Comments Add Comment

उत्तरी गोरखामा लगातार हिमपात, जनजीवन कष्टकर (फोटो फिचर)

१० माघ, गोरखा । उत्तरी गोरखाको अधिकांश ठाउँमा हिउँ परेको छ । मंगलबार रातिदेखि लगातार हिमपात भइरहेको चुमनुव्री गाउँपालिका-२ का वडाध्यक्ष पेम्वा रेताले बताए । ‘सामागाउँमा करिब दुई फिट जति हिउँ परेको छ,’ उनले भने, ‘अन्य ठाउँमा पनि हिउँ परिरहेको छ !’

लगातारको हिमपातका कारण जनजीवन प्रभावित बनेको उनको भनाइ छ । ‘हिउँ परिरहेको छ, बाहिर निस्कनै सकेका छैनौ, घरमै आगो तापेर बस्ने काम मात्र भएको छ,’ उनले भने ।

दैनिक कामकाज समेत प्रभावित बनेको उनले बताए । हिमपातकै कारण पानी जम्न थालेको छ । हिउँ जमेकै कारण धारामा पानी आउन नसकेको स्थानीयले बताएका छन् ।

हिमपातकै कारण लाप्राकको मणिकामदेवि माविको पठनपाठन प्रभावित बनेको छ । लगातारको हिमपातका कारण चिसो बढेसँगै पठनपाठन प्रभावित बनेको विद्यालयका प्राधानाध्यापक धनबहादुर गुरुङले बताए । ‘यहाँ एक फिट जति हिउँ परेको छ, चिसो पनि अत्याधिक बढेको छ,’ उनले भने ।

हिमपातकै कारण लाप्राकको गुप्सीपाखामा निर्माणधीन एकीकृत नमूना बस्तीको कामसमेत प्रभावित बनेको छ । लगातार हिउँ परिरहेकाले काम गर्न नसकिएको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ ।

उत्तरी क्षेत्रमा हिमपातसँगै जिल्लाको तल्लो भेगमा वर्षात सुरु भएको छ । मंगलवार रातिबाट वर्षात सुरु भएको हो ।

वर्षातसँगै तल्लो भेगका स्थानीयहरुको पनि जनजीवन प्रभावित बनेको छ । वर्षातका कारण गोरखा सदरमुकाममा बुधवार मानिसहरुको चहलपह अन्य दिनको तुलनामा काम थियो ।

सवारीसाधन पनि कम मात्रामा गुडेका थिए । सरकारी कार्यालयमा आउने सेवाग्राहीको संख्या पनि अन्य दिनको तुलनामा कम रहेको कार्यालयहरुले बताएका छन् ।

हिमपात र वर्षातका कारण चिसो बढेको छ । तर, किसानहरु भने खुशी भएका छन् । हिमपात र वर्षातले खेती राम्रो हुने भन्दै उनीहरु खुशी भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment