२ जना छुटिसकेका छन् ।

१५ जना भरियाको हकमा भने जिल्लाकै आदेश सदर भएको छ भने प्रहरी जवान बिष्णुबहादुर खड्का र अमर थापामगरलाई जिल्लाको आदेश बदर गरी थुनामा राख्ने आदेश दिएको थियो ।

मोरङ प्रहरीमार्फत गत वैशाख १९ गते जिल्ला अदालत मोरङमा दायर गरिएको मुद्दामा १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४७३ रुपैयाँ बराबरको ३७ लाख ९९ हजार ५ सय ६३ ग्राम ( करिब ३८ क्वीन्टल) अवैध रुपमा आयात गरिएको दावी गरिएको छ ।

छुटेका व्यक्ति बेञ्च छुटेको मिति
पूर्वडीआइजी गोबिन्द निरौला सारङ्गा सुवेदी, जनक पाण्डे असोज ११ गते (साधारण तारेख
एसपी बिकाशराज खनाल नागेन्द्रलाभ कर्ण, थिरबहादुर कार्की असोज २ गते (साधारण तारेख
डीएसपी प्रजित केसी, रामकुमार तिवारी उमेशराज पौडेल, उमेसकुमार सिंह भदौ ३१ (साधारण तारेख
एसएसपी दिबेश लोहनी नागेन्द्रलाभ कर्ण, सारङ्गा सुवेदी भदौ २९ गते (साधारण तारेख)
सञ्जय खेतान भन्ने प्रभात अग्रवाल र मदन शिलवाल साधुराम सापकोटा र उमेशकुमार सिंह कात्तिक २९ गते  (धरौटीमा)
राजकुमार दारुका र माधव मदनप्रसाद घिमिरे उमेशराज पौडेल र उमेशकुमार सिंह पुस १९ (धरौटीमा)
बालकृष्ण सञ्जेल थिरबहादुर कार्की र जनक पाण्डे मंसिर २० (साधारण तारेख)
आर के भन्ने राजेन्द्रकुमार शाक्य र बिनोद पोद्दार नागेन्द्रलाभ कर्ण र थीरबहादुर कार्की मंसिर २७ (धरौटीमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment