Comments Add Comment

गोंगबुकाे ‘इन्काउन्टर’ मा परेका अभिलाश वाईसीएलका नेता

९ माघ, काठमाडौं । प्रहरीले मंगलबार दिउँसो गोंगबुस्थित एक होटलमा हतियार कारोबारी भनेर गोली हानेका व्यक्ति वाईसीएल काभ्रेका नेता भएको खुलेको छ ।

प्रहरीले गोली हानेर अभिलाश तामाङलाई पक्राउ गरेको थियो । उनी वाईसीएल काभ्रेका इन्चार्ज हुन् ।

वाईसीएल तत्कालीन माओवादीको युवा संगठन हो । एमाले र माओवादी मिलेर नेकपा बनेपनि भ्रातृ संगठनको एकता नभएका कारण वाईसीएल अझै अस्तित्वमा छ ।

गोंगबुस्थित होटल नक प्रा.लि.को १०४ नम्बर कोठाभित्र रहेका तामाङमाथि महानगरीय प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीको टोलीले गोली प्रहार गरेको थियो । होटलमा हतियार लिएर बसेको सूचना आएपछि बोगटीको नेतृत्वमा टोली पठाएको परिसरका प्रमुख एसएसपी वसन्त लामाले बताए ।

तर, प्रहरीले अहिलेसम्म उनको आपराधिक पृष्ठभूमिबारे केही बताएको छैन । यद्यपि घटनास्थलबाट हतियार बरामद भएको दाबी गरेको छ । एसएसपी लामाले भने, ‘नियन्त्रणमा लिने क्रममा पेस्तोल देखाएपछि गोली हानिएको हो । उसले पनि त्यो हतियार पहिल्यैदेखि राखेको स्वीकारेको छ ।’

प्रहरीसँग तामाङको भिडियो बयान समेत रहेको बताए । ‘मान्छे सोझो होला तर, गरेन भन्ने हुन्छ र ?’, उनले प्रश्न गरे । उनले सुन लुट्ने उद्देश्यले हतियार ल्याइएको हुनसक्ने आशंका रहेको समेत सुनाए ।

प्रहरीको यो दाबीसँग नेकपा काभ्रेका नेताहरुले सहमत छैनन् । उनीहरुले लामा कुखुरा पालन व्यवसायमा भएको दाबी गरेका छन् ।

प्रहरीको सुराकी पनि थिए लामा ?

पछिल्लो समय प्रहरीले काम देखाउन सामान्य अपराधीलाई पनि गोली हान्न थालेको भन्दै आलोचना हुन थालेको छ ।

अघिल्लो साता मात्रै प्रदेश २ र ५ मा गरी ३ जनामाथि प्रहरीले गोली हानेको थियो । सिरहा र बाँकेमा दुई जनालाई खुट्टामा हानेर पक्राउ गरिएको थियो भने रुपन्देहीमा प्रहरीको गोली लागेर मारिएका कुख्यात अपराधी भएको खुलेको छ ।

मंगलबार भने काम देखाउने होडवाजीमा गोली चलाइएको उनको आफन्तको आरोप छ । स्रोतका अनुसार तामाङ कुनै समय प्रहरीकै सुराकी समेत थिए ।

अनि खुल्यो राजनीतिक संलग्नता

प्रहरीको गोली लागेका तामाङ वाईसीएल जिल्ला कमिटी, काभ्रेको इञ्चार्ज भएको समेत खुलेको छ । साँझ काभ्रेका केही बहालवाला सांसद्देखि पूर्वमन्त्रीसम्मले चासो देखाएपछि मात्र उनी उनी वाईसीएलको नेता भएको खुलेको हो ।

स्रोतका अनुसार घटनापछि काभ्रेका सांसद् बमध्वज तामाङ, पूर्वराज्यमन्त्री गंगाबहादुर तामाङ लगायतले चासो राख्दै काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी वसन्त लामा र महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहलाई फोन गरेका थिए । उनीहरुले कुनै अपराधमै संलग्न नभएको व्यक्तिलाई गोली हानेको भन्दै आक्रोश व्यक्त गरेको स्रोतको दाबी छ ।

घटनापछि त्रिवि शिक्षण अस्पतालमा गएर घाइते तामाङलाई भेटेका नेकपाको काभ्रे जिल्लाका एक जना नेताले अनलाइनखबरसँग भने, ‘मान्छे एक्लै छ भन्ने पहिल्यै सूचना पाएकै थियो । तर, ढोका खोल्ने वित्तिकै गोली हानिएको रहेछ ।’

यसबारे संगठनले आधिकारिक रुपमा बोल्ने उनले बताए । ‘बनेपाको बुडोलमा कुखुरा पालन गरेर बसेको मान्छेमाथि प्रहरीले गोली चलाउनु हाम्रो लागि अनपेक्षित हो’, उनले भने । उनका अनुसार तामाङ पूर्वलडाकु समेत हुन् ।

यो पनि पढ्नुहोस्

प्रहरी इन्काउन्टरमा मारिए दीपेन्द्र चौधरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment