Comments Add Comment

पूर्वजर्नेलको भिजिटिङ कार्ड देखाएर ठगी धन्दा, पीडितको उजुरी – खसी पनि लग्यो

८ माघ, काठमाडौं । नेपाली सेनाका एक पूर्वअधिकारीको नाम लिएर ठगी धन्दा मच्चाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्वजर्नेल आदित्यबहादुर शाहको नाम लिएर ठगी गर्दै आएका मदनजंग शाह छन् ।

उनलाई महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरको टोलीले सोमबार बेलुकी शान्तिनगरबाट पक्राउ गरेको हो । वृत्तका प्रमुख डीएसपी गोविन्दराज काफ्लेका अनुसार उनले पूर्वजर्नेलको भिजिटिङ कार्ड बोकेर सर्वसाधारणलाई प्रलोभनमा पारेका थिए ।

हालसम्म उनीबाट दुई जना पीडित भएको भेटिएको छ । अझै बढी व्यक्ति उनीबाट पीडित भएको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यस्तो छ, ठगी श्रृङ्खला

काठमाडौं–४ मा बस्दै आएका मदनजंगले पूर्वजर्नेललाई दिइएको उद्योग मन्त्रालयको अस्थाइ प्रवेश कार्डमा आफ्नो तस्वीर राखेर दुरुपयोग गर्दै आएका थिए ।

त्यही कार्ड देखाएर उनले प्रयाग कार्कीलाई एमबीबीएसको आरक्षण कोटामा नाम निकाल्दिछु भनेर ४ लाख रुपैयाँ लिएको समेत खुलेको छ । उनले प्रलोभन देखाएर खसीसमेत लगेको प्रहरीमा दिइएको जाहेरीमा उल्लेख छ ।

सिन्धुलीस्थित आरती होटलमा बसेर सञ्चालकलाई समेत उनले ठगेको अनुसन्धानका क्रममा खलुेको छ । केही दिन त्यहाँ बसेका उनले मालपोतमा छुटमा पूर्जी मिलाइदिन्छु भनेर ७ लाख रुपैयाँ लिएको उजुरी परेको छ ।

हाल प्रहरीले उनीमाथि जिल्ला अदालत, काठमाडौंबाट ५ दिन म्याद थप गरेर विस्तृत अनुसन्धान गरिरहेको छ । यसअघि काठमाडौं प्रहरी परिसर, टेकुले प्रहरी प्रधान कार्यालयका एक जना डीएसपीको नाम लिएर ठगी धन्दा चलाउने व्यक्तिलाई पनि पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment