Comments Add Comment

रामचन्द्रको गृह जिल्लामा कांग्रेसको समानान्तर जिल्ला कार्यसमिति गठन

८ माघ, तनहु । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृह जिल्ला तनहुँमा कांग्रेसको समानान्तर जिल्ला कार्यसमिति गठन भएको छ । नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशी पक्षधरले समानान्तर कार्यसमिति गठन गरेका हुन् ।

मङ्गलबार दमौलीमा आयोजित विशेष जिल्ला अधिवेशनबाट समानान्तर कार्यसमितको सभापतिमा डिल्लीराम अधिकारी चयन भएका छन् । अधिवेशनले नेपाली कांग्रेसको विधान २०१७ दफा १० अनुसार विभिन्न क्षेत्र र बर्गबाट निर्विरोध पदाधिकारी तथा सदस्यहरु घोषणा गरेको छ ।

कार्यसमिति सचिवमा चिनु पोख्रेल, कोषाध्यक्षमा बालकृष्ण पौडेल र सदस्यहरुमा महिला समूह क्षेत्र नं १ बाट बालकुमारी लोहनी र एलिसा गुरुङ, अन्य समूह क्षेत्र नं १ का नुरचन्द्र वाग्ले र सुकुमलाल गुरुङ, अन्य समूह क्षेत्र नं २ बाट ध्रुबकुमार श्रेष्ठ र ऋषिराम पोख्रेल, दलित समूह क्षेत्र नं २ बाट ओमबहादुर नेपाली र बुद्धिमान नेपाली, जनजाति समूह क्षेत्र नं १ बाट केशरबहादुर गुरुङ, जनजाति समूह क्षेत्र नं २ बाट नरेन्द्र थापा, अल्पसंख्यक समूह क्षेत्र नं १ बाट चित्तबहादुर थापा र क्षेत्र नं २ बाट इज्जत अलि मियाँ निर्विरोध निर्वाचित भएका छन् ।

विशेष जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै नेपाली कांग्रेससका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले अहिलेको कांग्रेसको नेतृत्व इतिहासकै असक्षम भएको कारण विशेष अधिवेशनबाट नेतृत्व परिवर्तन गर्नु परेको बताए ।

काङ्ग्रेसको किल्लाको रुपमा रहेको तनहुँ जिल्लामा २०७४ सालको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा कांग्रेसका सबै उम्मेदवार पराजित हुनु कांग्रेसको नेतृत्व असमक्ष हुनुको प्रमाण रहेको जोशीले बताए ।

पार्टी कार्यालय जान प्रहरीले रोक्यो

विशेष अधिवेशन पश्चात् पार्टी कार्यालयमा पदस्थापन गर्ने जोशी समूहको नेताहरुको प्रयास असफल भएको छ । बिहानैदेखि पार्टी कार्यालय घेराउ गरेर बसेको प्रहरीले उनीहरुलाई पार्टी कार्यालय भन्दा ५० मिटर परै रोकेर पार्टी कार्यालय प्रवेशमा रोक लगाएको हो ।

प्रहरीले अघि बढ्न नदिएपछि नेता जोशीले सोही ठाउँबाट प्रहरी प्रशासनको आड लिएर कांग्रेस कार्यकर्तालाई आफ्नै पार्टी कार्यालय जान नदिएकोमा आपत्ति प्रकट गरेका छन् ।

जोशीले प्रहरी प्रशासन लगाएर कांग्रेस कार्यकर्तालाई तर्साउने सपना नदेख्न चेतावनी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment