Comments Add Comment

कलाकारले फिल्म असफलताको जिम्मेवारी लिने कि भाग्ने ?

सन् २०१८ मा बलिउड स्टार आमिर खान अभिनित चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’ बक्स अफिसमा नमज्जाले चिप्लियो । चलचित्रबाट दर्शक असन्तुष्ट भएको थाहा पाएसँगै आमिर खानले दर्शकसँग माफी माग्दै चलचित्र असफलताको पूर्ण जिम्मेवार आफूले लिएका थिए । उनको उक्त शैलीको सबैले मुक्तकण्ठले प्रशंसा गरे । चलचित्र असफलताको जिम्मेवारी आमिरले आफ्नो काँधमा लिए ।

त्यो समचार आएको केही दिन पछि काठमाण्डौमा आयोजित एक अवार्ड समारोहमा कार्यक्रम संचालक बनेरका थिए, नायक प्रदिप खड्का र नायिका केकी अधिकारी । नायिका केकीले प्रदिपलाई ‘फ्लप क्लबमा स्वागत छ’ भन्दा प्रदिपले उक्त कुरा पचाएनन् । त्यस समय प्रदिपले आफूलाई आमिर खानसँग तुलना गरे । तर, उनले आफ्नो चलचित्र ’रोज’ असफलताको जिम्मेवारी उठाउन त के, असफल भयो भनेको समेत सुन्न चाहेनन् । अहिले पनि उनी चलचित्र हिट भएको भन्दै तर्क गर्न पछि पर्दैनन् ।

सोमबार मात्र चलचित्र ‘दि ब्रेकअप’को ट्रेलर रिलिज कार्यक्रम थियो । नायक आशिरमा देशराजले पनि आफूलाई बलिउड स्टारसँग तुलना गरे । बलिउड स्टारको चलचित्र पनि असफल भएको भन्दै चलचित्र चल्नको लागि कथाबस्तु बलियो हुनुपर्ने उनले बताए । उपस्थित पत्रकारले आशिरमान देशराज जोशीलाई आमिरको नाम लिदै पहिलो चलचित्र ‘ग्याङ्गस्टार ब्युज’ असफलताको जिम्मेवारी लिन सक्नुहुन्छ भन्ने प्रश्न गरे । आशिरमानले घुमाउरो पारामा आफूले लिन नसक्ने बोली बोले । चलचित्र हिट हुँदा आफू सुपरस्टार भएको दम्भ देखाउने नेपाली कलाकार असफल हुँदा पानीमा भिजेको विरालो जस्तै लुसुक्कै कतै लुक्न पुग्छन् ।

नायिका बर्षा राउत सोलो चलचित्र दिएर आफू हिट हुन चाहेको तर्क खुबै गर्थिन् । सधै भीडका चलचित्रमा काम गरेर उनले आफूलाई स्टार कलाकार त बनाइन् तर सोलो नायिका बनेर आफूलाई प्रस्तुत गर्ने आँट नै गर्न सकिनन् । तर, यो पटक उनलाई ‘चौका दाउ’ले सो मौका दियो । यो चलचित्र बक्स अफिसमा यसरी चिप्लियो कि, बर्षाको क्रेज खुबै छ भन्ने चर्चा पनि अर्थहिन बन्यो । भीडका चलचित्रमा काम गरेर हिट भएकी बर्षाले चलचित्र नचल्ने छनक पाएपछि प्रचारमा आफूलाई उपस्थित नै गराइनन् । बरु, उनी चलचित्र चलेकै दिन भारततिर लागिन् र बिहे गर्न लागेको घोषणा फेसबुकबाट गरेर नेपाल फर्किइन् ।

अहिले कलाकारलाई सजिलो भएको छ । चलचित्र असफल हुँदा बलिउडका स्टार खानहरु त असफल हुन्छन् भनेर सजिलै भनिदिन्छन् । चलचित्र असफल हुँदा तर्कवितर्क गरेर अन्तै मोड्ने कलाकारले चलचित्र सफल हुँदा सबै मेरै कारणले हो भन्दै कुर्लन समय लगाउँदैनन् । कलाकारको काम चलचित्रमा अभिनय गर्ने मात्र हैन, दर्शकलाई सन्तृुष्ट बनाउन नसक्दा त्यसको जिम्मेवारी लिन समेत सक्ने खुबी राख्नुपर्छ ।

कुरा आमिर खानको नै गरौ । आमिरले भन्ने गर्छन्–‘कोही निर्माताले आफूमाथि विश्वास गरेर करोडौ लगानी गरेको छ भने, त्यो निर्माताको अनुहारमा खुसी भर्ने जिम्मा हामी कलाकारको हो ।’ तर, नेपाली चलचित्रका कतिपय कलाकारले त्यो बुझेका छैनन् । सुटिङ सकेर पारिश्रमिक हातमा परेपछि उनीहरुको आफ्नो जिम्मेवारी र कर्तव्य भुलिदिन्छन् । नायक दयाहाङ राई चलचित्र सफलता र असफलताको जस कलाकार र मेकर दुबैले लिनुपर्ने तर्क दिन्छन् । उनी भन्छन्,–‘चलचित्र भनेको टिमवर्क हो । त्यसको मुख्य हिस्सा भनेको त निर्देशककै हुन्छ । कलाकारले पनि राम्रो हुदा क्रेडिट लिन्छन् भने नराम्रो हुँदा पनि त्यसको जिम्मेवारी लिन सक्नुपर्छ ।’

त्यस्तै, निर्देशक दिनेश राउत पनि चलचित्र सफल तथा असफल हुदाको जस वा अपजस कलाकार र मेकर दुबैले लिनुपर्ने बताउँछन् । उनी भन्छन्–‘चलचित्र राम्रो वा नराम्रो बन्यो भन्ने कुरा मेकरको हातमा हुन्छ । तर, पारिश्रमिक लिएको हिसाबमा त कलाकारले चलचित्र ब्यापारको पूर्ण जिम्मेवार लिनुपर्ने हुन्छ ।’

कलाकार दयाहाङ राई थप्छन्–‘‘हामीमा आइपुगेको कथा सुन्दा केही नयाँ लाग्छ । त्यसैले राम्रो हुने आशमा हामीले त्यसमा काम गर्छौं । जब फ्लोरमा पुग्छौ त्यसपश्चात् विवाद सुरु हुन्छ । मेकरले गरेको हत्तारोले नै चलचित्रबाट राम्रो काम निस्कन सक्दैन ।’

मेकरहरुमा स्टार कलाकारले दशर्क तान्छ भन्ने अपेक्षा हुनु गलत हो । दर्शक स्टारले हैन कथा र प्रस्तुतीले तान्छ । कोही मेकरले स्टार कलाकार लिएर चलचित्र चलाउँछु र पैसा कमाउँछु भनेर सोच्छ भने उ सुरुमै असफल हुने तर्क दयाको छ । ‘स्टारले चलचित्र चल्दैन्’, उनी थप्छन्, ’स्टारले त चलचित्रलाई नोटिस गराउनमात्र सक्छ । चलचित्र चल्ने त कथा र प्रस्तुतीले नै हो ।’

स्टारले मात्र चलचित्र नचल्ने तर्क दिने निर्देशक राउत चलचित्र चल्नका लागि मेकर र कलाकारको राम्रो समिश्रण हुनुपर्ने बताउँछन् । ‘दुबै पक्षको राम्रो समिश्रण भए मात्र चलचित्र सफल हुन्छ । नत्र त एक–अर्कालाई दोष दिनुको विकल्प हुन्न ।’

एउटा चलचित्र सफल हुने वित्तिकै पारिश्रमिक दिनको दुई गुणा रातको चार गुणा बढाउने नेपाली चलचित्रका कलाकार चलचित्र असफल हुँदा त्यसलाई सजिलै स्विकार गर्न सक्दैनन् । चलचित्रमा महंगो पारिश्रमिक लिएर काम गरिसकेपछि त्यसको जिम्मेवारी लिने हिम्मत पनि राख्नुपर्छ । होइन भने, बलिउडमा यस्तो भएको थियो भनेर तर्कनुको कुनै तुक छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment