Comments Add Comment

भारतद्वारा अतिक्रमित सीमा क्षेत्रमा विप्लव माओवादीले लगायो काँडेतार

९ माघ, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ सम्बद्ध अखिल क्रान्तिकारीले भारतबाट अतिक्रमित सीमा क्षेत्रमा काँडेतार लगाएको छ । चितवनको माडीस्थित सोमेश्वरगढी नजिकै मर्चरी भन्ने स्थानमा काँडेतार लगाएको हो ।

माडी क्षेत्रमा भारतले दुई सय मिटर वर सीमा स्तम्भ सारेको स्थानीयबासी बताउँछन् । त्यही ठाउँमा विप्लव नेतृत्वको माओवादीसम्बद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारीले तारबार गरेको हो ।

अखिल क्रान्तिकारीका अध्यक्ष चिरञ्जिवी ढकालले ३० मिटर लामो तारबार गरेको जानकारी दिए । खुल्ला सिमानाका कारण बिभिन्न आपराधिक गतिविधि बढेकाले बोर्डर सिल गर्नुपर्ने र भारतीय सीमा अतिक्रमण रोकिनुपर्ने सन्देश दिन तारबार गरेको उनले बताए ।

यस्तो अभियान अन्य जिल्लामा पनि जारी राख्ने उनको भनाइ छ । अध्यक्ष ढकालले भने, ‘हाम्रो विद्यार्थी संगठनले राष्ट्रिय स्वाधिनताको आन्दोलनलाई अगाडि बढाइरहेको छ, त्यही अभियान अन्तर्गत माडी क्षेत्रमा काँडेतार लगायौं । यस्तो अभियान लिएर हामी अरु जिल्लामा पनि जान्छौं । लिपुलेक पनि पुग्छौं ।’

तारबार लगाउन स्थानीयबासीसहित करिब १४५ जनाको टोली खटिएको थियो । उनीहरुले नेपालको राष्ट्रिय झण्डा र सीमा अतिक्रमण विरुद्ध नारा लेखिएको ब्यानर बोकेका थिए । ब्यानरमा ‘सीमा मिच्न बन्द गर’, ‘अतिक्रमित भूमि फिर्ता गर’, ‘राष्ट्रिय स्वाधिनताको रक्षा गर’ नारा लेखिएको थियो ।

एक तथ्यांकअनुसार भारतले नेपालका ७१ ठाउँमा ७८ हजारभन्दा बढी हेक्टर नेपाली भूमि अतिक्रमण गरेको छ । तर अतिक्रमित भूमि फिर्ता गराउन पहल नगरेको भनेर सरकारको आलोचना हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment