Comments Add Comment

काभ्रेको पिन्थलीमा लघु जलविद्युतले ल्याएको परिवर्तनको कथा 

९ माघ, पिन्थली (काभ्रे) । एउटा यस्तो समय थियो जब काभ्रे जिल्लाको पिन्थली गाउँका छिमेकीहरू त्यहाँ राति आउन लालायित हुन्थे । साँझ परेपछि उनीहरू सेरोफेरोका डाँडाहरूमा झुम्मिएर गाउँतिर हेर्थे । गाउँको ‘चमक’ बेग्लै थियो ।

‘वरपरका मान्छेहरू बत्ती भन्ने चिज कस्तो हुँदो रहेछ भनेर हेर्न चाहन्थे’, हाल रोसी गाउँपालिकामा पर्ने पिन्थली गाउँका सूर्यलाल तामाङ सम्झन्छन् । गाउँमा पहिलोपटक स्विच थिचेर बत्ती बल्दा र पहिलो टीभी सेट अगाडि मान्छे झुम्मिँदा सूर्यलाल किशोर अवस्थामै थिए । “गाउँमा बत्ती बलेपछि एकजना दाइले ब्ल्याक एण्ड ह्वाइट टिभी किनेर ल्याउनुभएको थियो । त्यसपछि त उनको घर बाहिर यति धेरै चप्पल र जुत्ता देखिन थाले कि गन्नै नसकिने ! सबै जना टीभीका अगाडि मन्त्रमुग्ध भएर बस्थे’, उनी सम्झन्छन् ।

वर्ष थियो २०५७ साल । नेपाल सरकारको ग्रामीण उर्जा विकास कार्यक्रम र जिल्ला विकास समितिको सहकार्यमा स्थापना भएको दाउन्ने खोला लघु जलविद्युत आयोजनाका टर्बाइन घुम्न थालेपछि पिन्थली काभ्रे जिल्लामा बत्ती बाल्ने पहिले गाउँहरू मध्येको एक भएको थियो ।

वि सं २०४३ सालमा स्थापित ग्रामीण उर्जा विकास कार्यक्रमको लक्ष देशका गाउँहरूमा जीविकोपार्जनलाई सहयोग हुने र वातावरणलाई संरक्षण गर्ने खालको उर्जाको विकास गर्नु थियो । माइक्रो हाइड्रो (सानो स्तरको जलविद्युत आयोजना) मा कार्यक्रमको विशेष जोड थियो । यी सबै कुराहरू सुन्दा गाउँका मानिसहरूले कल्पनासमेत गरेका थिएनन् यी शब्दहरूको अर्थले उनीहरूको जीवनमा के अर्थ राख्नेछ भनेर ।

गाउँमा बत्ती बलेपछि त्यहाँका मानिसहरूलाई थाहा भयो बत्ती भनेको चम्कने चिज मात्रै होइन रहेछ यसले त मानव जीवनमा आमूल परिवर्तन नै ल्याउँदो रहेछ । ‘गाउँमा बत्ती बल्नु अघिको कुरा हो, मेरी आमा साह्रै बिरामी हुनुहुन्थ्यो । उनलाई रात भर हेरचाह गर्नु पर्थ्यो । हामी फालेको हात्ती छाप चप्पललाई मट्टितेलमा चोपेर टुकी बनाउँथ्यौँ”, लसुन खेतीमा नाम कमाएको पिन्थलीका ज्ञान बहादुर लामा र उनी पत्नी लाल माया तामाङ बताउँछन् ।

‘हामी दिन भर हिँडेर लसुन बेच्न जान्थ्यौँ । धार्नीको करिब रु १०-१५ पाउँथ्यौ । अनि त्यो पैसाले नुन र मट्टितेल किनेर ल्याउँथ्यौँ’, सूर्यलाल सम्झिन्छन् । ‘बजारमा मट्टितेलको हाहाकार हुँदा गाउँ पुरै चकमन्न हुन्थ्यो ।’टुकी बालेर पढ्दा आँखा बिग्रिने भएकाले गाउँका बाबु आमाले आफ्ना छोरा छोरीलाई राति पढ्न खासै प्रोत्साहन दिँदैनथे । फेरे खरले छाएको घरमा टुकीको आगो सल्कन धेरै बेर लाग्दैनथ्यो ।

डाँडामा रहेको यो तामाङ गाउँका मानिसहरूले आफ्नो रोजीरोटीको व्यवस्था लसुन खेती बाटै गर्दै आएका छन् । सुरुका दिनहरूमा उनीहरूमा उनीहरू लसुनसित आफूलाई चाहिने नुन तेल सट्टापट्टा गर्थे । ‘तर २०१६ साल तिर गाउँका तीनजना अदुवाहरूले पैसाको जोहो गरेरे डाँडा माथिको दाउन्ने खोलामा नहर बनाएपछि गाउँको अधिकांश जग्गामा सिञ्चाई उपलब्ध भयो र लसुनको उत्पादन पनि बढ्यो,’ ती तीन अगुवा मध्ये का एकका छोरा सूर्यलाल  सुनाउँछन् ।

लसुनको व्यापार फस्टाउँदै गएपछि गाउँलेहरू टाढा टाढा गएर व्यापार गर्न थाले । त्यही क्रममा उनीहरूले काठमाडौंमा बत्ती बलेको देखे र आफ्नो गाउँमा पनि बत्ती बाल्न पाए कसो होला भनेर कल्पना गर्न थाले । तर, दुर्भाग्य ! त्यति बेला केन्द्रीय प्रशारणको लाइन गाउँसम्म पुर्याउन असम्भव नै थियो । वlपी राजमार्ग बनेकै थिएन ।

गाउँका मानिसहरूले थुप्रै वर्षसम्म बत्तीको माग राख्दै गए । बल्ल आएर २०३७ सालमा कृषि विकास बैँकका कर्मचारी आएर गाउँका सम्भावित उर्जा स्रोतहरूको अध्ययन गरे । गाउँका बासिन्दाहरूलाई थाहा थिएन केही वर्ष अघि बनेको नहरको उचित प्रयोग गरेर नै गाउँमा बत्ती बाल्न सकिन्छ ।

गाउँमा बत्तीको आयोजना सुरु हुन २० वर्ष लाग्यो । ‘गाउँका एक जना दाइले जिविसको चुनाव जित्नु भयो । अनि काम छिटो छिटो अघि बढ्न थाल्यो’, सूर्यलाल भन्छन् । यी २० वर्षहरूमा काभ्रेको जिविसले छुट्टै ग्रामीण उर्जा विकास शाखा खोल्यो र केन्द्रमा पनि प्राथमिकता प्राप्त परियोजनाहरूको आर्थिक, प्राविधिक मूल्याङ्कन गर्ने समिति खडा भयो । गाउँमा भने ग्रामीण उर्जा विकास केन्द्रले लघु विद्युत सञ्चालक समूह गठन गर्यो । जिविस, गाविस, कृषि विकास बैँक र नेपाल सरकार सबै परियोजनामा लगानी गर्न तयार भए । गाउँलेहरू भने आफूले सके जति श्रम दान गर्न तयार भए ।

 करिब १५ लाख रूपैयाँको लागतमा १२ कि वाटको जलविद्युत आयोजनाको योजना तयार भयो । ‘ग्रामिण उर्जा केन्द्रले हामीलाई ११ वटा समूहमा विभाजन गरिदियो र हामी सबैले श्रमदान गर्यौँ’, स्थानीय महिला समूहकी लाल माया तामाङले भनिन् । हेर्दा हेर्दा पावर हाउस बन्यो, टर्वाइन जडान भयो, नहरहरूको स्तरोन्नति भयो, बिजुलीका पोल ठडिए र जून नलागेको रातमा पनि गाउँ अँध्यारो नहुने भयो ।

त्यति भएपछि गाउँमा ठूलै परिवर्तन आयो ; त्यो समयमा गाउँमा पुग्ने जो कोहीलाई पनि गाउँको ‘टिभी घर’ बाहिरको जुत्ता र चप्पलको थुप्रो देखेर लाग्दो हो । तर, तारहरूमा बिजुली बग्न थालेपछि अरू थुप्रै तुरुन्तै नदेखिने परिवर्तनहरू गाउँमा देखा पर्न थाले। गाउँका विद्यार्थीहरूले आफ्नो गृहकार्य पुरै गर्न थाले । नहरको स्तरोन्नति गरिएकाले लसुनको उत्पादन झन् बढ्यो । तर सबै भन्दा ठूलो परिवर्तन रातमा भयो । गाउँका महिलाहरू प्रौढ शिक्षा कार्यक्रम अन्तर्गत स्कुल जान थाले । ‘हामीलाई पढ्न र गन्न आउँदैनथ्यो,’ आफ्नो होटलमा चाउमिन पकाउँदै गरेकी लाल माया भन्छिन् । ‘हामीलाई साधारण जोड घटाऊ गर्न पनि आउँदैनथ्यो । हामीलाई सिक्ने इच्छा थियो तर दिउँसोको समय घर गोठ गर्दैमा बित्थ्यो । राति अँध्यारोमा पढ्न सकिँदैनथ्यो ।’

तर, गाउँमा बत्ती बलेपछि महिलाहरूले रातको समयमा पढ्न पाए । केही महिनाभित्र उनीहरू गन्न मात्र होइन, आफ्नो व्यापारको हिसाब राख्न सक्ने भए । ‘पहिले पहिले हामीलाई ठगिने डर हुन्थ्यो किनभने हामीलाई गन्न आउँदैनथ्यो’,प्रौढ शिक्षामा गन्न सिकेकी च्याम्पा तामाङ भन्छिन् । ‘अहिले त हामी लसुन, तरकारी, स्वेटर लिएर काठमाडौँ जान पनि सक्छौँ ।’

‘प्रौढ कक्षा सकिएपछि हामीले आफ्नो समय स्वेटर र टोपी बुन्नमा लगायौँ । त्यसले हामीलाई अझै बढी पैसा कमाउन सहयोग गर्यो ।’

परिवर्तन गाउँका भान्साहरूमा पनि देखिन थाले । आँखा पिरो पार्ने धूवाँ निकाल्ने दाउराको ठाउँमा राइस कुकर देखिन थाले । लघु विद्युतसँगै स्थापना भएको मिलमा महिलाहरूले धान कुट्न र तोरी पेल्न पाए । समयको झन् वचत भयो । बचेको समयमा गाउँलेहरूले सहकारी सञ्चालन गर्न थाले । परिवर्तन गाउँका चौताराहरूमा पनि देखिए । घरैमा बसेर आफ्नो काम काज गर्ने महिलाहरू बाहिर निस्किन थाले । त्यस्तै गाउँका अदुवाहरूको हुकुममा चल्ने गाउँमा सबै जनासित छलफल गरेर मात्रै केही काम गर्ने परम्पराको थालनी भयो ।

पिन्थलीमा बत्ती बल्न थालेको १७ वर्षमा दाउन्ने खोलामा धेरै पानी बगिसकेको छ । गाउँको पावर प्लान्ट देशका विभिन्न राजनीतिक परिवर्तनहरूको साक्षी बनेको छ । तर, अहिले आएर दाउन्ने खोलाको बहावमा परिवर्तन आएको छ र यसका कारण सुक्खा याममा विद्युत उत्पादन निकै घटेर जाने गरेको छ । “सुक्खा यामका तीन महिना पानी निकै नै घटेर जान्छ’, लघु जलविद्युत उपभोक्ता समितिका अध्यक्ष ज्ञान बहादुर लामा भन्छन् । माथिल्लो तटमा बस्ने मानिसहरूले खोलाबाट धेरै पानी निकाल्न थालेका छन् । त्यस्तै सल्लो जस्तो धेरै पानी खाने रुख रोपिएकाले पनि दाउन्ने खोलामा पानी घटेको हुन सक्छ’, लामा भन्छन् । ‘अबका केहि वर्षमा यो लघु विद्युत बन्दै गर्नुपर्ने अवस्था आउन सक्छ त्यसैले हामीले सिञ्चाईका लागि डाँडा तलको रोसी खोलाबाट पानी लिफ्ट गरेर ल्याउने योजना बनाउँदैछौँ ।’ त्यस्तै हालै मात्र गाउँमा केन्द्रीय प्रसारणको लाइन जोडिएको छ ।

‘लघु विद्युतको हामीले प्रति बल्ब रू १० मात्रै तिर्छौ तर सरकारी बत्ति साह्रै महँगो छ; ५००-६०० त यत्तिकै उठ्छ’, सूर्यलाल भन्छन् । ‘दाउन्नेमा पानी आउन कम होला तर यो गाउँको जीवन अब कहिल्यै पछाडि धकेलिने छैन ।’

वि सं २०६६ सालमा म्याद सकिनुअघि ग्रामीण उर्जा विकास केन्द्रले देश भर ३०७ लघु जलविद्युत आयोजना, ३,०९९ सौर्य उर्जा प्रणाली, ६,८११ बायो ग्यास प्लान्ट र १४,२५५ सुधारिएका चुला निर्माण गरेको थियो, जसबाट ५ लाख ५० हजार मानिस लाभान्वित भएका थिए ।

कार्यक्रमबाट प्राप्त सिकाइका आधारमा सरकारले २०६२ सालमा राष्ट्रिय ग्रामीण उर्जा नीति तर्जुमा गर्यो । त्यसै गरी कार्यक्रमकै अवधारणामा आधारित भएर २०७१ सालमा राष्ट्रसंघको ग्लोबल एन्भाइरपमेन्ट फ्यासिलिटीले नेपालमा हरित उर्जा प्रवर्द्धनका लागि ५० लाख डलर लगानी गर्ने निर्णय गर्यो ।

( यो सामाग्री नेपाल वातावरण पत्रकार समूहको लेखनवृत्तिमा तयार पारिएको हो)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment