Comments Add Comment

हिमालयन शेर्पासँग पुलिस स्तव्ध

७ माघ, सिमरा । विभागिय टिम नेपाल पुलिसलाई स्तव्ध पार्दै हिमालयन शेर्पा क्लब दशौं सिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार सिमरा रङ्गशालामा भएको संघर्षपूर्ण खेलको शेर्पाले पुलिसविरुद्ध २–० को जित निकालेको हो । खप्तड गोल्डकपको उपाधि उचालेर धनगढीबाट सिमरा आइपुगेको पुलिसका स्टार खेलाडीहरु चल्न नसक्दा सिमरा गोल्डकपको क्वार्टरफाइनलबाटै घर फर्कन बाध्य भयो ।

हिमालयन शेर्पाको जितमा त्रिदेव गुरुङ र विश्वास श्रेष्ठले गोल गरे । दुबै गोल खेलको अन्त्यतिर भएको थियो । खेलको ८६ औं मिनटमा हिमालयनका लागि त्रिदेवले गोल गरेका थिए । विश्वासले इन्जुरी टाइमको अन्तिम समयमा गोल गर्दै हिमालयन शेर्पालाई २–० को जित दिलाए ।

खेलमा पुलिसले हिमालयनविरुद्ध आकर्षक अवसर बनाउनै सकेन ।

पुलिसका प्रशिक्षक अनन्त थापाले थकानका कारण खेलाडी चल्न नसकेको भन्दै हारलाई स्वभाविक रुपमा लिएको बताए ।

मोफसलमा लगातार प्रतियोगिता आयोजना हुँदा खेल्न गाह्रो हुने गरेको उनको भनाइ थियो । ‘प्रतियोगिताका आयोजकहरुले पनि क्लबको बाध्यतालाई हेरेर प्रतियोगिता आयोजना गर्नुपर्छ’ थापाले भने । थाकेका खेलाडीले जति खेले त्यसबाट आफू सन्तुष्ट रहेको उनको भनाइ थियो ।

हिमालयन शेर्पाका प्रशिक्षक सुवास लिम्बुले संघर्षपूर्ण जितबाट सन्तुष्ट रहेको बताए । ‘पुलिसविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गर्न नसकेपनि जीतपछि सन्तुष्ट हुनैपर्छ’ उनले भने ।

शनिबार वीरगञ्जमा फाइलन खेलेका खेलाडीहरु भएकाले आफ्ना खेलाडी समेत थकित रहेको र टिमका केहि खेलाडी बाहिर भएकाले प्रदर्शन सोचेजस्तो नभएको लिम्बुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment