Comments Add Comment

गोविन्द केसी कार्यरत अस्पतालको बिजोग, डाक्टर रिसाहा, कर्मचारी छुच्चा

प्रहरीले समातेको ४ किलो सुन राजश्वमा पुग्दा तामा !

८ माघ, काठमाडौं । राजधानी काठमाडौंबाट आज प्रकाशित दैनिक पत्रिकाहरुले घटनाप्रधान समाचारहरुसँगसँगै खोजमूलक सामग्रीलाई पनि उत्तिकै प्राथमिकता दिएका छन् । खासगरी कांग्रेसले सोमबार सदनमा पुर्याएको अवरोधलाई अधिकांश दैनिक पत्रिकाहरुले ‘कभरेज’ गरेका छन् । उच्च अदालत विराटनगरका मुख्यन्यायाधीश कुलरत्न भुर्तेल न्यायपरिषद् सचिवालयमा तानिएको विषय पनि आजका सबैजसो दैनिक पत्रिकाहरुमा छापिएको छ । साथमा टिचिङ हस्पिटलको सेवाप्रवाहको चिरफारदेखि पशुपतिको जग्गामाथि भइरहेका अतिक्रमणसम्मका खोजमूलक सामग्रीलाई पनि आजका पत्रपत्रिकाहरुले पस्केका छन् ।

अन्नपूर्णले अनशनरत डा. गोविन्द केसी कार्यरत टिचिङ अस्पतालको सेवाप्रवाहबारे एक सामग्री छापेको छ । चिकित्सा सेवा र स्वास्थ्य शिक्षासँग सम्बन्धित माग राखेर केसी अनशन बसिरहेका बेला अन्नपूर्णले भने टिचिङकै सेवा प्रवाह निकै कमजोर रहेको तथ्य–तथ्यांक प्रस्तुत गरेको छ । समाचार अनुसार, टिचिङका डाक्टर निकै रिसाहा छन् भने कर्मचारी छुच्चा । सेवा प्रवाहमा कर्मचारीले ढिलाइ गर्दा बिरामी निजीमा जान बाध्य हुने गरेको समस्या पनि अन्नपूर्णले औंल्याएको छ । फार्मेसीमा औषधि पनि पाइँदैन । कुरुवाको बारेमा अस्पताल जति बेपरबाह छ, सुरक्षामा पनि ध्यान पुग्न सकेको छैन । अन्नपूर्णका अनुसार, बिरामी तथा तिनका कुरुवाहरुको सामग्री दैनिकजसो हराउने गरे पनि अस्पतालले सुरक्षातर्फ ध्यान दिन सकेको छैन ।

पशुपतिनाथको जग्गाबारे चासो राख्दै आइरहेको अन्नपूर्णले आज पनि यसैलाई मुख्य समाचार बनाएको छ ।

अन्नपूर्ण लेख्छ– पशुपति क्षेत्र विकास कोषअन्तर्गत सञ्चालित मन्दिरको जग्गाजमिन अथाह भए पनि यसको सदुपयोग हुन सकेको छैन । काठमाडौं उपत्यकाभित्रका तीन जिल्ला, आसपासका काभ्रे, नुावकोट , लमजुङका साथै तराईमा सयौं बिघा जमिन भए पनि कोषले वार्षिक करिब ६० लाख रुपैयाँ मात्र कुतबापत बुझ्दै आएको छ ।

अन्नपूर्णका अनुसार व्यवसायीले जग्गाबाट अकुत कमाइरहे पनि पशुपतिनाथलाई भने जात्रापर्व चलाउनसमेत हम्मेहम्मे छ ।

मुख पृष्ठमा सोमबार कांग्रेसले गरेको संसद् अवरोधको तस्वीर छापेको कान्तिपुरले स्वाइन फ्लु संक्रमण बढेको दाबी गरेको छ । समाचार अनुसार दुई महिनामा डेढ सयभन्दा बढी व्यक्तिमा प्रयोगशाला प्रमाणित स्वाइन फ्लु देखिएको छ ।

फ्रिक्विेन्सी लिलाम बढाबढ अघि बढाइने भएको, मुख्य न्यायाधीश तानिएकोलगायत खबरलाई पनि कान्तिपुरले पहिलो पृष्ठमा समेटेको छ ।

‘कांग्रेसद्वारा संसद् अवरुद्ध’ शीर्षक दिएर नागरिकले मुख्य समाचार बनाएको छ । त्यसैगरी, विदेशी बैंकमा पैसा राख्नेमाथि सरकारले निगरानी बढाएको अर्को खबर पनि नागरिकमा छ । व्यवसायी घरानाले स्विस बैंकमा पैसा राखेको समाचार प्रकाशित भएपछि प्रधानमन्त्री कार्यालयले सम्पत्ति शुद्धीकरण विभागलाई अनुसन्धान गर्न निर्देशन दिएको छ । प्रधानमन्त्री कार्यालयमातहत रहेको सम्पत्ति शुद्धीकरण तथा राजश्व अनुसन्धान महाशाखाले केही दिनअघि पत्राचार गरी विभागलाई अनुसन्धान गर्न निर्देशन दिएको समाचारमा उल्लेख छ ।

राजधानीको आँखा अस्वस्थकर मासुमाथि परेको छ । मुलुकभर अस्वस्थकर मासुको बिक्री बढे पनि अनुगमनको जिम्मेवारी पाएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग भने कानमा तेल हालेर बसेको राजधानीको समाचारको सार छ ।

गोरखापत्रको पहिलो पृष्ठमा स्विजरल्यान्डमा प्रधानमन्त्रीको भव्य स्वागत भएको समाचार छ । त्यस्तै हुम्ला लिमीगाउँका युवा कमाउन निस्केपछिको अवस्थालाई गोरखापत्रले एंकर बनाएको छ ।

नयाँ पत्रिकाले प्रहरीले केही समयअघि ४ किलो सुन नियन्त्रणमा लिएको भनेर गरेको प्रचारको गुह्य खोतलेको छ । समाचार अनुसार, प्रहरीले सुन बरामद गरेको भनेर दाबी गरे पनि अनुसन्धानका क्रममा त्यो तामा भएको फेला परेको छ ।

कांग्रेसले गठन गर्न लागेको छाया सरकारको चर्चा पनि आज नयाँ पत्रिकाले गरेको छ । समाचार अनुसार, छाया सरकारको मन्त्री बन्न अर्बपति विनोद चौधरीले पनि इच्छा देखाएका छन् । उमेश श्रेष्ठले शिक्षा मन्त्री बन्ने रहर देखाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment