Comments Add Comment

आर्मी उपाधि रक्षाको होडमा

९ माघ, सिमरा । आयोजक नवजनजागृती यूवा क्लब सिमरालाई हराउँदै साविक विजेता त्रिभुवन आर्मी क्लब दशौं सिमरा गोल्डकपको उपाधि रक्षा गर्ने होडमा उभिएको छ ।

बुधबार सिमरा रङ्गशालामा भएको प्रतिष्पर्धात्मक खेलमा आर्मीले आयोजकको टिमलाई १-० गोल अन्तरले हरायो । उसका लागि दोस्रो हाफको सुरुमै कप्तान भरत खवासले निर्णायक गोल गरे ।

स्थानीय युवा खेलाडीले भरिएको नवजनजागृती पहिलो हाफको सुरुमा आर्मीविरुद्ध आक्रमक देखिएको थियो ।

खेलको १२ औं मिनटमा आयोजकले अग्रता लिने सुन्दर अवसर गुमायो । सुरज ठकुरीले २५ यार्ड टाढाबाट प्रहार गरेको फ्रिकिक आर्मीका टंक बस्नेतले गोललाइनबाट क्लियर गरेका थिए ।

दुई मिनेटपछि नै नाकोटाले अर्को अवसर गुमाए । उनले डिबक्स भित्रैबाट गरेको प्रहार क्रसबार माथिबाट बाहिरियो । १६ औं मिनटमा डि-बक्स बाहिरबाट प्रज्वल थापामगरको प्रहार आर्मीका गोलरक्षक विकेश कुथेले पञ्च गरेर बाहिर पठाए ।

खेलको २४ औं मिनटमा आर्मीका भरत खवासले सुन्दर अवसर गुमाए । टंक बस्नेतले डिबक्स भित्रै निकालेको पासलाई भरतले फितलो प्रहार गर्दा आयोजकका गोलरक्षक टेकेन्द्र थापाले बचाउ गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा रोकेको आयोजक विरुद्ध आर्मीले दोश्रो हाफको शुरुवातमै अग्रता बनायो । ५० औं मिनटमा आर्मीका भरत खवासले सेसाङ लिम्बुको पासलाई सदुपयोग गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

५५ औं मिनटमा आयोजकका निरज थापामगरले बराबरी गोल गर्ने अवसर चुकाए । प्रज्वल थापामगरको पासमा निरजले वन भर्सेस वनको स्थिति खेर फाले । डि बक्सभित्रैबाट उनले गरेको प्रहारले गोलपोष्टको दिशा लिन सकेन ।

खेलको ५८ औं मिनटमा आर्मीका सन्तोष तामाङले अग्रता दोव्वर पार्ने अवसर गुमाए । टंक बस्नेतको क्रसमा सन्तोषको प्रहार सेकेण्डबार हुँदै बाहिरियो । खेलको ६० औं मिनटमा आर्मीका भरत खवासले अर्को अवसर गुमाए । सेन्टरलाइनबाट एकल प्रयासमा बल अघि बढाएका खवासको फिनिसिङ फितलो बन्दा आयोजकका गोलरक्षकले सहजै बचाउ गरे ।

खेलको ७० औं मिनटमा आयोजकका निरज थापाको क्रसमा सुनील खड्काको अर्को प्रहार विफल भयो । सुनीलको प्रहार आर्मीका जितेन्द्र कार्कीले हेडिङ मार्फत क्लिएर गरे ।

खेलमा एकपछि अर्को अवसर पाएको आयोजक टोलीले त्यसलाई सदपुयोग गर्न सकेन र सेमिफाइनलमै बाहिरियो ।

हारपछि नवजनजागृतिका प्रशिक्षक सोनु क्षेत्रीले लगातारको प्रतियोगितापछि खेलाडीहरु थाकेकाले सोंचे अनुसारको प्रदर्शन गर्न नसकेको बताए । ‘१० दिनमा ५ वटा प्रतियोगिता खेलेका छौं, केहि खेलाडी घाइते भएका छन्’ प्रशिक्षक क्षत्रीले भने । आर्मीका अनुभवी खेलाडीसंगको प्रतिष्पर्धामा फिनिसिङमा कमजोरी रहेकाले हार व्यहोर्नुपरेको क्षत्रीले बताए ।

आर्मीका प्रशिक्षक नविन न्यौपानेले आयोजकका युवा खेलाडीले उत्कृष्ट प्रदर्शन गरेको बताए । ‘वीरगञ्ज र सिमरामा हामिले नवजनजागृतिसँग खेल्यौं, युवा भाइहरुको प्रदर्शन अत्यन्त राम्रो छ’ उनले भने । दोश्रो हाफमा पाएका केही अवसरलाई सदुपयोग गर्न नसक्दा जितका लागि अन्तिमसम्म संघर्ष गर्नुपरेको उनले बताए ।

दिनेश हेम्जन, नवयूग श्रेष्ठ जस्ता खेलाडीविना मैदान उत्रिएको आर्मीले वीरगञ्जमा सम्पन्न दोश्रो विशाल मेमोरियल गोल्डकपमापनि सिमराको नवजनजागृतिलाई ३-० ले पराजित गरेको थियो । लिगपछि आराम गरिरहेका उनीहरु आहा-रारा गोल्डकपबाट टिममा र्फकन प्रशिक्षक न्यौपानेले बताए ।

आर्मी चौथोपटक सिमरा गोल्डकपको फाइनलमा

जितसँगै त्रिभूवन आर्मी क्लब चौथोपटक सिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । सिमरा रङ्गशालामा ३ पटक फाइनल खेलिसकेको आर्मीले छैठौं र नवौं संस्करणको उपाधि जितेको थियो भने आठौं संस्करणमा संकटासंग पराजित हुँदै उपविजेतामा सिमित भएको थियो ।

आगामी शनिबार हुने उपाधि भिडन्तमा थ्रीस्टार र हिमालयन शेर्पाबीच भोलि हुने खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको विजेताले ६ लाख तथा उपविजेताले ३ लाख पाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment