Comments Add Comment

साढे दुई करोड ठगेर फरार भएकी सरिता दरबारमार्गबाट पक्राउ

८ माघ, पोखरा । साढे दुई करोड रुपैयाँ ठगेर फरार भएकी एक महिलालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

बागलुङ बडिगार्ड गाउँपालिका-८ घर भइ पोखरा महानगरपालिका-२६ अर्घौमा बस्दै आएकी ४२ वर्षीया सरिताकुमारी रानालाई प्रहरीले काठमाडाैंको दरबारमार्गबाट पक्राउ गरेको हो ।

सरिताले सर्बसाधारणलाई विभिन्न प्रलोभन देखाउँदै ठगी गरेर फरार भएको भनी उजुरी परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) ओमबहादुर रानाले बताए ।

पोखरा-२६ अर्घौंका दिलमाया पुन, जीतबहादुर पुन, नरमाया थापामगर, तारा पुन थापा, चन्द्रबहादुर सुनारलगायतले सरिताबिरुद्ध उजुरी दिएका थिए ।

एसपी रानाका अनुसार सरिताले घरजग्गा खरिद गर्न, जग्गासँग घरर घरसँग जग्गा साटिदिने प्रलोभन देखाएर रकम लिएर गठी गरेकी हुन् ।

प्रहरीले सरितासँग घर र जग्गा नभएपनि फ्ल्याट भाडामा लिएर बस्ने गरेको र उनीसँग काम गर्ने मान्छे तथा प्राइभेट कार पनि रहेको जनाएको छ ।

उनले पोखरा-२६ अर्घौंकी दिलमाया पुनसँग सबैभन्दा बढी एक करोड ७० लाख ८५ हजार रुपैयाँ ठगी गरेको प्रहरीले बताएको छ ।

ठगीको उजुरी दिने मध्येकी पुनले आफूसँग पटकपटक गरेर सरिताले उक्त रकम लगेको बताइन् ।

सरिताले आफू जडिबुटी कम्पनीको मालिक भएको, हाइड्रो पावरको मालिक, कवाडी सञ्चालकलगायत परिचय दिदै शुरुमा ५० हजार, एक लाख, दुई लाख गर्दै १० लाखसम्म लगेर फर्काएर विश्वास दिलाएर थप एक करोड लिएको पुनको दावी छ ।

एक करोड लगेपछि भने घर दिन्छु, जग्गा दिन्छु भन्दै लोभ्याएर थप रकम लिएको उनको भनाइ छ । ‘एक करोड लगेको केही समयपछि फेरि ४० लाख लगिन्, त्यसपछि न ब्याज न सावाँ फिर्ता भयो । पछि म समस्यामा परेँ, अब ३१ लाख देऊ, त्यो अर्कैलाई बुझाएपछि मेरो फसेको पैसा फिर्ता आउँछ त्यसपछि तिमीलाई सबै रकम फिर्ता दिन्छु भनेर ३० लाख ८५ हजार लगिन् ।’

ठगिएका अर्का व्यक्ति अर्घौंकै जीतबहादुर पुनले आफ्नो १० लाख लगेको बताए । कहिले हार्डवेयर पसल छ भन्ने त कहिले कम्पनीको मालिक हुँ भन्दै घर बनाउनका लागि ऋण दिन आग्रह गर्दै पैसा लगेको उनको भनाइ छ ।

पैसा लगेपछि एनआईसी एसिया बैंकको चेक दिने र चेक साट्न जाँदा तीन पटकसम्म बाउन्स भएपछि प्रहरी गुहार्नुपरेको जीतबहादुरले बताए ।

ठगीको आरोपमा पक्राउ परेकी रानालाई प्रहरीले मंगलबार दिउँसो सार्वजनिक गरेको हो । सरिताले आफूले रकम लिएर फिर्ता नगरेको स्वीकार गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment