Comments Add Comment

आजका पत्रपत्रिकाः वाइडबडी जाँचबुझ गर्न गठित समितिले अझै पाएन जिम्मेवारी

काठमाडौंबाट आज प्रकाशित अधिकांश दैनिक पत्रिकाको पहिलो प्राथमिकतामा संसद् बैठक परेको छ । मंगलबार संसद्को संसद् अवरोधलाई कान्तिपुर, अन्नपूर्ण र राजधानीले ‘संसद्मा घम्साघम्सी’ शीर्षक दिएर लेखेका छन् ।

त्यस्तै, मलेसिया रोजगारी, साझा स्वास्थ्य सहकारीको घोटाला, नेकपाको एकतालगायतका विषयमाथि पनि आजका पत्रपत्रिकाहरुले समाचार बनाएका छन् ।

सांसद्लाई अनशनरत डा. गोविन्द केसीले गरेको आग्रहलाई मुख्य समाचार बनाएको नागरिकले टुटलका नाममा यात्रु बोक्ने सेवा व्यापार गरिरहेको हाइपर लुक्स नेपालले विनादर्ता भ्याट असुली गरेको औंल्याएको छ ।

त्यस्तै, नेपाल वायुसेवा निगमले खरिद गरेको दुइटा वाइड बडी विमानका विषयमा छानबिन गर्न सरकारद्वारा गठित आयोग बेखबर बनेको नागरिकले लेखेको छ । आयोग बनाएको दुई साता बित्दा पनि काम थाल्नु त परको कुरा आयोगमा रहेका सदस्यलाई औपचारिक जानकारीसमेत नदिइएको समाचारमा उल्लेख छ ।

संसद्को सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले वाइडबडी खरिदमा चार अर्ब ३५ करोड अनियमितता भएको प्रतिवेदन सार्वजनिक गरेको थियो । प्रदिवेदन अपूर्ण रहेको भन्दै पुस १९ गते सरकारले तीन सदस्यीय आयोग गठन गरेको थियो । पूर्वमुख्यन्यायाधीश गोविन्दप्रसाद पराजुलीको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरिए पनि जिम्मेवारी भने नदिइएको नागरिकको समाचारमा उल्लेख छ ।

कान्तिपुर, अन्नपूर्णले एउटै शीर्षक ‘संसदमा घम्साघम्सी’ दिएर कांग्रेसले मंगलबार गरेको संसद् अवरोधलाई मुख्य समाचार बनाएका छन् । कान्तिपुरको पहिलो पृष्ठमा व्यापारी अजयराज सुमार्गीको रकम फिर्ता गर्न राष्ट्र बैंकले आलटाल गरेको, सुदूरपश्चिम र कर्णालीमा हिमपात भएकोलगायत खबर छन् ।

अन्नपूर्णले संसद् गतिविधिको कभरेजसँगै मलेसिया रोजगारी कचल्टिएको लेखेको छ । जनकपुरमा मठमन्दिरका अर्बौंका जमिन गायब भएको खोजमूलक सामग्री पनि आजको अन्नपूर्णमा प्रकाशित छ ।

नयाँ पत्रिकाले ‘सत्तापक्षको हतारो, प्रतिपक्षको तगारो’ शीर्षक दिएर संसद्को कचिंगलबारे चर्चा परिचर्चा गरेको छ ।

राजधानीले सरकारको लगानी रहेको साझा स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेडका कर्मचारीले १५ लाख मूल्यबराबरको औषधि नै गायब पारेको लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment