Comments Add Comment

सरकारविरुद्ध आन्दोलन गर्दै कांग्रेस, धैर्य गर्न सभामुखलाई आग्रह

१० माघ, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेस सरकारविरुद्ध सडक आन्दोलनमा जाने भएको छ ।

महासमितिपछि बिहीबार बसेको पहिलो केन्द्रीय कार्यसमिति बैठकमा नेताहरुले सरकारले संविधान उल्लंघन गरेको, पूर्वाग्रही ढंगले निर्णयहरु गर्न थालेको आरोप लगाएका छन् । पार्टी कार्यालय सानेपामा बसेको बैठकले चारबुँदे निर्णय गरेको छ, जसमा सरकारसँगै सभामुखमाथि समेत प्रश्न उठाइएको छ ।

कांग्रेसका नेताद्धय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना भएका दुई अस्पताललाई सरकारले विघटनको संघारमा पु¥याएको आरोप लगाएको छ । ‘राजनीतिक पूर्वाग्रहबाट प्रेरित जनस्वास्थ्यविरोधी सरकारको यो कार्यप्रति घोर आपत्ति प्रकट गर्दछ’ बैठकको निर्णयमा भनिएको छ, सरकारले आफ्नो गलत एवं पूर्वाग्रही निर्णय तत्काल सच्याओस् ।’

यो माग राख्दै कांग्रेसले संसदको दुई वटा बैठक अवरुद्ध गर्‍यो । तर, सभामुखले संसदीय परम्परा र मर्यादा अनुरुप सहमतिबाट निकास नखोजेको कांग्रेसको आरोप छ । ‘संसदीय अभ्यासमा सभामुख सत्ता सामु निरिह हुन सक्दैन’ उनले भनेको छ, ‘स्थापित संसदीय परम्परा, अभ्यास र लोकतान्त्रिक मान्यता अनुरुप धैर्य र संवादको माध्यमबाट निकास खोजी सहज रुपमा संसद सञ्चालन हुने परिस्थिति निर्माण गर्न सत्तापक्ष र सभामुखलाई आग्रह गर्दछ ।’

कांग्रेसले सत्याग्रही डा. गोविन्द केसीको जीवन रक्षाप्रति गम्भीर बन्न सरकारलाई सचेत गराएको छ । डा. केसीसँग सरकारले गरेको सम्झौतालाई संसदमा पेश गरी सर्वसम्मतीले अनुमोदन गरेको स्मरण गराउँदै कांग्रेसले त्यसअनुसार विधेयक निर्माण गरी समाधान खोज्न माग गरेको छ ।

कांग्रेसले संवैधानिक परिषद्को बैठक बस्दा विपक्षी दलका नेतालाई खबर नै नगरिएको भन्दै गम्भीर आपत्ति जनाएको छ । बैठकमा कृष्ण सिटौला, महेश आचार्य लगायतका नेताहरुले देउवालाई बैठकबारे जानकारी थियो भन्ने प्रश्न गरेका थिए । तर, उनले बैठकबारे ४८ घन्टा पूर्व जानकारी नआएको बताएपछि नेताहरुले संविधानको उल्लंघन भएको भन्दै आलोचना गरेका छन् ।
प्रमुख विपक्षी कांग्रेसले निर्मला हत्याकाण्डमा संलग्नहरुलाई पक्राउ गर्नुको साटो अपराधी लुकाउन क्रियाशील त छैन भन्ने गम्भीर शंका उत्पन्न भएको बताएको छ । ‘बढ्दो वलात्कार र हिंसाका घटनाले सरकारको असक्षमता र नालायकीपन प्रमाणित भएको छ’ कांग्रेसले भनेको छ, यो बैठक निर्मला पन्त प्रकरणमा सरकारबाट भएका लज्जास्पद गतिविधिको भत्र्सना गर्दै अविलम्व अपराधी पत्ता लगाई कडा कानूनी कारवाही गर्न पुनः जोडदार माग गर्दछ ।’

अर्को बैठक पर्सि राखिएको छ । भोलि संसदमा सरकारले आफूले उठाएका मागहरु सम्बोधन गर्नुको साटो बलपूर्वक चिकित्सा शिक्षा विधेयक पास गरे पर्सिको केन्द्रीय कार्यसमिति बैठकले सरकारविरुद्ध चरणवद्ध आन्दोलन घोषणा गर्ने नेताहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment