Comments Add Comment

इन्काउन्टरमा मारिएका दीपेन्द्र, जो प्रहरी नमारे मान्छे डराउँदैन भन्थे

९ माघ, काठमाडौं । बुधबार एकाबिहानै प्रहरी कारबाहीमा सप्तरीको रुपनी गाउँपालिकामा ३५ वर्षीय दीपेन्द्र चौधरी मारिए ।

प्रहरीलाई निशाना बनाएर श्रृङ्खलाबद्ध अपराध गर्दै आएका चौधरी रुपनी–राजविराज सडकखण्डको चेकपोइन्टमा प्रहरीको फेला परेका थिए ।

त्यहाँ मोटरसाइकल रोक्न खोज्दा फायर खोलेपछि प्रहरीले जवाफ कारबाही गरेको थियो । त्यसक्रममा उनको घटनास्थलमै मृत्यु भएको प्रदेश दुईका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरिबहादुर पालले अनलाइनखबरलाई बताए ।

पालका अनुसार उनको साथबाट एउटा कटुवा पेस्तोल बरामद भएको छ । मोटरसाइकल चालक भने भाग्न सफल भएका छन् ।

पशुपति चौधरीबाट खुलेको रहस्य

३ माघमा सप्तरीको बोधे बरसाइन सडकखण्डमा प्रहरी हवल्दार महेन्द्र सरदारमाथि गोली प्रहार भयो । प्रहरी अधिकारीमाथि नै गोली प्रहार भएपछि स्थानीय सुरक्षालाई लिएर चिन्तित थिए ।

उनलाई उपचारका लागि न्यूरो हस्पिटल, बिराटनगर लगिए पनि त्यहाँ उपचार सम्भव भएन । पछिल्लो समय उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा ल्याएर उपचार गराइएको थियो । मेरुदण्डमा गोली अड्किएका कारण उनको उपचार जटिल थियो । यद्यपि, उनको सफल शल्यक्रिया त भयो तर, खुट्टा भने हालसम्म चलेको छैन ।

उनको प्यारालाइसिस भएको चिकित्सकहरुले बताएका छन् । कामप्रति लगनशील र इमान्दार व्यक्तिमाथि गोली प्रहार भएपछि प्रहरी अधिकारीहरु झस्किएका थिए ।

प्रदेश दुईका प्रहरी प्रमुख डीआईजी पालले व्यापक प्रहरी परिचालन गरेर अनुसन्धान गर्न निर्देशन दिए । त्यसक्रममा दुई दिनअघि प्रगतिशील तराई मुक्ति मोर्चाका पशुपति चौधरी पक्राउ परे । उनी तिनै व्यक्ति हुन्, जसले हवल्दारमाथि गोली प्रहार भएलगत्तै सञ्चारमाध्यमहरुमा फोन गरेर जिम्मेवारी लिएका थिए ।

स्रोतका अनुसार प्रहरीमाथि गोली प्रहार गरेपछि घटनास्थल नजिकै रहेको एउटा चौरमा पशुपति र दीपेन्द्रको भेट भएको थियो । त्यहाँ उनीहरुले पहिले प्रयोग गरिरहेको सीम कार्ड फ्याले । पशुपतिको मोबाइल फोनमा एनसेलको नयाँ सीम हालेर पत्रकारहरुलाई फोन गरेर घटनाबारे जानकारी गराएको खुलेको छ ।

पक्राउ परिसकेपछि प्रहरीलाई बयान दिने क्रममा उनले भनेका थिए, ‘दीपेन्द्रकै योजनामा सबै घटना भएको हो । ऊ नै मोर्चाको संयोजक पनि हो ।’ त्यही सूचनाको आधारमा प्रहरीले दीपेन्द्रको खोजीलाई व्यापक बनाएको थियो ।

पशुपति नेपाल सेनामा १० वर्ष जागिर खाएर भागेका भगौडा पनि भएको खुलेको छ । दीपेन्द्र भने पहिले गोइत नेतृत्वको जनतान्त्रिक समूहमा आबद्ध थिए ।

दीपेन्द्र आफैं सुटर, पशुपति रेकी गर्ने !

आफूलाई मोर्चाको संयोजक बताउने दीपेन्द्र आफैं गोली प्रहार गर्ने गरेको अनुसन्धानका क्रममा खुलेको थियो ।

अनुसन्धान अधिकारीहरुका अनुसार घटनास्थलको रेकी गर्ने काम भने पशुपतिले गर्थें । उनीहरुले छोटो योजनामा गोली प्रहार गरेको देखिएको छ । प्रहरीलाई गोली हान्नु पछाडि उनीहरुको एक मात्र उद्देश्य देखिन्छ, चन्दा असुली ।

जिल्ला प्रहरी कार्यालय, सप्तरीसम्म पुगेको सूचना अनुसार उनले कोशी ब्यारेकमा रहेको बालुवा उत्खनन् गर्ने उपकरणका ठेकेदारबाट ठूलो रकम लिएका थिए । त्यस्तै, कडरवानामा रहेको डिस्टिलरी उद्योगका सञ्चालकलाई ‘पुलिसलाई त ठीक पारेँ, तँ को होस्’ भन्दै धम्क्याएका थिए । यसरी आतंक सिर्जना गरेर रकम असुलीमा उनीहरु सक्रिय रहेको प्रहरी बताउँछ ।

अनुसन्धान अधिकारीहरुका अनुसार उनलाई भारतको बिहारका एक अपराधीले पनि साथ दिएका थिए । जाकिर हुसेन नाम गरेका व्यक्तिले नै उनीहरुलाई घटनालगत्तै बिहारमा सेल्टर दिने गरेका थिए ।

यो पनि पढ्नुहोस प्रहरी इन्काउन्टरमा मारिए दीपेन्द्र चौधरी

हतियार भित्र्याउन पनि उनैले सहयोग गर्ने गरेको स्रोतको दाबी छ । यतिसम्मकी उनले एके–४७ हतियार समेत नेपालसम्म ल्याइदिने गरेको बताइन्छ ।

प्रहरी उनीसम्म पुग्न सकेको छैन । यद्यपि, उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय, सप्तरीका एक अधिकारी बताउँछन् ।

सप्तरीको कडरवाना–६, सुरुङ्गा नगरपालिकाका चौधरीले आफ्नो समूहमा संलग्नहरुलाई प्रहरीलाई नमारी व्यवसायीले पैसा नदिने बताउने गरेको पाइएको छ । प्रहरी नियन्त्रमा रहेका पशुपतिले त्यो कुरा भिडियो बयानमा पनि भनेका छन् ।

दीपेन्द्रले १६ असार ०७४ मा सप्तरीको कडरवानामा ठूलो जुवा चलिरहेको सूचना दिएर प्रहरीको मोबाइल गाडी विष्फोट गराएका थिए । इलाका प्रहरी कार्यालय, खडरवानाको गाडी विष्फाट हुँदा ४ जना प्रहरी अधिकारी घाइते भएका थिए । त्यसअघि उनले ०७२ सालमा असई रमेश सुब्बामाथि गोली प्रहार गरी हत्या गरेको प्रहरी बताउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment