Comments Add Comment

पूर्वलडाकू र पूर्वसुरक्षाकर्मीबीच मोर्चाबन्दीको तयारी

लडाकुको 'कालो दिन' लाई द्वन्द्वपीडित सुरक्षाकर्मीको साथ

१० माघ, काठमाडौं । बहिर्गमनमा परेका तत्कालीन माओवादी लडाकू र द्वन्द्वपीडित सुरक्षाकर्मीका परिवारले मोर्चाबन्दी गरेर अगाडि बढ्ने तयारी गरेका छन् । बहिर्गमित लडाकूले माघ १० गते मनाउने ‘कालो दिन’लाई द्वन्द्वपीडित सुरक्षाकर्मीका परिवारले पनि समर्थन गरेका छन् ।

हाल द्वन्द्वपीडित सुरक्षाकर्मीका परिवार र बहर्गिमत जनसेना उस्तैउस्तै माग राखेर छुट्टाछुट्टै आन्दोलनमा छन् । तर, अब एउटै मोर्चा बनाएर आन्दोलन गर्ने तयारी उनीहरुको छ ।

सेना समायोजनको क्रममा अनमिनले प्रमाणिकरण गर्दा अयोग्य भनिएकाहरुको संस्था हो बहिर्गमित जनमुक्ति सेना नेपाल । उसले आफूहरुको व्यवस्थापनको माग गर्दै शान्ति प्रक्रिया अपुरो हुने बताउँदै संघर्ष गर्दै आएको छ ।

यसैगरी द्वन्द्वकालमा विभिन्न कारणले पीडित भएका सुरक्षाकर्मीका परिवारले पनि रोजगारी, राहत, स्वास्थ्य उपचार लगायतका माग राखेर केही दिनयता माइतीघर मण्डलामा प्रदर्शन गर्दै आएका छन् ।

बहिर्गमित जनमुक्ति सेना नेपालका महासचिव राजन थापा ‘सुबास’ले संयुक्त मोर्चा बनाउन प्रारम्भिक चरणका छलफलसमेत भएको जानकारी दिए । उनले भने, ‘हामी दुवैका पीडा उस्तैउस्तै छन् । अब संयुक्त मोर्चा बनाएर दबावमुलक कार्यक्रम गर्ने सोचमा छौं ।’

माइतीघरमा संयुक्त प्रदर्शनको तयारी

नेपालको शान्ति प्रक्रियामा सघाउन आएको अनमिनले माओवादी जनसेना प्रमाणिकरणको क्रममा ४ हजार ८ जनालाई अयोग्य घोषणा गरेको थियो । २०६६ साल माघ १० गते भएको यो घटनालाई बहिर्गमनमा परेकाहरुले ‘कालो दिन’को रुपमा लिने गरेका छन् ।

‘कालो दिन’को सम्झनामा आज दिउँसो माइतीघर मण्डलामा गर्ने प्रदर्शनमा द्वन्द्वपीडित सुरक्षाकर्मीका परिवारले पनि साथ दिने दाबी बहिर्गमित जनमुक्ति सेना नेपालका थापाले गरे ।

बहिर्गमित लडाकुहरुले माघ ११ गते केन्द्रीय समितिको बैठक बस्ने र १२ गते ‘शान्ति प्रक्रिया र द्वन्द्व व्यवस्थापन’ विषयमा काठमाडौंमा अन्तर्क्रिया गर्ने लगायतका कार्यक्रम पनि तय गरेका छन् ।

यसअघि द्वन्द्वकालमा माओवादीबाट पीडित भएकाहरु र सरकारबाट पीडित भएकाहरुले ‘द्वन्द्वपीडित साझा चौतारी’नामक संस्था खोलेका छन् ।

यो संस्थामा माओवादीबाट मारिएका लम्जुङका शिक्षक मुक्तिराम अधिकारीका छोरा सुमनदेखि सरकारी पक्षले परिवार नै तहसनहस पारिदिएको बर्दियाका भागीराम चौधरीसम्म छन् । केही वर्षसम्म सुमन अधिकारीले सम्हालेको यो संस्थाको नेतृत्वमा हाल भागीराम चौधरी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment