Comments Add Comment

८८ हजार पर्यटक पुगे चितवन निकुञ्ज, उठ्याे १५ कराेड राजश्व

Photo Credit : फाइल फाेटाे

१० माघ, चितवन । चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । चालु आर्थिक वर्षको शुरु छ महीनामा गत वर्षको सोही अवधिमा भन्दा २१ हजार २८ पर्यटक बढेका छन् ।

निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ८८ हजार १५१ पर्यटकले निकुञ्ज घुमेका छन् । जसमध्ये १८ हजार ७३४ नेपाली, १० हजार ३३८ सार्क मुलुकका र ५९ हजार ७९ सार्कबाहेकको देशका रहेका छन् । गत वर्षको पुस मसान्तसम्ममा ६७ हजार १२३ पर्यटकले निकुञ्ज घुमेका थिए ।

घिमिरेका अनुसार चालु आवमा शुरु छ महीनामा रु १५ करोड एक लाख १५ हजार ७८३ राजश्व सङ्कलन भएको छ । गत आव भरमा रु २३ करोड ७३ लाख ६३ हजार ९६३ राजश्व सङ्कलन भएको थियो । गत वर्ष एक लाख ५२ हजार ६७१ पर्यटकले निकुञ्ज घुमेका थिए ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले पर्यटक बढेसँगै राजश्व पनि बढेको बताए । भूकम्प र नाकाबन्दीपछि ओरालो लागेको पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।

क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष सुमन घिमिरेले नारायणगढ मुग्लिन सडक खण्ड राम्रो भएसँगै पर्यटकको आगमन उत्साहजनक देखिएको बताए ।

यस आर्थिक वर्षमा दुई लाख पर्यटक भित्र्याउने लक्ष्य रहेको भन्दै उनले पर्यटकीय गन्तव्य थप गर्ने विषयमा सरोकारवालाहरू लागि रहेको बताए । निकुञ्जमा दुर्लभ एक सिंगे गैँडा, पाटेबाघ, गोही जस्ता जनावर हेर्न स्वदेशी र विदेशी पर्यटक आउने गर्दछन् ।

यसैबीच निकुञ्जले सौराहामा सङ्कलन हुने राजश्व सोही ठाउँमा रहेको कृषि विकास बैंकको सौराहा शाखामा सङ्कलन शुरु गरेको छ । प्रमुख संरक्षण अधिकृत ढकालका अनुसार कुल सङ्कलन हुने राजश्वमध्ये ८० प्रतिशत सौराहामा सङ्कलन हुँदैआएको छ ।

राजश्व सङ्कलन वाणिज्य बैंक भरतपुरमा गरिँदै आएकोमा राष्ट्र बैंक, वन मन्त्रालय, निकुञ्ज विभाग लगायतको अनुमतिपछि बुधबारदेखि कृषि विकास बैंकको सौराहा शाखामा संकलन थालिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment