Comments Add Comment

मापदण्ड विपरीत नदीजन्य पदार्थ उत्खनन् रोक्न निर्देशन

८ माघ, बुटवल । प्रदेश नम्बर ५ प्रदेश सभाको अर्थ,उद्योग तथा पर्यटन समितिले मापदण्ड बिपरीत नदिजन्य पदार्थको उत्खनन् तत्काल रोक्न र खानी सञ्चालनका लागि अनुमति दिइएका स्थानहरुको विवरण तीन दिन भित्र उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ ।

मंगलबार बसेको समितिको बैठकले उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालयलाई उक्त निर्देशन दिने निर्णय गरेको हो । नदिजन्य पदार्थ उत्खनन्का लागि ठेक्का नलागे पनि अवैध रुपमा उत्खनन् गरी चोरी निकासी भैरहेको र ठेक्का भएका स्थानहरुमा पनि मापदण्ड विपरीत र तोकिएभन्दा बढी परिमाणमा निकालेर चोरी निकासी भैरहेको भन्दै समितिले मापदण्ड विपरीत सञ्चालित खानी तत्काल बन्द गर्न र अनुमति दिइएका ठाउँहरुको विवरण उपलब्ध गराउन निर्देशन दिएको हो ।

अवैध रुपमा भैरहेको नदिजन्य पदार्थको उत्खनन् र चोरी निकासीले राज्यलाई राजश्वमा घाटा लागेको समितिको ठहर छ । समितिका सभापति दधिराम न्यौपानेले नदिजन्य पदार्थको चोरी निकासीमा ठुलै गिरोहको संलग्नता रहेको भन्दै त्यसको नियन्त्रणका लागि प्रभावकारी अनुगमन र सम्बन्धित निकायलाई सचेत गराउन आवश्यक रहेको बताए ।

बैठकमा समितिका सदस्य तुल्सीप्रसाद चौधरीले जिल्ला समन्वय समिति रुपन्देहीले रुपन्देहीको शुद्धोधन गाउपालिका वडा नं ६ धनौरामा मापदण्ड विपरीत नदिजन्य पदार्थ उत्खनन्का लागि अनुमति दिएको र सो ठाउबाट नदिजन्य पदार्थ उत्खनन् गर्न दिइए त्यस क्षेत्रको बस्ती डुबानमा पर्ने भन्दै सो को अनुमति दिने अधिकारीहरुलाई कार्बाहीको दायरामा ल्याउनुपर्ने बताए ।

उक्त स्थानमा ५ फिट गहिराइसम्म उत्खनन् गर्ने अनुमति लिएर २० फिट गहिराईसम्म उत्खनन् गरेर राजश्व चुहावट गरेकोले उक्त कार्य तत्काल बन्द गराउन समेत उनले माग गरे ।

बैठकमा समितिका सदस्यहरु अम्मरबहादुर डांगी, तुलाराम घर्ती मगर, थानकुमारी थापा, कृष्णप्रसाद न्यौपाने,  पुरमती ढेगा,माला गोतामेले बोल्दै रुपन्देहीलगायत नवलपरासी,कपिलबस्तु, दाङ र बाँके जिल्लामा नदिजन्य पदार्थको अबैध उत्खनन् र चोरी निकासी भैरहेको भन्दै त्यसको नियन्त्रणका लागि अनुगमनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment