Comments Add Comment

घर–आँगनबाटै नागरिकता र स्वास्थ्य सेवा पाउँदा घोर्थलीका स्थानीय दंग

८ माघ, सिन्धुपाल्चोक । जिल्लाको हिमाली गाउँ घोर्थलीबाट सदरमुकाम चौतारामा नागरिकता बनाउन विगतमा ४ दिन लाग्थ्यो । तर, गाउँमा नै सरकारी टोली आएर एकै छिनमा हातमा नेपाली नागरिकताको प्रमाण पत्र पाउँदा बाह्रबीसे नगरपालिका–१, घोर्थलीकी सन्तोषी मगर निकै फुरुंग छिन् । बाबुसँगै नागरिकता बनाउन नगरपालिकाले आयोजना गरेको एकीकृत घुम्ती शिविरमा आएकी उनले भनिन्, ‘घरछेउमै एकै छिनमा नागरिकता पाएँ । खुसी छु ।’

सन्तोषीका बाबु मिलनकुमार मगर पनि छोरीले सहजै नागरिकता पाउँदा खुसी छन् । जेठो छोराले अघिल्लो वर्ष ४ दिन र १० हजार खर्चेर नागरिकता लिएको स्मरण गर्दै उनले भने, ‘आधा घण्टामै ५ रुपैयाँमा नागरिकता बन्ला बन्ने सोचेको थिइनँ’, प्रफुल्ल मुद्रामा मिलनले भने ।

सदरमुकाम टाढा भएकाले नागरिकता प्रमाणपत्र लिन नपाएका घोर्थलीका स्थानीय राज मगरले पनि सजिलै नागरिकता हात पारेका छन् ।

गाउँबाट सदरमुकामसम्मको दूरीले सरकारी सेवा लिन हैरानी खेप्दै आइरहेका यहाँका स्थानीय घुम्ती शिविरले प्रवाह गरेको सेवाबाट लाभान्वित भएका छन् ।

गाउँ–गाउँमा सिंहदरबारको नारालाई सार्थकता दिन एकीकृत घुम्ती शिविर गरिएको बाह्रबीसे नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार, घुम्ती शिविरको यो दोस्रो संस्करण हो ।

स्थानीयले नागरिकताका लागि घुम्ती शिविर आयोजना गर्न आग्रह गरेकाले त्यही अनुरुप जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा नागरिकता वितरण गरिएको बाह्रबीसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले बताए ।

दोलखा र सिन्धुपाल्चोकको सीमा घोर्थलीमा आयोजित एकीकृत शिविरमा धेरैले स्वास्थ्य परीक्षण गराएका छन् । नगरपालिकाका अनुसार, पशु चौपायामा देखिएको समस्या लिएर पनि उत्तिकै मात्रामा सेवाग्राही आएका थिए ।

दम रोगबाट पीडित स्थानीय ८५ वर्षीया मंगलमाया मगरलाई उनका आफन्तले बोकेरै शिविरमा ल्याएका थिए । शिविरमा आएका चिकित्सकसँग जाँच गरेपछि औषधि बोकेर उनी फर्किएकी थिइन् । ‘गाउँको स्वास्थ्य चौकीबाट औषधि पाउन सकेको थिइनँ । गाउँमा आएको शिविरबाट स्वास्थ्य परीक्षणसँगै औषधिसमेत पाउँदा खुसी लागेको छ ।’ नगरपालिकाका अनुसार, शिविरबाट ५ सयभन्दा बढीले लाभ लिएका छन् ।

वृद्धाहरुलाई सम्मान

नगरपालिकाले एकीकृत घुम्ती शिविरका क्रममा वृद्धवृद्धाहरुलाई नगदसहित सम्मानसमेत गरेको छ । नगद २ हजार ५ सय, सम्मानपत्र, मिष्ठान भोजन र दोसल्लाले उनीहरुलाई सम्मान गरिएको हो ।

घुम्थाङबाट थालिएको सम्मानलाई घोर्थलीमा पनि निरन्तरता दिएको बाह्रबीसे नगरपालिकाकी उपमेयर सुशीला पाख्रिनले जानकारी दिइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment